|

चितवन : चितवनको प्रमुख पर्यटकीयस्थल सौराहामा रहेका जिप सफारी, हात्ती सफारी र टाँगा सफारीलाई व्यवस्थित गर्न शुल्क निर्धारण गरिएको छ। पर्यटकको सहजताका लागि र मनलाग्दी शुल्क नियन्त्रणका गर्न शुल्क निर्धारण गरिएको हो।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाको अगुवाइमा व्यवसायी, जनप्रतिनिधि र विभिन्न सरोकारवाला संघसंस्थाको भेलाले जिप सफारीको शुल्क निर्धारण गरेको छ। हात्ती र टाँगा सफारीको शुल्क यसअघि नै तोकिएको थियो। 

यस्तो छ शुल्क

रेवानका अध्यक्ष गोकर्ण गिरीका अनुसार जिप सफारीका लागि प्रतिव्यक्ति ८०० रुपैयाँ शुल्क तोकिएको छ। 

सौराहा जाने पर्यटकलाई जिप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन र बीसहजारी ताल घुमाउने गरिन्छ। दुई घण्टा लाग्ने यी दुई पर्यटकीय स्थानमा जिप रिजर्भका लागि ६ हजार ५०० रुपैयाँ तोकिएको छ।

यसअघि शुल्कमा एकरुपता नहुँदा आफु खुसी शुल्क लिने गरिएको थियो। व्यवसायीहरुले प्रतिव्यक्ति एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म लिँदै आएका थिए। पर्यटक ठगिएको पर्यटक तथा सरोकारवालाहरुले गुनासो गरेपछि जिप सफारीको शुल्क निर्धारण गरिएको छ।

तत्कालका लागि यी लामो दूरीका दुई स्थानमा सञ्चालन हुने जिप सफारीको शुल्क निर्धारण गरिए पनि केही समयपछि सौराहाका अन्य स्थानमा पनि एकरुपता ल्याउने गरी छलफल भइरहेको बताइएको छ।

हात्ती सफारीका लागि आन्तरिक र बाह्य पर्यटकलाई भिन्नभिन्नै शुल्क निर्धारण गरिएको छ। नेपालीलाई प्रतिव्यक्ति एक हजार २५०, भारतीयलाई एक हजार ७५० र अन्य मुलुकका पर्यटकलाई दुई हजार २५० रुपैयाँ शुल्क तोकिएको छ।

सौराहामा कुल ५६ वटा हात्ती सफारीका लागि राखिएको छ। माउतेसहित पाँच जना चढेर घुम्न सकिन्छ। 

यस्तै, सौराहामा आठ वटा टाँगाले सेवा दिइरहेका छन्। टाँगाबाट सौराहाको ब्रिडिङ सेन्टर (हात्ती प्रजनन केन्द्र), थारु म्युजियम, एनिमल म्युजियम लगायतका क्षेत्रमा घुमाउने गरिन्छ। सौराहाका विभिन्न क्षेत्र हुँदै बजार घुम्न दुई घण्टाका लागि प्रतिटाँगा ५०० रुपैयाँ शुल्क तोकिएको छ। एउटा टाँगामा चार जना चढ्न मिल्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.