संचित कोष र मर्मत खर्चको ५० लाख मात्रै बाँकी

|

विराटनगर : मोरङ जहदा गाउँपालिकाको पूँजीगत खर्च १ सय प्रतिशत हुने भएको छ। गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले संचित कोषमा छुट्याएको १० लाख र मर्मतका लागि छुट्याएको ४० लाख बजेट मात्रै अब खर्च हुन बाँकी रहेको बताए।

संघ र प्रदेशलाई विकास बजेट खर्च गर्न हम्मेहम्मे परिरहेको बेला जहदाले भने यस्तो प्रगति गरेको हो। जहदा गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कुल बजेट ४१ करोड ९४ लाख ४४ हजार ५ सय छुट्याएको थियो। जसमध्ये पुँजीगततर्फ २५ करोड १३ लाख ४४ हजार ५ सय र चालुचर्फ १६ करोड ८० लाख ९९ हजार ५ सय बजेट विनियोजन गरेको थियो।

हावाहुरी र वर्षातको समय आउन बाँकी नै रहेकाले मर्मत खर्च गर्ने समय आउन लागेको भन्दै उनले आर्थिक वर्षको अन्त्यसम्ममा सतप्रतिशत बजेट खर्च हुने दाबी गरे।

गाउँपालिकाले अहिलेसम्म ४० प्रतिशत बजेट खर्च गरिसकेको छ । अन्य योजनाहरु निर्माणको अन्तिम चरणमा भएकाले आर्थिक वर्षको अन्त्यसम्ममा बजेट निकासा भइसक्ने र शतप्रतिशत बजेट खर्च हुने उनले बताए।

‘हाम्रो गाउँपालिकाको बजेट शतप्रतिशत खर्च हुन्छ,’ उनले भने ‘अहिलेसम्म ४० प्रतिशत बजेट निकासा भइसकेको छ, योजनाहरू कार्यान्वयनको अन्तिम चरणमा छन्, आर्थिक वर्ष पूरा हुने बेलासम्म बाँकी बजेट पनि निकासा भइसक्छ।’

संघ र प्रदेश सरकारलाई बजेट खर्च गर्न हम्मेहम्मे परिरहेका बेला गाउँपालिकाले छनोट गरेका योाजनाहरुको काम धमाधम हुनु र बजेट खर्च हुनु सकारात्मक भएको उनले बताए । प्रदेश मै पनि र धेरैजसो स्थानीयतहमा समेत कर्मचारी र जनप्रतिनिधिबीच विवाद हुँदा काम गर्न समस्या देखिएकाले पनि बजेट खजेट खर्च गर्न नसकिरहेको उनले बताए।

‘जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नहुँदा योजनाहरू छनोटदेखि नै समस्या देखिन्छ तर हाम्रो गाउँपालिकामा त्यस्तो छैन,’ उनले भने ‘हाम्रोमा कर्मचारी र जनप्रतिनिधिबीच राम्रो तालमेल छ।’

‘कर्मचारी र जनप्रतिनिधिबीच नङ र मासु जस्तो सम्बन्ध भयो भने काम गर्न सहज हुन्छ, कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व भयो भने काम गर्न  समस्या हुन्छ अनि गाउँको विकास पनि हुँदैन,’ उनले भने ‘हाम्रो गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी मिलेर काम गरेका छौँ। यसैले बजेट पनि शतप्रतिशत खर्च हुने देखिएको छ।’

जहदा गाउँपालिकामा संघीय संसद विकास कोषबाट दुई करोड २५ लाख र प्रदेश संसद विकास कोषबाट एक करोड २८ लाख बजेट आएको प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिए।

संघको संसद विकास कोषबाट प्राप्त बजेटबाट गाउँपालिकामा १० वटा योजना छनोट गरिएको आचार्यले बताए। १० वटा योजनामध्ये ९ वटा योजनाहरूका लागि उपभोक्ता समिति गठन भई अहिले धमाधम काम भइरहेको र एउटा योजनाका लागि ठेक्का प्रक्रियामा रहेको उनले जानकारी दिए।

‘गाउँपालिकामा सडकको निकै समस्या भएकाले अधिकांश योजनाहरु सडक निर्माण र पिचको छ,’ उनले भने, ‘संघीय संसद कोषबाट प्राप्त रकमबाट छनोट गरिएका १० वटा योजनामध्ये ९ वटा योजनाहरु उपभोक्ता समतिले काम गरिरहेको छ एउटा योजना भने ठेक्का प्रक्रियामा छ।’

प्रदेश संसद विकास कोषबाट प्राप्त भएको एक करोड २८ लाख बजेटको अख्तियारी भने ढिलोगरी आएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए। बजेटको अख्तियारी आएको एक हप्ता मात्रै भएको भएपनि छनोट भएका ८ वटा योजनाका लागि उपभोक्ता समिति गठन गर्नेकाम धमाधम भइरहेको उनले बताए।

‘प्रदेश संसद विकास कोषको रकमको अख्तियारी प्रदेश सरकारले ढिलो गरी मात्रै दियो,’ उनले भने, ‘तर पनि हामीले छनोट भएका ८ वटा योजनाहरूलाई कार्यान्वयन गर्न अहिले धमाधम उपभोक्ता समिति गठन गरिरहेका छौँ।’

गाउँपालिकाले पूर्वाधार विकास, कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्षको बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मण्डलले बताए।

तत्कालीन  भाथिगछ, मझारे, शिशवनी जहदा, पोखरिया गाविस र दक्षिणी सीमावर्ती गाविस बुधनगरका ६ वटा वडाहरूलाई मिलाएर जहदा गाउँपालिका गठन भएको हो। गाउँपालिकामा ७ वटा वडाहरू छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.