|

इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई पराजित गर्दै रोमान्चक जित निकालेको छ। गएराति भएको खेलमा पुछारको बैंगलोरले चेन्नईलाई १ रनले पराजित गरेको हो।

बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नाईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले ८४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन्। निकै आक्रामक ब्याटिङ गरेका धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए।

चेन्नईलाई अन्तिम ओभरमा २६ रन आवश्यक रहेको बेला धोनीले उमेश यादबको पाँच बलमा ३  छक्का, एक चौका र २ रन जोड्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए। चेन्नेईलाई अन्तिम बलमा जितका लागि २ रन आवश्यकता रहेको थियो। तर, अन्तिम बलमा शार्दुल ठाकुर रन आउट भएपछि चेन्नई १ रनले पराजित भयो। यस्तै अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए।

बैंगलोरका डेल स्टेन र उमेश यादबले २–२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभर खेल्दै ७ विकेट गुमाएर १६१ रन बनाएको थियो। बैंगलोरका लागि प्राथिव पटेलले ५३ रनको अर्धशतकीय इनिङ् खेले। यस्तै मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए। चेन्नईका दिपक चाहर, डयान ब्राभो र रविन्द्र जडेजाले २/२ विकेट लिए।

चेन्नईलाई हराएसंगै बैंगलोरले लिगमा तेस्रो जित निकालेको छ  । बैंगलोरले १० खेलबाट ६ अंक जोडेको छ। बैंगलोर लिगको पुछारमा रहेको छ। पराजित चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ। चेन्नईले १० खेलबाट १४ अंक जोडेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.