कपिलवस्तु : आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्रगत महिला फुटवल समूह ‘क’ मा त्रिभुवन आर्मी क्लव समूह विजेता बनेको छ।
कपिलवस्तुको बुद्ध रंगशालामा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई ४–० गोल अन्तरले पराजित गर्दै आर्मी समूह विजेता बनेको हो। आफ्ना ४ खेलमा शतप्रतिशत नजिता हासिल गर्दै १२ अंकसहित आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ।
आर्मीसँग पराजित कर्णालीले कुनै पनि खेल जित्न सकेन्। कर्णाली अंक बिहीन हुँदै घर फर्केको छ। कर्णाली सँगको खेलमा आत्मघाती गोलबाट अग्रता कायम गरेको आर्मीको जितमा जर्सी नम्बर २७ कि हेमा चौधरी, २१ की सुस्मिता तामाङ र १७ कि भुजंग राई गोल गरिन्। त्यस्तै प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ ९ अंकसहित समूह उपविजेता बनेको छ।
४ खेल मध्ये ३ मा जित र एकमा हार व्याेहोरेको एपिएफले समूह ‘ख’ को विजेता नेपाल प्रहरीसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ। समूह विजेता बनेको आर्मीले समूह ‘ख’ को उपविजेता प्रदेश ३ सँग खेल्ने छ। कपिलवस्तुमा भएको खेलमा प्रदेश एक र गण्डकी प्रदेशले चार अंक बटुल्दै तेस्राे र चौथो भएका छन्। आइतबारकै पहिलो खेलमा प्रदेश १ र गण्डकीले अंक बाँडेका छन्।
प्रतिस्पर्धात्मक खेलमा दुवैले एकएक गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। महिला फुटवल समूह ‘ख’का खेलहरू बैशाख १० गतेदेखि दाङमा हुनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।