|

हेटौंडा : मकवानपुर प्रहरीले भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा नेतृत्वको टोलीले हेटौडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडकखण्डबाट नेपाली २ लाख ५२ हजार बराबरको कपडा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर, हेटौंडाले ठूलो परिमाणमा भन्सार छलेर ल्याएको अवैध कपडा रातोमाटेबाट बरामद गरेको हो। हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडकखण्डमा ना ५ ख ५७५५ नम्बरको बसलाई जाँच गर्दा कुर्ता र थानको कपडालगायत नेपाली एकलाख २० हजार मूल्य बराबरको कपडा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भारत पश्चिम बंगाल माल्दा सुजापुर बस्ने ३१ वर्षीय उमर थारुकलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेका थारुकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ। यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले शुक्रबार नै रातोमाटेबाट ना ४ ख १०६७ नम्बरको बसलाई जाँच गर्दा वेवारिसे अवस्थामा रहेको एक लाख ३२ हजार नेपाली रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ।

वेवारिसे अवस्थामा प्लास्टिकको बोराभित्र कुर्ता र थानको कपडालगायतका कपडा बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगञ्ज पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.