पीडामा सहयोग गर्न आग्रह

|

दैलेख : गत चैत २२ गते शुक्रबार साँझ आएको असिना पानीले दैलेखका अधिकांश स्थानहरूमा बितण्डा मच्चायो। क्षणभरमै आएको अविरल वर्षा तथा हावाहुरी र असिनाले सबै बालीनाली नष्ट गर्‍यो। सो विपदपछि स्थानीय बासिन्दा के खाने खुवाउने चिन्तामा छन्। बारीमा लगाएको अन्नबाली राम्रोसँग उत्पादन भएमा ६ महिना मात्र खान पुग्ने स्थानीय त्यही बाली पनि माटोमा मिलेपछि झन् चिन्तित बनेका हुन्। हावाहुरीले विशेष गरेर दैलेखको पश्चिमी क्षेत्र चामुण्डा वीन्द्रासैनी नगरपालिका र ठाटिकाँध गाउँपालिकाका कृषकहरूलाई समस्यामा पारेको छ।

गाउँपालिकाभर करिब २२ करोडको क्षति

करिब ४० मिनेट आएको असिना र हावाहुरीले ठूलो मात्रामा क्षति पुर्‍याएपछि ठाँटीकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहको संयोजकत्वमा गठन गरिएको क्षतिको विवरण संकलन व्यवस्थापन समितिले गाउँपालिकाभित्र भएको क्षतिको विवरण संकलन गरेर जिल्ला दैवी प्रकोप समितिलाई बुझाएको छ। क्षति भएका विभिन्न बडाहरूमा स्थलगतरूपमा अवलोकन गरी क्षतिको विवरण संकलन गरिएको गाउँपालिकाका उपप्रमुख सुस्मिता सिंहको भनाइ छ।

‘गाउँपालिकाका क्षतिग्रस्त बडाहरूमा हामीले अवलोकन गरी क्षति विवरण संकलन गरेका छौँ’ उपप्रमुख सिंहले थाहा खबरसँग भनिन्, ‘गाउँपालिकाभर करिब २२ करोडको क्षति भएको छ, हामीले सो विवरण जिल्ला दैवी प्रकोप उद्धार समितिलाई बुझाइसकेका छौँ।’ गाउँपालिकाका वडा नम्बर १, २, ३ र ६ मा रहेको अन्नबाली पूर्णरूपमा माटोमा मिलेको छ।

उचित राहतको माग

विपतपछि टाँठीकाँध गाउँपालिका, चामुडावीन्द्रासैनी नगरपालिकालगायत पश्चिमका अधिकांश क्षेत्रमा तरकारी, फलफूल, गहुँ, जौ, सबै नष्ट भएबारे प्रतिनिधिसभा सदस्य राजबहादुर बूढाले आफैँ स्थलगत रूपमा अवलोकनमा पुगेका उनले स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्र सरकारले पीडितहरूलाई उचित राहतको व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका छन्। ‘म आफैँ त्यहाँ पुगेर क्षति भएको हेरेको छु, पीडितका कुरा सुनेको छु’ सांसद बुढाले भने, ‘राहत तथा पीडितलाई भोको नराख्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको छ, म पनि लागिपर्छु।’

यो पीडामा सरकारले सहयोग गर्नुपर्छ

यता, सोही प्रकोपकै कारण चामुण्डा वीन्द्रासैनी नगरपालिकामा पनि २० करोड बढीको क्षति भएको त्यहाँका नगर प्रमुख सूर्यबहादुर शाहीले थाहाखबरलाई जानकारी दिएका छन्। ‘किसानहरू गाउँमा निकै चिन्तामा परेका छन्। स्थानीय सरकारले किसानको राहतका लागि सामान्य काम गर्न सक्ला तर क्षतिपूर्तिका लागि हामी केही गर्न सक्दैनौँ,’ उनले भने, ‘जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत किसानलाई राहतको व्यवस्थापनका लागि माग गरेका छौँ, प्रदेश सरकार र केन्द्र सरकारले यो पीडालाई नजिकबाट हेरिदिनुपर्छ।’

