हत्या भएको आफन्तको दाबी

|

भद्रपुर (झापा) : काँकडभिट्टास्थित सिभिल होटलमा भक्तपुरका एक व्यापारी भुण्डिएको अवस्थामा मृत फेला परेको छ। उनको मृत्यु रहस्यमय बनेको छ, भने आफन्तजनले हत्या भएको दाबी गरेका छन्। 

भक्तपुर निवासी ३७ वर्षीय प्रकाश ढुंगाना सिविल होटलको कोठा नम्बर ३०३ मा भुण्डिएको अवस्थामा शक्रुबार राति साढे ९ बजे फेला परेको हो। मृतक ढुंगाना पेशाले तयारी पोशाक कारोबार गर्न व्यापारी हुन्। वैशाख ५ गते कामको शिलशिलामा झापा आएका ढुंगाना वैशाख ५ गते सिभिल होटलमा कोठा लिएका थिए।

पंखाको हुकमा ब्यागको फिता लगाएर  उनी झुण्डिएको अवस्थामा होटलकै कोठामा मृत फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ। उनको शव कोठाभित्रको टेबलमा घुँडा टेकेको अवस्थामा फेला पारेको हो। भुण्डिएको व्यक्ति घुँडा टेकेको अवस्थामा फेला परेकोले उनको मृत्यु प्रकरण रहस्यमय बनेको छ।

‘शुक्रवार बेलुका के खाने भनेर होटलका कर्मचारीले उनलाई सोधेका थिए’, सञ्चालक राईले भने, ‘तर, ‘उनले केही खान मन लागे आफैँ खबर गर्छु भने।’ होटलका कर्मचारीसँग यति नै संवाद भएको थियो, उनले भने। 'रात पर्न थालेपछि खानाका लागि कोठामै गएर उनलाई पटक पटक बोलाएऔं, तर कोठाबाट कुनै आवाज आएन, फोन गर्दा पनि उठेन', उनले भने, 'त्यसपछि तत्काल इलाकामा गएर प्रहरी बोलाएर ल्याएऔं र प्रहरीले वडा अध्यक्ष ललित तामाङको रोहवरमा कोठाको ढोका फुटाएर हेर्दा ढुंगाना झुण्डिएको अवस्थामा देख्यौँ। त्यतिवेला राति साढे ९ बज्दै थियो', उनले घटना सुनाए।

 काउन्टरबाट मोबाइल चार्ज गर्न लगिएको मल्टिपल्कको आधा तार जोडेर टुक्रा बनाइएको छ। मृतकको कोठाभित्रको टेलिफोन तथा टिभीको डिक्स छरिएको अवस्थामा थियो। मृतकको शरिरको पछिल्लो भागमा केही निलडाम देखिन्छ। कोठामा नागरिता साथै आफन्तजनको तीन वटा मोबाइल नम्बर लेखिएको कागज फेला पारे। मृतक ढुंगाना सात दिनअघि चैत २९ गते सोही होटलमा आएर एक दिन बसेर गएको होटलको रजिष्टरमा उल्लेख छ।  

ढुंगाना झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीले उनका परिवारजनलाई राति नै खबर गरेका थिए। भक्तपुरबाट उनका आफन्तजन शनिवार आएको र उनीहरुसँगै जनप्रतिनिधिको रोहवरमा १६ घण्टापछि झुण्डिएको शवको प्रहरीले मुचुल्का उठाए। शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेश थापाले जानकारी दिए। मृतक ढुंगानाको आफन्तजनले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाइसकेको डिएसपी थापाको भनाई छ। ढुंगाना आफै झुण्डिएको हो कि झुण्डाइएको हो, यस बिषयमा प्रहरीले थप अनुसन्धान अघि बढाई सकेको उनले बताए।

हत्या भएको परिवारको दावी

घटना भएलगत्तै शनिवार दिउँसो घटनास्थल आइपुगेका मृतक आफन्तजनले प्रकाशको सुनियोजित रूपमा हत्या गरिएको दावी गरेका छन्। ‘घटनाको प्रकृति हेरेरै अनुमान गर्न सकिन्छ, यो आत्महत्या होइन, हत्या हो भनेर, मृतकका आफन्त विश्वनाथ आचार्यले भने। उनका अनुसार परिवारसँग १२ दिन अघिबाट सम्पर्क बिहिन भएका प्रकाशले शुक्रवार घर फर्किने भन्दै भाइबरमा श्रीमतीसँग कुरा गरेका थिए। ‘भाइबरमा कुरा गरेको रेकर्ड हामीसँग छ’, उनले भने, ‘प्रकाशको मोबाइल हेर्दा न त भाइबर देखिन्छ न त कुनै कल रेकर्ड, सबै डिलिट भएको छ।’ शरीरको पछाडि भागमा निलडामका साथै नयाँ मान्छेको फोटो भेटिनुले प्रकाशको हत्या भएका आचार्यको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.