|

काठमाडौं : नेकपाकी महिला नेतृ अष्‍टलक्ष्मी शाक्य नेकपाका तर्फबाट शक्तिशाली महिला नेतृका रूपमा चिनिन्छिन्। सुशील कोइराला प्रधानमन्त्री भएकाे बेलामा शाक्यलाई तत्कालीन नेकपा एमालेको तर्फबाट मन्त्री बन्न सिफारिस गर्दा पनि आफूले दुईपटक मन्त्री खाइसकेकोले नयाँलाई अवसर दिनुपर्ने बताएपछि पार्टीले शान्ता मानवीलाई मन्त्री बनाएको थियो। 

तिनै नेतृ शाक्यले गत आम निर्वाचनमा आफू संघीय संसद् नबन्ने भन्दै प्रदेशसभाबाट निर्वाचन लडिनन् र काठमाडौं क्षेत्र नम्बर नौ ‘ख’ बाट विजयी प्रदेशसभाका सदस्‍य छिन्। 

शाक्यलाई मुख्यमन्त्रीको दाबेदार मानिए पनि डोरमणी पौडेललाई मुख्यमन्त्रीको जिम्मेवारी दिएपछि पछिल्लो समय पार्टी नेतृत्वसँग शाक्यको असन्तुष्टि रहँदै आएको छ। आफू मुख्यमन्त्रीको योग्य उम्मेदवार भएको र पार्टी अध्यक्षले हस्तक्षेप गरेको भन्दै असन्तुष्टि पोख्दै आएकी छन्। पार्टीले महिलालाई उपेक्षा गरेको भन्दै शाक्यको असन्तुष्टि छ। हाल नेकपाकी प्रदेश– ३ कि इन्चार्जसमेत रहेकी शाक्‍यसँग गरिएको कुराकानीको सम्पादित अंश 

नेकपामा महिला सहभागिता गराउन नेतृहरूले गृहकार्य गर्नुभएको छैन भन्ने आरोप लागेको छ, के भन्नुहुन्छ? 

कम्युनिस्‍ट पार्टीभित्र महिलालाई कहाँ कसरी सहभागी गराउने भन्ने विषय महिलाले मात्रै छलफल गरेर टुंगो लाग्न सक्दैन। नेतृहरूले मात्रै नभई यस विषयमा पार्टीभित्र पनि छलफल हुन सकेको छैन। महिलाको विषय ओझेलमा परेको छ। महिला सहभागी गराउने, नेतृत्वको रूपबाट माथि उठाउने, जिम्मेवारी तोक्ने र महिलालाई आमरूपमा अगाडि बढाउने विषयमा पार्टी नेतृत्व तह र शीर्ष नेताबीच छलफल र बहस हुनु जरुरी छ। 

हिजोका दिनमा पार्टीभित्र महिला सहभागिताको स्थिति ज्यादै न्यून थियो। संघर्ष र बलिदानले एकतिहाइसम्मको मान्यता स्थापित भएको छ। संविधानमै महिला सहभागिता सुनिश्चित भइसकेपछि कार्यान्वयन गर्न बाध्य भएको अवस्थाको सृजना भएको छ। विभिन्न निकायका उपल्लो तहमा महिलाहरूले जिम्मेवारी पाएका छन्। संविधान र पार्टीभित्रको विधानमा रहेर महिलाले महत्वपूर्ण स्थान पाए पनि महिलामाथि सोच, दृष्टिकोण र महिलाप्रति गर्ने विश्वास नेतृत्वमा अझै कमजोर छ।

महिला पुरुष समान छन् भन्ने धारणा अझै प्रबल भएको देखिँदैन। गणतन्त्र, लोकतन्त्र र मुलुकमा विभिन्न कालखण्डमा भएका आन्दोलनमा महिलाले पनि महत्वपूर्ण योगदान दिएका छन्। योगदानको मूल्यांकन गरेर महिलालाई पनि स्थान दिने र सोच परिवर्तन गर्ने पक्ष कमजोर छ। यो वैचारिक समस्या हो। सोच रूपान्तरित हुनु जरुरी छ। यी कारणले गर्दा महिला जसरी अगाडि बढ्नुपर्ने हो बढ्न सकेका छैनन्। 

पार्टीले महिला सहभागिताको विषयलाई ओझेलमा पारेको छ भन्नुभयो, यसलाई मुख्य मुद्दा बनाउन के पहल गर्दै हुनुहुन्छ? 

