|

काठमाडौं :  नेपालमा दमका बिरामी सबैभन्दा धेरै रहेको पाइएको छ। नसर्ने रोगको जोखिम बढ्दै गएको बेलामा नेपालमा सबैभन्दा धेरै नसर्ने रोगहरूका बिरामी रहेका पाइएको हो। स्वास्‍थ्य  तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धानमा नेपालमा त्यसपछि सबैभन्दा धेरै मधुमेहका रोगी रहेको पाइएको हो।

यस्तै, अनुसन्धानले नेपालमा तेस्रो नम्बरमा मिर्गौला रोगका बिरामी रहेको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले दुई वर्ष लगाएर नेपालमा नसर्ने दीर्घ रोगसम्बन्धी राष्ट्रिय सर्भेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो। उक्त प्रविदेनले ११.७ प्रतिशत नेपालीहरूलाई दमको समस्या रहेको उल्लेख छ।

सोही प्रतिवेदनमा ८.६ प्रतिशतलाई मधुमेह र ६ प्रतिशतमा दीर्घकालीन मिर्गौला रोग भएको उल्लेख गरेको छ। यस्तै, नेपालमा मुटुरोगीको संख्या बढ्दै गएको भनिए पनि अनुसन्धान प्रतिवेदनले मुटु रोगबाट पीडित हुने संख्या भने जम्मा २.९ प्रतिशत रहेको उल्लेख गरेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार सो अनुसन्धान दुई वर्ष लगाएर दुई चरणमा सम्पन्न गरिएको हो। सन् २०१६ देखि २०१८ सम्म नेपालका ७२ जिल्लाका ४ सय क्लस्टरमा गई गरिएको यो अनुसन्धान २० वर्ष र सोभन्दा माथिका १३ हजार २०० जनामा गरिएको थियो।

धिमालले भने, ‘नेपालमा नसर्ने रोगका बिरामी बढ्दै गएपछि हामीले बिरामीको अवस्था बुझ्नको लागि अनुसन्धान गरिएको थियौँ,जसको लागि पहिलो चरणमा छानिएका सहभागीसँग अन्तर्वार्ता लियौँ, दोस्रो चरणमा रगत र पिसाबको जाँचका साथै मुटु र छातीको जाँच गरियो, पहिलो चरणको तथ्यांक सकिएको तीन महिनापछि दीर्घकालीन मिगौला रोगी पत्ता लगाउन पुनः ती व्यक्तिहरूको अल्बुमिन र क्रियटिनिन अनुपात ३० र सोभन्दा माथि छ भनी उनीहरूको रगत र पिसावको नमुना संकलन गरी जाँच गरियो।'

देशव्यापीरूपमा गरिएको उक्त अनुसन्धानले धेरै जसोमा व्यावहारिक र जैविक जोखिमका तत्त्वहरू जस्तै सुर्तीसेवन, मादकपदार्थको सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्रा, उच्च रक्तचाप महिलामा भन्दा पुरुषमा उच्च भएको समेत देखाएको छ।

डा. धिमालका अनुसार अनुसन्धानबाट नेपालमा नसर्ने दीर्घरोगहरूको भार बढी भएको तथा बढ्दो जोखिम तत्त्वहरूले यसको भार बढाइरहेको छ। यसका लागि उचित स्वास्थ्य प्रवर्द्धन र दीर्घकालीन रोगहरूको रोकथामसम्बन्धी कार्यक्रम आवश्यक भएको समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.