|
फाइल फोटो

दमक, झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू दमक आउने भएपछि तयारी तीव्र पारिएको छ।

साविक क्षेत्र नं. ७ हालको ५ नं. क्षेत्रीय समितिको आयोजनामा हुने शुभकामना आदन प्रदान, सम्मान तथा भवन उद्घाटन कार्यक्रमका लागि मुख्य नेताहरू दमक आउने भएका हुन्। क्षेत्रीय समितिका सभापति तथा कार्यक्रम संयोजक ढुण्डिराज भण्डारीले ९ गते हुने कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छेदार, महामन्त्री सशांक कोईराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरू दमक आउने तय भएको जानकारी दिएका छन्।

सो कार्यक्रमका लागि विभिन्न उपसमितिहरू गठन गरिएको र सबैले तयारी अन्तिम अवस्थामा पुर्‍याएको उनले बताए। सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीको गृहनगरका बासिन्दालाई कांग्रेसका शीर्ष नेताहरूले सरकारका गलत क्रियाकलापबारे प्रष्ट पार्न सबै नेताहरू आउन लागेको उनको भनाइ छ।

सोही सभामा कांग्रेसको नयाँ क्षेत्रीय कार्यालय भवनको पनि उद्घाटन हुने छ। भवन निर्माण समितिका संयोजक शेरबहादुर भट्टराईका अनुसार विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले ३५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको जानकारी दिएका छन्। संघीय सांसद महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यमा भएको पत्रकार भेटघाटमा उनले दमकमा हुने कार्यक्रमले पार्टीभित्र कुनै पनि समस्या नरहेको सन्देशसमेत दिने बताइन्।

यस्तै प्रतिनिधिसभा सदस्यका प्रत्यासी खगेन्द्रपाण्डव अधिकारीले नेपाली कांग्रेसमाथि नै जनताको आशा र भरोसा रहेको भन्दै सरकारका गलत कार्यविरुद्ध कांग्रेसले निरन्तर खबरदारी गरिरहेको उल्लेख गरे।

दमक-६ स्थित पार्टी कार्यालय परिसमा हुने कार्यक्रममा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, भीष्मराज आङ्देम्बे, धनराज गुरुङ, चन्द्र भण्डारी, सरीता प्रसाईं, डीना उपाध्याय लगायतका नेताहरूको पनि उपस्थिती रहने जनाइएको छ। कार्यक्रम सफल बनाउन नगर तथा क्षेत्रका सबै नेता कार्यकर्ता परिचालित भएको नगरसभापति रोशन बिष्टले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.