|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो। यो एक सय ५८ सिटे जहाज हो।

नयाँ पत्रिका दैनिकका अनुसार यही ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए। उनले भने, ‘भीभीआईपी उडान भएकाले त्यसको प्रक्रियाअनुसार हामीले तयारी गरिरहेका छौँ ।’ परराष्ट्र मन्त्रालयको समन्वयमा जहाज पठाउन लागेको निगमले जनाएको छ। भीभीआईपी उडानमा वरिष्ठ क्याप्टेनसहितको पाइलटको टोली र क्याबिन क्रुको टोली पठाउने तयारी निगमले गरेको छ। 

निगमका अनुसार राष्ट्रपतिको भ्रमणको पहिलो दिन काठमाडौंबाट सियानसम्मको उडान हुने छ । त्यसैगरी, सियानबाट राष्ट्रपतिलाई बेइजिङमा छोडेपछि जहाज काठमाडौ फर्कने तालिका रहेको निगमले जनाएको छ। त्यस्तै, उनलाई लिन फेरि जहाज जानेछ। तिन दिने चार्टर्ड उडानको लागत एक लाख ५० हजार अमेरिकी डलर अर्थात करिब एक करोड ६५ लाख रुपैयाँ हुने निगमका एक अधिकारीले जानकारी दिए। यो रकम सरकारले निगमलाई दिने पनि ती अधिकारीले बताए। 

निगमले राष्ट्रपतिको भ्रमणका आफ्ना जहाज प्रयोग हुने भएपछि आवश्यक पर्ने सबै तयारी थालि सकेको जनाएको छ। साथै भ्रमणका क्रममा प्रयोग हुने विमानस्थलसँग समन्वय थालिसकेको निगमको भनाइ छ। राष्ट्रप्रमुखको औपचारिक विदेश भ्रमणमा निगमको जहाज पठाउन पाएकोमा खुशी लागेको निगमका सहप्रवक्ता कोइरालाले बताए।

राष्ट्रपति भण्डारीको यस भ्रमणमा निगमको जहाज प्रयोग हुँदा राष्ट्रिय ध्वजाबाहकको व्यवसायीक प्रवर्धनमा मद्दत पुग्ने उनको भनाइ छ । राष्ट्रपतिको भ्रमणमा एउटा जहाज प्रयोग हुने भएपछि यस जहाजले गर्ने नियमित रुटको उडानमा निगमकै वाईड बडी थ्रीथर्टी जहाजबाट उडान नियमित गर्ने निगमले जनाएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.