एकीकरण भइरहँदा पनि नेकपाको स्पष्ट र सिंगो संरचना बन्न सकेको छैन। एकीकरणलाई तल्लो तहसम्म कसरी सफल बनाउने भन्ने कुरा अहिलेको मूलविषयमै समस्या भएकाले महिलाको विषय नगण्य बनेको छ। छलफलको विषयनै बन्न सकेको छैन। नेतृहरूबीच अनौपचारिक छलफलसम्म  हुन सकेको अवस्था छैन। 

 छलफल नभई पार्टीभित्र महिलाको अर्थपूर्ण महिला सहभागिता कसरी हुन सक्छ? 

पार्टीको एकीकरणसँगै सहभागिताको विषयले पनि मूर्तरूप लिँदै जानेछ भन्ने विश्वास छ। गठन हुँदै गरेको पार्टीको पोलिटब्युरो कमिटीमा पनि महिला समावेश हुन्छन्। पार्टीको विधानमै पनि सहभागिताको मापदन्ड छ। प्रस्‍टरूपमा महिला र पुरुषको छुट्टाछुट्टै मापदण्ड छ।

गठन हुने हरेक कमिटीहरूमा मापदण्डको आधारमा सहभागिता गराइनेछ। पार्टीका कमिटी र निकायहरू गठन हुँदा महिला सहभागिताको स्थितिका विशेष ध्यान दिनुपर्ने हुन्छ यसमा हामी सचेत र गम्भीर छौँ। संविधानले महिला पुरुष समान बनाइरहेका बेला नेकपाभित्र विभेद हुनुहुँदैन, सोच बराबरी हुनुपर्छ। पार्टीभित्र महिलालाई उत्साहित पार्ने, अवसर दिने, विश्वास गर्ने र जिम्मेवारी दिने सवालमा कुनै कन्जुस्याइँ गर्नुहुँदैन। 

महिला सशक्तीकरणका लागि केही योजना बनाउनुभएको छ? 

सशक्तीकरणका एकजुट भएर आवाज उठाउछौँ। कम्युनिस्‍ट पार्टी आफैँमा विवेकशील संगठन हो। तर, अहिलेको स्थितिमा सिद्धान्त र व्‍यवहार फरक छ। यसले गर्दा नै नेतृत्वलाई बेला बेलामा घच्घच्याउनुपर्छ। महिलालाई पछाडि पार्ने स्थिति आउन नदिन संगठित भएर अगाडि बढ्ने योजना बनाएका छौँ। संघदेखि प्रदेशसम्म नै जागरणसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्नेछौँ। हिजोको निरंकुशता एकतन्त्रीय शासन हुँदै अहिले जनताको सार्वभौम सत्ता आएको छ। राजनीतिक दलहरूको नेतृत्वमा सत्ता र सरकार छ। व्यवस्था बदलिएको छ यस्तो अवस्थामा महिलाको अवस्थामा पनि परिवर्तन आउनु जरुरी छ। 

अध्यक्षद्वय र शीर्ष नेताबीचको छलफलबाट मात्रै नेकपामा महिलाका मुद्दाको ग्यारेन्टी हुन सक्ला? 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डको गोप्य छलफललाई मात्रै विश्वास गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको छ। दुई नेताले मात्रै कम्युनिस्‍ट पार्टीको विधि, प्रणाली तय गर्न मिल्दैन। कम्युनिस्‍ट पार्टी सामूहिक निणर्यमा विश्वास गर्छ। पार्टीका निर्णयहरू सामूहिकरूपमा बैठकबाट गर्नुपर्नेमा त्यसो हुन सकेको छैन। दुई अध्यक्ष र केही नेताहरूबाट मात्रै निर्णय गरिनु गलत हो।

अध्यक्षद्वयको गोप्य छलफलले सम्पूर्ण निर्णय गर्न खोज्दै कमिटी र पार्टीभित्रका अन्य सदस्यलाई कमजोर बनाउन खोजेको मलाई चित्त बुझेको छैन। कमिटीको बैठक नबस्ने, कमिटीबाट सस्थागत निर्णय नगर्ने, कमिटी सदस्यहरुको विचार नबुझ्ने परिपाटी मौलाएको छ। त्यो अत्यन्तै घातक हो। यस्तो परिस्थति रहेसम्म महिलाको सहभागिता सधैँ ओझेलमा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.