फिचर

पर्यटकीय क्षेत्रमा छुट्टै महत्‍व बोकेको ताचै होमस्टे
SHARES

बैशाख ८, २०७६

    मनाङ : गाउँमा स्वदेशी वा विदेशी पाहुना आउनुअघि नै यस गाउँका आमा समूहका महिलाहरू परम्परागत गुरुङ भेषभुषामा सजिएर स्वागतार्थ लस्करै उभिएका भेटिन्छन्। उनीहरूका हातहातमा माला र सगुन कलश सजिएको हुन्छ। यी महिलाहरूको मुस्कान र आतिथ्यको विधिले एक घण्टाको उकालोको थकाइ तत्काल मेटिन्छ। सगुन चाखेका हात पुछ्दै पाहुनाहरू महिलाहरूका पछिपछि लाग्छन्। परम्परागत ढंगले सजाइएका भान्सा कोठाहरूका गलैंचे चकटीहरूमा बसेर परिचयको आदानप्रदान हुन्छ।

    अनि सेच्या (नुनचिया) र सेलरोटी, उत्तम जातको जंगली च्याउको तरकारी र अरू थुप्रै स्थानीय परिकारहरूको स्वाद लिन शुरु हुन्छ। मनाङे चिसोलाई आफ्नो बनाउन सगुनकै रुपमा झ्वाईंखट्टे पनि पाउन सकिन्छ। यहाँको हार्दिकतायुक्त न्यानोपनले तपाईंलाई नासो गाउँपालिकाको वडा नम्बर ८ मा पर्ने ताचै गाउँलाई छोड्न मन लाग्दैन। बिहान उठेर हेर्दा हिमालको ठाडो काखमा बसेको यस गाउँलाई तपाईंले मनाङकै सुरक्षित गन्तव्यका रूपमा हेर्न थाल्नुहुन्छ। यस्तो लाग्छ, न यहाँ कहिल्यै हिउँपहिरो आउँछ, न सुख्खा वा हिले पहिरो जान्छ। त्यसैले होला, विदेश गइरहेका उमेरका स्थानीय समाजसेवी युवा याद घले करिब ४०० भेडाबाख्राको गोठ हेर्दै पदमार्गलाई सजिलो बनाउन लागिपरेको भेटिन्छ।

    होमस्टेका अध्यक्ष याद घलेले बताउनुभएअनुसार ताचै गाउँका ७० घरमध्ये २६ घरमा होमस्टेको सुविधा छ। यिनका घरधनी आमाछोरी बुहारीहरू आमा समूहमा आबद्ध त छन् नै, होमस्टेका माध्यमबाट यिनीहरू बाँकी दुनियाँसँग पनि जोडिन थालेका छन्। मनाङे भन्ने बित्तिकै झिटीगुण्टा व्यापारी भनेर चिन्ने बाँकी नेपालीका लागि यस्ता होमस्टेले मनाङको नयाँ पहिचान र परिचय बनाइदिएका छन्।

    ग्रामीण पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारले घरवास वा होमस्टे सन्चालनमा जोड दिएको छ। अहिले नेपालका प्रत्यक जिल्लाका गाउँगाउँमा होमस्टे सन्चालनमा आएका छन्। संसारकै सबभन्दा बढी उचाईमा अवस्थित तिलिचो ताल समेत रहेको मनाङ जिल्ला पर्यटकको रोजाईका जिल्लाहरूमध्येको एक प्रमुख जिल्लाको रुपमा चिनिन्छ।

    उपयुक्त याममा मनाङका सबै ठाउँमा पर्यटकका आन्तरिक तथा बाह्य पर्यटकको भिडभाड देखिन्छ। लमजुङको सदरमुकाम बेसीसहर नगरपालिकादेखि खुदी र ङादी हुदै हिडेँका पर्यटकहरूले यहाँका गाउँवस्ती, बाटोघाटो सबै भरिएका हुन्छन्।  अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको पर्यटन शाखाको तथ्याङकअनुसार प्रत्येक वर्ष २५ हजारदेखि २८ हजार विदेशी पर्यटकले यस जिल्लाको भ्रमण गर्ने गरेका छन्।

    पर्यटन क्षेत्रमा बढ्दो चापलाई व्यवस्थित गर्ने र ग्रामीण पर्यटनलाई जोड दिने उदेश्यले यहाँ गत वर्षदेखि होमस्टे सन्चालन गरिएको हो। मनाङ जिल्लाको तल्लो भेगमा रहेको नासों गाउँपालिकाका दुई वटा वडामा होमस्टे संचालनमा आएका छन्। जिल्लाकै पहिलो होमस्टे नासों गाउँपालिका वडा नं ४ ओडारगाउँ हो भने गत वर्ष मात्रै स्थापना भएको वडा नं ८ मा ताचै होमस्टे छ।

