|
Photo : BBC

बंगलादेशमा गत हप्ता हत्या गरिएकी छात्रा नसरत जहाँ रफीलाई उनकै प्रधानाध्यापकले आगो लगाउन आदेश दिएको प्रहरीले शुक्रबार जनाएको छ।    

१९ वर्षीया रफीमाथि यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेपछि उनलाई मुद्दा फिर्ता गर्न भनिएको तर किशोरीले मुद्दा फिर्ता गर्न नमानेपछि आरोपित प्रधानाध्यापकले मट्टितेलमा छर्केर आगो लगाउन आदेश दिएको खुल्न आएको प्रहरीले बताएको छ।    

दक्षिण एशियाली मुलुक बंगलादेश नसरतको हत्यालाई देशभर आन्दोलन भएपछि प्रधानमन्त्रीले घटनामा सम्लग्न जोकोहीलाई कानूनी कठघरामा उभ्याइने बताएकी थिइन्।    

'रफीलाई उनी सहभागी एक कार्यक्रमस्थलबाट सोही घरको छतमा लगी प्रहरीमा दायर भएको यौन दुब्र्यवहारसम्बन्धी मुद्दालाई फिर्ता लिन दवाब दिएको तर मुद्दा फिर्ता लिन नमानेपछि मट्टितेलमा चोबेर आगो लगाउन आदेश दिएको हत्या आरोपमा पक्राउ परेका १७ जनामध्ये एक आरोपितले बयान दिएका छन्,' अनुसन्धानमा सम्लग्न वरिष्ठ प्रहरी उपरिक्षक मोहम्मद इकबालले एएफपीलाई बताए।    

रफीले मार्चको अन्त्यतिर आफूमाथि यौन दुब्र्यवहार भएको भनी मुद्दा दर्ता गर्न पुगेको तर प्रहरीको स्थानीय कार्यालयका प्रमुखले घटनालाई सामान्य भन्दै मुद्दा दर्ता गर्न नमानेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि यसले देशव्यापीरूपमा चर्चा पाएको थियो।    

वयानमा पक्राउ परेका आरोपितमध्ये पाँच जनाले रफीलाई एउटा पछ्यौरा (स्कार्फ) ले बाँधी आगो लगाएको जनाइएको छ। उक्त घटनामा तीन जना रफीकै सहपाठीसमेत रहेका खुल्न आएको छ।    

किशोरीले आत्महत्या गरेको पुष्टि गर्ने योजना उक्त समूहको रहेको भएपनि आगोले जलेर पछ्यौराले बाँधिएका हातखुट्टा खुलेपछि रफी आगो सल्किएकै अवस्थामा भवनको तल्लो तलामा झर्न सफल भएको भेटिएको प्रहरी उपरिक्षक इकबालले बताए।    

करिब ८० प्रतिशत शरिरमा आगोले जलेकी रफीको उपचारका क्रममा अप्रिल १० मा निधन भएको थियो। रफीको मृत्युपूर्व उनले भिडियो रेकर्ड गरी आफ्ना प्रधानाध्यापकलाई दोषारोपण गरेकी थिइन्।    

उनले भिडियोमा भनेकी थिइन्, 'प्रधानाध्यापकले मलाई गरेको यौन आक्रमणको अन्तिम श्वाससम्म मुकाविला गर्नेछु।' उनले घटनामा सम्लग्न अन्य केहीको पनि परिचय दिएकी थिइन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.