|

सोलुखुम्बु : सगरमाथा क्षेत्रमा संकलन भएको फोहोर काठमाडाैं लगिएको छ। सरसफाई अभियाननै सञ्चालन गरि संकलन गरिएको १ हजार केजी फोहोर काठमाडाैं लगिएको हो।

नेपाली सेनाको हेलिकाेप्टरमार्फत १ हजार केजी फोहोर काठमाडाैं र एक हजार केजी फोहोर ओखलढुंगा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। २४ औं वन्यजन्तु सप्ताहको अवसरमा संकलन गरिएको फोहोरलाई विभिन्न भागमा वर्गीकरण गरी सोही अनुसार व्यवस्थापन गर्ने गरी बिहीबार पठाइएको हो।

स्थानीय स्तरमा व्यवस्थापन गर्न सकिने वस्तुलाई नाम्चे क्षेत्रमा नै व्यवस्थापन गरिएको छ। कुहिने वस्तु सहितको फोहोरलाई ओखलढुंगा र नकुहिने क्यान, सिसाको बोत्तल जस्ता प्रशोधन गर्न सकिने फोहोर वस्तुलाई काठमाडाैं पठाइएको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिए। १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा खुम्बुको क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा संकलन भएको फोहोर पठाइएको प्रमुख भट्टराईको भनाई छ। उनका अनुसार बैशाख १ गतेबाट सुरु भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहभागिता रहेको छ।

संकलन भएको फोहोरलाई काठमाडाैंमा प्रदर्शन गरिने

उक्त टोलीले पाँच दिन लगाएर लुक्ला, टोकटोक, जोरसल्ले, नाम्चे, फोरचे, थामे, स्याङ्बोचे लगायतको क्षेत्रबाट संकलन गरेको २ हजार केजी फोहोर बाहिर पठाएको हो। जेठ २२ गतेसम्म ४५ दिन जारी रहने यो अभियानमा सगरमाथाको चुचुरो सम्मनै सफाई गर्ने बताइएको छ। अहिले दैनिक ३० जनासम्म सहभागी भई सरसफाई भइरहेको छ भने सगरमाथाको चुचुरोसम्म सफाई गर्नको लागि ८ जना खटिने छन्। उनीहरूले सगरमाथा हिमाल आरोहणका क्रममा मृत्यु भएका शवसमेत झिक्ने प्रयास गर्ने एसपीसीसीले जनाएको छ। 

सगरमाथा क्षेत्रमा फोहोर बढेको प्रति सर्बत्र चिन्ता व्यक्त भइरहेको बेला सगरमाथा दिवसको अवसर पारी सफाई अभियान सञ्चालन गरिएको हो। हिमाल आरोहण तथा पदयात्रामा आउने पर्यटकका कारण उत्पन्न फोहोर व्यवस्थापनमा चुनौती भइरहेको बेला यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने पर्यटन व्यवसायीको विश्वास छ। संकलन गरी काठमाडाैं लगिएको फोहोरलाई विश्व वातावरण दिवस मे ५ का दिन काठमाडाैंमा प्रदर्शन गरी ‘ब्ल्यू वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरिने छ। पहिलो चरणको फोहोर समेत सेनाले सोही संस्थालाई लगेर जिम्मा दिएको छ। 

अभियानका लागि २ करोड बढी लाग्ने अनुमान

सफाइ अभियानमा दुई करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने बताइएको छ। अभियानका लागि खुम्बु पासाङल्ह्यामु गाउँपालिकाले ३० लाख तथा नेपाल पर्वतारोहण संघ (एनएमए) ले २० लाख र विश्व वन्यजन्तु कोषले २० लाख सहयोग गर्ने जनाएका छन्। सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष आङदोर्जे शेर्पाका अनुसार अभियानमा आर्थिक सहयोगको प्रतिबद्धता आउनेक्रम जारी छ। शेर्पाले भने, 'नेपाल पर्वतारोहण संघ (एनएमए) र विश्व वन्यजन्तु कोषले केही दिनभित्रै रकम जम्मा गर्दैछन्। अन्यले पनि जम्मा गरी अभियानमा सहयोग गर्छन् भन्ने विश्वास छ।'

सगरमाथा सहितको हिमाल आरोहणबाट करोडौं राजश्व जम्मा भए पनि यस क्षेत्रको विकासको लागि सरकारले चासो नदिएको यहाँका स्थानीयको गुनासो छ। स्थानीयसहित पर्वतारोही समेतले गुनासो गरिरहेको बेला यस्ता अभियानले संबोधन गर्ने अधिकारी बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.