|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा आइतबार भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले चार स्वर्ण जितेको छ। चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनले दुई स्वर्ण हात पारेको छ। 

महिला ५० मिटर पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लवकी गौरीका सिंहले आफ्नो नाममा रहेको नयाँ रेकर्ड तोडेकी छन्। उनले ब्याकस्ट्रोकमा आफ्नो नाममा रहेको ३१ सेकेन्ड २२ पलको रेकर्डलाई तोड्दै आठौँमा ३० सकेन्ड ८५ पलमामा दूरी पार गरिन्। उक्त विधामा नेपाल पुलिसकी अनुष्का पोख्रेलले ३७ सेकेन्ड ७८ पलमा दूरी पार गरी दोस्रो र यूस्का महर्जनले ३९ सेकेन्ड ६३ पलमा दूरी पार गरि तेस्रो भइन्। त्यसैगरी महिला ८०० मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरी गौरीकाले स्वर्ण पदक हात पारिन्। उनले ९ मिनेट ३९ सेकेन्डमा दूरी पार गरिन्।

उक्त विधामा नेपाल पुलिस क्वलकी सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन्। त्यसैगरी पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनका नाथान दोर्जे श्रेष्ठले स्वर्ण पदक हात पारिन्।उनले ९ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गरेर एपीएफका नासिर हुसैनलाई पराजित गरे। हुसैनल रजत जित्दा एपीएफकै अर्जिन महर्जनले कास्य पद हात पारे। त्यसैगरी महिला २ सय मिटर बटरफ्लाई प्रतियोगितामा त्रिभुवन आर्मीकी दुआना लामाले स्वर्ण हात पार्दा एपीएफ क्लवकी श्रीवि महर्जनले रजत र एपीएफकै दिया स्थापितले कास्यमा चित्त बुझाइन्। आर्मीका लामाले २ मिनेट ४० सेकन्डमा दूरी पार गरिन्। 

पुरुष २०० मिटर बटरफ्लाई पौडी प्रतियोगितामा एनआरएनका नाथान दोर्जे श्रेष्ठले स्वर्ण जिते। उनले २ मिनेट १८ सेकन्ड १० पलमा दूरी पार गरे। २ मिनेट १८ सेकेन्ड ९७ पलमा दूरी पार गरि नेपाल आर्मीका अनुभव सुब्बा दोस्रो भए।तेस्रो भएका नेपाल प्रहरीका सायद हमाज शाहले २ मिनेट २९ सेकेन्डमा दूरी पार गरे। पुरुष ५० मिटर ब्याकस्ट्रोक पौडीमा एपीएफका तेन्जिङ एन.आर. गुरुङले निर्धारित दूरी ३२ सेकेन्ड ८१ पलमा पार गरि स्वर्ण जिते।उनले पनि नयाँ रेकर्ड तोडेका छन्। उनले मिराज प्रजापतिको नाममा रहेको ३३ सेकेन्ड ५७ मिनेटको रेकर्डलाई तोडेका हुन्।

उक्त प्रतियोगितामा प्रदेश ३ का जयन्तप्रकाश गुरुङ दोस्रो भए। उनले ३४ सेकेन्ड १३ पलमा दूरी पार गरे भने नेपाल पुलिसका तरुण भण्डारीले ३४ सेकेन्ड ५९ पलमा दूरी पार गरेर तेस्रो स्थान हासिल गरे। महिला १ सय मिटर ब्रेष्टस्ट्रोक पौडीमा त्रिभुवन आर्मी क्लवका दुवाना लामाले एक मिनेट १८ सेकेन्ड ९३ पलमा दूरी पार गरि स्वर्ण जितिन्। एपीएफकी टिसा शाक्यले एक मिनेट २१ सेकेन्ड ६ पलमा दूरी पार गरी दोस्रो हुँदा आर्मीका उपास्ती महर्जनले एक मिनेट २१ सेकेन्ड ३२ पलमा दूरी पार गरि तेस्रोमा चित्त बुझाइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.