|

उदयपुर : खानेपानी अभावकै कारण पानीको खोजीमा सर्वसाधरणहरु बसाइँ सर्न बाध्य भएका छन्। ०७२ सालको भूकम्पपछि रौतामाई गाउँपालिका–३ का स्थानीयहरू बसाइँ सर्न बाध्य भएका हुन्।

भूकम्पपछि पानीका मुहानहरू सुक्न थालेपछि डोकोमा गाग्री बोकेर पुरानो कुवा, पधेँरा र कोशी धाउनुपर्ने बाध्यता छ। एक गाग्री पानी लिन करिब एकदेखि २ घण्टा धाउनु पर्ने बाध्यता छ। ‘बाबुबाजेले प्रयोग गर्दै आएको पुरानो कुवा, पधेँरामा पर्याप्त पानी नभई अधिकांश सुकिसके,’ स्थानीय हिमाल राई भन्छन्, ‘पानीको खोजीमा कोही बसाइँसरी जान थालेका छन् भने, कोही सुनकोसी किनारमा झर्ने गरेका छन्।’

कोसी गढतिरमा पर्ने बेसीमा खेती हुनेहरू पुसमै कोशी गड्तिरतिर गाईवस्तु लिएर झर्ने गरेका छन्। स्थानीय पानी परेपछि मात्रै गाउँ फर्कने गरेका छन्। जलवायु परिवर्तनका कारण समयमा पानी नपर्नु र पर्याप्त पानी नपर्नाले गाउँमा अन्नबाली फल्न छाडेकाले कतिपयले गाउँ नै छाडेर बसाइँ सर्न थालेको उनलेको बताए।

रौगापा–३ को बेलबोटे, आदामारा, बिमिरे, सोरखु, चण्ढौटे, बलौटेलगायतका गाउँहरूमा खाने पानीको समस्या छ। पशुचौपायलार्ई कोशीको पानी खुवाउने गरेको र मान्छेले पनि घण्टौँ धाएर डोको र गाग्रीमा पानी बोकेर खानुपर्ने बाध्यता छ। ‘अहिले गाउँघरको ढोकामा ताला झुण्डिएको छ, खेती हुने बेँसी, नहुने बसाइँ सरेर गयो।’ स्थानीय रङ्गबहादुर राईले भने, ‘समय र पर्याप्त वर्षा नहुँदा अन्नबाली उब्जाउ नहुने, छरेको मकै बोट नै मर्ने, रोपेको कोदो बोटमै मर्ने गरेपछि वर्षेनी गाउँ छाडी साथीभाइ बसाइँ जान थाले।’

खानेपानीकै समस्याले एकै गाँउका ५–१० घर बसाइँ सरेर जाने गरेका छन्। सोलार सिस्टमबाट पम्पिङ गरी कोशीको पानी तानेर खानेपानीको समस्या हटाउने भनिए पनि अहिलेसम्म कुनै पनि काम भएको छैन। आफ्नो वडामा पानीको समस्या आएपछि गाउँसभामा समेत कुरा उठाएको रौतामाई गाउँपालिका-३ का वडाध्यक्ष दुर्गाराज खड्काले बताउँछन। ‘भूकम्पले गर्दा पानीको मुहान सुक्न थाले,’ उनले भने, ‘वाडाबासीलाई खानेपानीको समस्या छ, पानीको मुहान करिब १४ किलोमिटरसम्म टाढा छ, त्यो पनि सुक्दै गएको छ।’ सुख्खा र डाँडाकाँडाले ओगटेको वडा भएकाले पानीको समस्या छ। खानेपानीको प्रदेश र संघीय सरकारसँग खानेपानी योजना माग गरेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.