कोलम्बोमा लगातार दुईवटा विस्फोटन

|

कोलम्बो श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ६ वटा शृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ। मृत्यु हुनेमा ३५ जना विदेशी नागरिकसमेत छन्। विस्फोटका कारण अरू करिब ५०० व्यक्ति घाइते भएका छन्।    

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च विस्फोटमा ६७ जनाको मृत्यु भएको छ।     

सेन्ट एन्थोनी विस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ।    

चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम विस्फोटनका घटना भएको प्रहरीले जनाएको छ। राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि विस्फोट भएका छन्।    

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ।    

बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको विस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।    

विस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ। चर्चको भुइँ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ।    

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरहरूमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ।    

१० दिनअगावै दिइएको थियो चेतावनी   

श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै अलर्ट जारी गरेका थिए । एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए ।    

'एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटीजे) नामको समूहले प्रमुख चर्चहरू र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,' प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ।    

एनटीजे श्रीलंकामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो। यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरूको तोडफोड गरेको पाइएको थियो।    

राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना    

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गरेका छन्। उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यस्तै, प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताए।    

कोलम्बो नजिकको होटलमा पुनः विस्फोट, २ जनाको मृत्यु    

शृङ्खलाबद्ध बम आक्रमणबाट प्रताडित श्रीलंकाको राजधानी कोलम्बोको नजिक देहीवालामा आइतबार अपराह्न पुनः बम विस्फोट भएको छ। विस्फोटबाट दुई जनाको मृत्यु भएको श्रीलंकाली प्रहरीका प्रवक्ताले जनाएका छन्।    

प्रहरी प्रवक्ता रुवान गुनसेकराले आइतबार भएको यो विस्फोट सातौं रहेको जानकारी दिए। यसअघि देशको राजधानी कोलम्बोसहित छ वटा शृंखलाबद्ध विस्फोट भएका थिए।  यस्तै, राजधानी कोलम्बोको उत्तरी ओरुगोदावाट्टामा पनि आठौं विस्फोट भएको छ ।    

विश्वका नेताहरूद्वारा भर्त्सना    

श्रीलंकामा भएको रक्तपातपूर्ण आक्रमणको पाकिस्तान, बेलायत, इजरायल, युरोपेली युनियन समेका मुलुक एवं संस्थाहरुले भर्त्सना गरेका छन्।

कोलम्बोमा कर्फ्यु घोषणा    

श्रीलंकाको राजधानी कोलम्बोमा पुनः दुईवटा बम विस्फोटन भएपछि सरकारले आइतबार साँझदेखि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.