|

भद्रपुर, (झापा) : झापामै पहिलो पटक भद्रपुरमा रात्रिकालीन नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। नयाँ वर्ष २०७६ सालको अवसरमा एलेभेन साइनिङ स्टार क्लव भद्रपुरले आयोजना गरेको शनिबार भएको पहिलो खेलमा आयोजक एलेभेन साइनिङ स्टारलाई टाइ ब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै कनकाई फुटबल क्लव सेमीफाइनलमा प्रवेश गरेको हो। खेलमा निर्धारित समयभित्र दुबै टिमले गोल गर्न नसकेपछि टाइ ब्रेकरमा कनकाईले बाजी मारेको हो।

टाइ ब्रेकरमा कनकाईका राहुल लिम्बु, सोनम रिजाल, लक्की मुखिया, रोहन कार्की र एलिन राईले जाली चुमाए। उता एलेभनेका निरज बस्नेत, राजकुमार र उमेश कार्कीले जाली चुमाएपनि विवेक पौडयालले प्रहार गरेको बल बाहिरियो। १८ वर्षमुनिको राष्ट्रिय टिमका ४ जना खेलाडी रहेको कनकाईले एलेभेन साइनिङको मजबुत डिफेन्सलाई चिर्न नसक्दा निर्धारित समयभित्र गोल गर्न सकेन भने आयोजक टिमले पनि पाएका अवसर सदुपयोग गर्न सकेन। 

पहिलोपटक आयोजना गरिएको रात्रिकालीन फुटबलमा दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजक एलेभेन साइनिङ स्टार, मुनाल फुटबल क्लव चन्द्रगढी, श्रीजंगा फुटबल क्लव ज्ञानेचोक, सैनिक फुटबल क्लव, कनकाई फुटबल क्लव, विर्तामोड युनाइटेड फुटबल क्लव, न्यू स्टार फुटबल क्लव खोपबाडी र राजगढ फुटबल क्लव गरी ८ वटा टिमको सहभागिता रहेको छ।

आइतबार बेलुकी न्यू स्टार फुटबल क्लव खोपबाडी र राजगढ फुटबल क्लवबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १ लाख नगदसहित शील्ड र उपविजेताले ५० हजार नगदसहित शिल्ड प्राप्त गर्नेछन्। दुई दशकदेखि प्रतियोगितामार्फत फुटबल खेलको विकास र खेलाडी उत्पादनमा क्रियाशील एलेभेन साइनिङ स्टार क्लवले भद्रपुर माविको मैदानमा रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष दिलीप भुइँमालीले जानकारी दिए। नयाँ वर्ष २०७६ को अवसर पारेर गर्न लागिएको रात्रिकालीन प्रतियोगिता पूर्वमै दोस्रोपटक आयोजना भइरहेको क्लवका अध्यक्ष दिलीप भूइमाली बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.