तुल्सी थापाको 'निवृत्त मानो' रूपचन्द्रको वैचारिक अचानोमा परेपछि खुकुलो भएको परिणाम थियो। रूपचन्द्रका अनेक नाम थिए, अनेक रूप थिए तर तुल्सीका लागि असल शिक्षक बन्ने प्रेरणाका प्रभावशाली व्यक्ति थिए। विष्ट काजीका कैयौं मिथका मुलायम मखमली पछ्यौरा ओढेर बसेका मानिसहरूका भीडमा स्मृतिका डोबले घर बनाउँदै भत्किरहेका छन्। खुइलिँदो समयमाझ सम्झना पनि मधुरा र फिक्का भएर जाँदारहेछन्।
भैँसेमा जन्मेर पालुङमा मास्टरी गर्न हिँडेका तुल्सी रिसर्चका लागि चेपाङ वस्तीतिर लागे र फेरि कविता र शब्दहरूका दाना ठम्याउँदै सुस्त कायाको छायामा हेटौँडातर्फ तानिएर आयु बाँसुरी बजाइरहेका छन्। एक्लै बस्दा एक्लो हुन नदिन आउने असरल्ल विचारका रङहरू घोलेर फरक नीलो आकाशमा सेतो निखर सेतो परेवा बनेर उड्न खोजे। दानाकविको मानो भरिदिने विष्ट काजीको झप्ल्याङ झप्ल्याङ स्मृति सिंहको अवतारमा उनीकहाँ पटक पटक आउँछ र धाप मारिरहन्छ। पेशाले तिमी थाक्यौ भनेर निवृत्त थमायो, परिवार र आफ्नाहरूले ठम्याएको सुस्ततामा उनी बिस्तारै बेरिँदै गए। तर विष्ट थाकेका छैनन्, उनको सपाट आकृति आकाश ओढेर उनीकहाँ आउँछ।
सेतो परेवाले नीलो आकशमा फिँजाएका पंखचापहरू बोलिरहेका थिए, 'अस्वीकृत स्वरूप'मार्फत् ।
बगर हुनुको अर्थ उसलाई बगर बनाइदिने त्यहाँ नजिकै वा कतै पुछारमा कुनै नदी हुनुपर्छ। हो, त्यो पनि छ र अहिले चुपचाप बगिरहेछ। यतिखेर ऊ उत्पात मच्चाउने सुरमा कति पनि देखिँदैन।
माछाको सिकारमा लागेका चराहरू त्यो नदीबाट यो बगरका ढुंगाहरूमा यदाकदा केही छिन आराम गर्न आउने गर्छन्। ती ढुंगाले पाउने आगन्तुक सजीवता हुने गर्छ, यी चराको आगमन।
शिरु प्रधानको नामको वागबानी खोजमा भेटिएको चिन्टु छोरा, अनि बौद्धिक एक महिलाको अस्वीकृत आवाजमा ठहाकाले स भरिदिएको थियो। सुन्तला, स्याउ र जुसिलो रसिलो कुराकानी चेसबोर्डमा ट्वाल्ल परिरहेका थिए। दामन भ्यू टावरबाट नदेखिने धेरै दृश्यले नबोलाइएका धेरै आगन्तुकलाई बोलाएको छ। तुल्सी मठमा बसेर साउती मारिरहेका छन्। बतास र कपास जस्तो बादलको कुरा। एक्लो आफूलाई सयौंमा विभक्त गरेर सुनाइरहेको छ, एकादेशको पारिलो कथा। सुनको माला लाउँदै कथा गुञ्जन्छ, विकाश घरको छातीमा।
- एउटा फरक आकाश
के खोज्दै छौ? तिम्रो के हराएको छ?
मेरो केही हराएको छैन। तर म अधुरो छु। म मेरो अधुरोपन खोज्दै छु। यस अर्थमा म 'इक्स्प्लोरर' हुँ, 'इक्स्पोजर' हैन।
यो जुस गुलियो छ, मीठो छ तर यसको मीठासपन बाहिरबाट देखिएको छैन, हाम्रो कुरा त्यस्तै मिठास खोतल्नु हो।
मीठास के हो? बुझ्नु हो। म तीतो, टर्रो झेलेकी आइमाई हुँ।
हो, त्यही अवस्थामा जीवन बुझिन्छ। मीठो मात्र बुझ्नेले जीवन बुझ्दैन।
अब तिम्रो भोगाइको तीतोपनबाट जीवन बुझौँ। तिमीको हौ? भन्दा बढी तिमी के हौ? जान्न इच्छुक छु।
दुई नं. ट्रक चलाउने माइलादाइले रोकिदिएको समयमा दौडने थापाजी आइरन आँखाका कारण जनै लाउनबाट बञ्चित भए तर उनको हृदय सिलौटामा धेरै गाढा धर्सा धसिएका छन्। सबैले हेलाको भन्ने र मान्ने माइलादाइसँगको कुराकानीमा चुहिएको ज्ञानथोपा कहन्छ,
- सँगै छुट्दै गरेका क्षणहरू
मभित्र मेरो आफ्नै बोझ छ, सबैसँग छ होला। सबै भरिया हुन्, आआफ्नो बोझका। माइलादाइले ती बोझलाई देख्नुपर्दैन। देखिने बोझ भन्दा नदेखिने बोझ झनै गहुँगा हुन्छन्। म अहिले आफ्नो बोझसँगै माइलादाइसँग छु। तर मभित्रको बोझ उनीमाथि बिसाउन चाहिनँ।
झ्यालखानामा ढोका बनाएर बसेको महामहिम कैदी रूपचन्द्र विष्टको तारिफ र वर्णन जति नै गरे पनि अपूरो लाग्छ। रवाफिलो वाजको वाफ देख्नेहरू द्रष्टा बन्नै सकेनन्। त्यही कालमा सँगै जेलजीवन बिताउनेहरू पनि अद्यापि जीवितै छन्। सुन्दर नगर हेटौँडामा सुन्दर कविहरू पनि बस्दछन् भनेर धेरै पहिले युवाकवि माधवराज सुमार्गी र तुल्सी थापाले 'काव्यमा गुञ्ज'मा हेटौँडाको सानलाई उठाएका थिए। चेपाङको चर्चा आजभोलि धेरै हुन्छ, तर त्यस जातिका बारेमा गहन अध्ययन र अनुसन्धान गरी उजागर गर्ने उनै कवि तुल्सी थापा हुन् भन्दा नगरको शोभा बढ्छ।
तुल्सी चाहेजति खुल्न सकेका छैनन्, भर्खरै प्रकाशित पुस्तक 'अजेयराज सुमार्गी'मा पनि। पारिलो घाम ओढेर भन्थे, बजेका धून भन्दा नबजेका धून प्यारा हुनेरहेछन्, लेखेका कविता भन्दा लेख्न बाँकी कथाहरूको अत्यासले जीवनलाई हलुङ्गो बनाएको छ। कविता लेख्न सजिलो छ तर कवि भएर कविता जस्तै जीवन बाँच्न गार्हो छ। त्यसको ज्वलन्त उदाहरणका रूपमा तुल्सी थापालाई लिन सकिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।