|

उदयपुर : प्राकृतिक सौन्दर्यले सिँगारिएको तथा धार्मिक महत्त्व बोकेको ताप्ली पोखरी ताप्ली गाँउपालिका–२ लेकगाउँमा पर्छ। उदयपुरको प्रमुख पर्यटकीय स्थलमध्ये एक यस पोखरी जान कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४–५ घण्टामा पुगिन्छ। समुन्द्री सतहबाट एक हजार ८०० मिटर उचाइमा रहेको यस पोखरीलाई रानी पोखरीको नामले समेत चिनिन्छ।

ताप्ली गाँउपालिकाकी उपाअध्यक्ष कमलमाया राईका अनुसार ताप्ली पोखरीमा वर्षैभरि पानी जमिरहन्छ। उच्च क्षेत्र भएकाले यस गाउँमा खानेपानीको समस्या छ। त्यसैले स्थानीयहरुले गाईवस्तुका लागि पोखरीको पानी प्रयोग गर्ने र गाईवस्तु छाडा छाडिदिनाले पानी सुक्दै गएको छ। तर, पछिल्लो समय पोखरी संरक्षणका लागि गाउँपालिकाले एकीकृत गुरुयोजना बनाएको उपाअध्यक्ष राईले बताइन्। 

पोखरी रहेको क्षेत्रबाट सगरमाथासम्मका हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ। यहाँ रहेका हरियो चउरले भरिएका थुम्काहरू आकर्षक छन्। वर्षैभरी चिसो हुने यस क्षेत्रमा पर्यटकहरू गर्मी छल्न अउने गर्दछन्। 

ताप्ली पोखरी क्षेत्र जैविक विविधताका हिसाबले पनि महत्त्पूर्ण मानिन्छ। ‘विभिन्न प्रकारका जडीबुटी समेत यस क्षेत्रमा पाइन्छ,’ उपाध्यक्ष राईले भनिन्, ‘त्यसैले पोखरी र यस क्षेत्रको संरक्षणका लागि विभिन्न काम गरिरहेका छौँ।’

धार्मिक मान्यता

ताप्ली पोखरीको ७५ मिटर चौडा तथा ३२० मिटर लाम्बाइ छ। पोखरीको गहिराई तीन मिटर छ।

पोखरीको किनारामा अवस्थित पञ्चकन्या मन्दिरमा नयाँ वर्षका दिन मेला लाग्ने गरेको छ। सत्य युगमा शिवजीले यहाँका गुफामा बास बसेको किवदन्ती रहेको स्थानीय ७० वर्षीय डिगनारायण श्रेष्ठ बताउँछन्। ‘यहाँ पूजाआज गरे मनोइच्छा पूरा हुने जनविश्वसा छ,’ उनले भने, ‘विशेष गरी नयाँ वर्षका दिन यहाँ भव्य मेला लाग्ने गरेको छ।’

ताप्ली पोखरीको दक्षिणतर्फबाट नेपालको तराई क्षेत्रका साथै भारतका सहरहरू अवलोकन गर्न सकिन्छ। पोखरी किनारमा भ्यु–टावरसमेत निर्माण भैरहेको छ। 

समस्याका चाङ

ताप्ली पोखरीमा मुख्य त खानेपानी, सडकका साथै पर्यटकका लागि खाने बस्नेको समस्या छ। ‘यहाँ खानेपानीको समस्या छ,’ स्थानीय श्रेष्ठले भने, ‘कटारी हुँदै आउनु पर्ने हुन्छ, कच्ची सडक छ, अनि आउने पर्यटकका लागि खाने बस्ने व्यवस्था छैन।’

गाउँपालिका उपाध्यक्ष राईले खानेपानीका लागि योजनाको काम सुरु भएको बताइन्। सडकको स्तरोन्नति र होमस्टे निर्माण गाउँपालिकाको विशेष योजना रहेको उनको भनाइ छ।

गाँउपालिकाका अध्यक्ष उद्धवसिंह थापाले ताप्ली पोखरीलाई पर्यटकीय क्षेत्र बनाउन एकीकृत गुरु योजना निर्माण गरेको जानकारी दिए। ‘गाँउपालिकाकाले एकीकृत गुरु योजना निर्माण गरिसकेको छ,’ उनले भने, ‘त्यही एकीकृत गुरु योजनालाई आधार बनाउँदै डिपिआर तयार बनाउने र बजेट व्यवस्थापन गरेर काम गर्ने गाँउपालिकाको लक्ष्य छ।’

कहिले होला विकास

ताप्ली पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने चर्चा चलेको धेरै वर्ष भयो। स्थानीय ७१ वर्षे डिगनारायण श्रेष्ठका अनुसार २०१६ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारसँग ताप्लीलाई पर्यटकीय क्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको थियो। ‘ हामीले ताप्लीलाई पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरेको अहिले ६० वर्ष पुग्यो,’ उनले भने, ‘अहिलेसम्म सरकारको नजर परेको छैन।’

स्थानीय विक्रम गिरीका अनुसार २०१६ सालमा ताप्ली मैदानमा विमान स्थल बनाउने र पर्यटकीय क्षेत्र घोषणा गर्न यहाँको गाउँ पञ्चायतले माग गरेको थियो। त्यसपछिका सरकारसँग पनि यहाँका स्थानीय राजनीतिक दलले माग गरेका थिए। तर, अहिलेसम्म पर्यटकीय क्षेत्र घोषणा हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.