पूर्णविवरण गृह मन्त्रालय पठाइने

जिल्लाबाट निर्वाचित सांसद, स्थानीय सरकारका प्रमुख, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्लामा क्रियाशील पत्रकारलगायत संयुक्त टोलीले गरेको स्थलगत अध्ययनको विवरणबारे सदरमुकाम दैलेख बजारमा बसेको विपत् व्यवस्थापन समितिको बैठकले जिल्लाभरबाट प्राप्त विवरणलाई एक साताभित्र गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले किसानहरूको क्षतिको विवरणको वास्तविक रूप समितिमा आएको र उनीहरूलाई क्षतिपूर्ति तथा राहतका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको जानकारी दिएका छन्। ‘हामीले विभिन्न संयन्त्रमार्फत स्थलगत रूपमा किसानहरूको वास्तविक क्षतिको विवरण संकलन गरेका छौँ, सोही  आधारमा विवरण गृह मन्त्रालयमा पठाउने तयारी भइरहेको छ,’ उनले थपे।

६ वटा स्थानीय तहमा बढी क्षति

असिना र हुरीले दैलेखका ६ वटा स्थानीय तहमा बढी क्षति गरेको छ। दुल्लु नगरपालिका २, ३ र ९ तथा चामुण्डावीन्द्रासैनी नगरपालिकाका ९ वटै वडामा बालीनाली, बोटविरुवा र घरका छानामा क्षति पुगेका छ। यसैगरी, जिल्लाको भैरवी गाउँपालिकाका केही वडामा असिना र हुरी बतासले क्षति पुर्‍याएको छ ठाँटीकाँध गाउँपालिकाको १, २ र ६ वडामा धेरै क्षति पुर्‍याएका थियो भने ३, ४ र ५ मा आंशिक क्षति पुगेको छ। सबै स्थानको विवरण संकलनपश्चात् केन्द्र सरकार र संसद्‍मा यसबारे आफूहरूले ठोस रूपमा आवाज उठाउने प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले बताएका छन्।

खाद्य डिपो स्थापना गर्ने निर्णय

दैलेखको टाँटीकाँध गाउँपालिकामा तत्कालीन द्वन्द्वका बेला विस्थापित भएको खाद्य डिपो अहिलेसम्म स्थापना भएको छैन। दैलेखको पश्चिम क्षेत्रमा ३ वटा स्थानीय तहका जनताका लागि उक्त खाद्य डिपोले निकै सहयोग पुग्ने भएकोले तत्काल स्थापना गर्न जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ।

असिना र हुरीले गहुँबाली र तरकारी सबै नष्ट भएपछि बजारमा खाद्यान्नको कृत्रिम अभाव देखिएको छ। १ हजार ५ सय बोरा पर्ने चामल रातारात व्यापारीहरूले २ हजारसम्म पुर्‍याएपछि गाउँपालिकाले त्यसलाई तत्काल नियन्त्रण गर्ने अभियानसँगै खाद्य डिपो स्थापनाका लागि जिल्ला, प्रदेश र केन्द्रलाई माग गरिएको छ। नेपाल खाद्य संस्थान शाखा कार्यालय दैलेखले खाद्य डिपो स्थापनाका लागि लेखापढी गरेर सम्बन्धित मन्त्रालयमा पठाई सकेको  कार्यालय प्रमुख रणबहादुर ऐरीले बताएका छन्।

विपत्ति पूर्वतयारी नगरेको गुनासो

विपदअघि सबै निकायसँगै स्थानीय बासिन्दा पनि चुप लागेर बस्ने र दु:ख परेपछि मात्र बुद्धि सुझाउने नेपालीको बानी नै हो। जिल्लामा यसपालिको बिपदले पनि त्यस्तै आभास गराएको छ। कृषि बालीको बिमा गर्न स्थानीय गरेको लापरबाहीका कारण नागरिकहरूले बढी दुख भोगेका छन्। जिल्लामा रहेको विभिन्न सरकारी तथा गैरसरकारी संयन्त्रले पनि विपदपछिको व्यवस्थापनमा खासै चासो नदिएको आरोप छ।

गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारूप खत्रीले गुनासो गर्दै भने, ‘हामीले करिब तीन महिनाअघि विभिन्न स्थानीय सरकारहरूसँग समन्वय गरेर विपत् पूर्वतयारी र बाली बिमा गर्नुपर्ने भन्दै सहजीकरण गरिदिन आग्रह गरेका थियौँ तर सम्बन्धित निकायहरूले वास्ता गरेनन् अहिले विपत्ति परेपछि पछुतोमा परेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.