    पर्यटकीय क्षेत्रमा छुट्टै महत्व

    नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले पर्यटनको क्षेत्रमा फेसन जस्तो लागेपनि  होमस्टे स्थापनाले पर्यटकीय क्षेत्रमा छुट्टै महत्व राखेको बताउँछन्। उनका अनुसार मनाङ आउने पर्यटक केवल हिमाल हेर्न र घुम्न मात्र आउँदैनन्, गाउँगाउँमा बसेर यहाँका चाडपर्व, भेषभुषा, रीतिरिवाज, चालचलनको अध्ययन गर्न आउँछन्।

    आधुनिकताले छोएको अहिलेको परिवेशमा पुरातात्विक र  ऐतिहासिक वस्तुहरूको संरक्षण गर्न र ग्रामीण क्षेत्रका वासिन्दाहरूको आयस्तर उकास्न पनि होमस्टेको स्थापनामा जोड दिएको घलेको भनाई छ।

    नासों गाउँपालीकाको ताचै गाउँ ऐतिहासिक र पुरातात्विक महत्वको ठाउँ हो।  यो घले राज्यको उद्गमस्थलको रुपमा चिनिन्छ। ‘ता’ को अर्थ आफ्नै भुमि र ‘चै’ को अर्थ  फर्कनु हो।  पहिले यहाँका मानिसहरू गाउँ छाडेर अन्त बसाई  सरेका  थिए। सरी गएको वातावरणमा रमाउन नसकेपछि पुनः गाउँ फर्किएर आफ्नै जन्मस्थानमा बसोबास गर्दै आएको हुनाले ताचै नाम रहन गएको बारे स्थानीय  कमल गुरुङले बताए। उनका अनुसार अहिले गाउँ छाडेर कोही पनि अन्यत्र बसाइ सर्ने चलन छैन।

    भौगोलिक हिसावले गुरुङ र घलेहरूको बसोबास रहेको यस गाउँलाई सुगम नै मानिन्छ। बेसीसहर चामे सडकखण्डबाट करीव ४५ मिनेटको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ। त्यस्तै धारापानी थोचे हुदैँ मोटरबाटोले पनि यस गाउँलाई सडक सन्जालमा जोडिदिएको छ।

    गाउँ मुनिको सुन्दर फाँट, गुराँसका घना जंगल , गाउँबाट देखिने मनास्लु , अन्नपूर्णा, लमजुङ जस्ता हिमश्रृंखलाका मनमोहक दृश्यले जो कसैलाई पनि मन्त्रमुग्ध बनाउँछ। सानो तर चिटिक्क मिलेको बस्ती, वरीपरी छङछङ सुसेल्दै झरेका छहरा, गाउँ  पछाडिको सल्लोघारी, सातकन्यादेवीको थानबाट झरेको तातोपानी र निलो पटुकी र घलेक लगाएका किसान आमा दिदी बहिनीको काममा व्यस्तता, यिनैले ताचैको निशान बोकेका छन्।

    यहाँको जनजीवनको मुख्य आधार खेतीपाती र पशुपालन नै हो। भेडाबाख्रा, च्यांग्रा र चौरी जस्ता पशुहरू यहाँ पालिन्छ भने आलु, फापर गहुँ ,उवा र मकै प्रमुख खेती हुन्। यार्सागुम्वा, वनलसुन, गुच्चीच्याउ, सतुवा,  कुट्की, जटामसी, निरामसी आदि बहुमूल्य जडिबुटी यहाँका प्रमुख वनजन्य उत्पादन हुन्। यहाँका निवासीहरू यिनै जडिबुटिको ब्यापार ब्यवसायबाट आयआर्जन गर्छन्। सामान्य शिक्षित जनताहरूको यो सानो गाउँ लोक कला र परम्परागत संस्कृतिले समृद्ध देखिन्छ।

    ताचैको होमस्टेकमा अहिले एकै पटक करीव १ सय ५० जना पाहुना राख्न सक्ने क्षमता रहेको छ। गाउँमा पाहुना आएदेखि नै गाउँका आमा समुह, युवायुवती सबै भेला भएर गाउँको समुह घरमा बसाल्ने काम हुन्छ। सांस्कृतिक कार्यक्रमका माध्यमबाट पाहुनालाई मनोरन्जन दिइन्छ भने अर्गानिक खानाका साथै पारिवारिक वातावरण प्रदान गर्नु यस होमस्टेको उल्लेख्य पक्ष हो। चौरी र भेडा च्यांग्राका ऊन कातेर हातबाट निर्माण गरिएका सामाग्रीहरू फेर्पा , दोचा, राडीपाखी, बख्खु, डोरी लगायतका सामाग्री यहाँको पहिचान हो भने छहराको पनीबाट चलाउने पानिघट्टको प्रयोग मानिसको स्वास्थ्यसँग जोडिएका छ।

    आमा समूहकी अध्यक्ष चन्द्रकाशी घलेका अनुसार पानी घट्टमा कुटानीपिसानी गरेका खाद्यवस्तुहरूमा पौष्टिक तत्वहरू कायमै रहने र जैविक स्वाद हुने हुनाले यसलाई प्राथमिकतामा राखिएको छ।

नवीन लामिछाने

पत्रकार लामिछाने थाहाखबरका मनाङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]