पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कांस्य, आठौँमा स्वर्ण पदक विजेता

|

‘नाम?’ ‘दुर्गा’। ‘दुर्गा के?’ उसले प्रश्न गर्‍यो। ‘दुर्गा बुढा, जुम्लाबाट आएको। पछाडि विजेता पनि लेख्दिनुहोस्’ हाँस्दै उनले भने।  प्रतियोगिता सुरु हुनुपूर्व उनले विजेता लेख्नुहोस् भन्ने प्रतिउत्तरले धेरैको मन तान्यो। ‘ऊ त गत वर्षको विजेता हो’ भीडबाट कसैले भन्यो। त्यो बेला बल्ल दुर्गाको मुहारमा प्रस्ट मुस्कान देखियो। 

प्रत्येक वर्ष वैशाख १ गते धनगढीमा आयोजना हुने हाफ म्याराथन प्रतियोगितामा सहभागी हुन दुर्गा बुढा जुम्लाबाट धनगढी पुगेका थिए। जेसिसका कमल पनेरुसँग सम्पर्कमा रहेका उनलाई पनेरुले तपाईँ मेरो खर्चमा आउनुहोस् भनेर निम्त्याएपछि उनी आएका हुन्।

‘कमल दाजुले बोलाएर आएको हुँ। नत्र यहाँसम्म आउने खर्च जुटाउनै हम्मेहम्मे पर्ने थियो’ उनले गुनासो गरे। ‘साबिक विजेता र अहिले पनि प्रतियोगिता जित्ने आत्मविश्वास बोकेको व्यक्तिलाई प्रतियोगितामा आउन पनि कठिन हुन्छ र? ’ मैले जिज्ञासा गरेँ। तत्काल उनको केही जवाफ आएन। उनको मौनता नै त्यसको प्रतिउत्तर थियो। केहीबेरमा भने, ‘एउटा जुत्ता किन्न दुई/तीनवटा प्रतियोगिता जित्नुपर्छ सर।’ उनले आफ्नो झोलामा रहेको एक जोर जुत्ता देखाउँदै भने, ‘यो जुत्ता ५० हजारको हो। जस्तो पायो त्यस्तै जुत्ता लगाएर दौडियो भने त समस्या हुन्छ।’ 

प्रतियोगिता प्रारम्भ हुनुपहिले नै चर्चामा आएका बुढा दौडिरहँदा सबैको ध्यान केन्द्रित भयो। उनले प्रतियोगिता मात्रै जितेनन् सबैको मन पनि जिते। एकैनासको रफ्तारले उनलाई विजेता बनायो। बुढाले २१ दशमलव १ किमीको दूरी १ घण्टा सात मिनेटमा पार गरे। गत वर्ष पनि सोही दूरी उनले एक घण्टा ७ मिनेट ८ सेकेण्डमा पूरा गरेका थिए।

स्‍कुल जाँदादेखि दौडने बानी  

सबै तातेताते गर्दै हिँड्न सिक्छन् उनले तातेताते गर्दै दौडन सिके। खुट्टा टेकेर हिँड्न थालेदेखि दुर्गालाई हिँड्ने भन्नेबारे थाहा छैन। ‘स्कुल टाढा थियो सधैँ दौडिएर जानुपर्ने हुन्थ्यो, स्कुल जाँदा समयमा पुग्ने बानीले मलाई दौडिने बानी बसायो’ दुर्गाले बालापन सम्झँदै भने।

जुम्लाको लुमा ३ सिंगामा जन्मिएका दुर्गा बुढा त्योभन्दा ८ किलोमिटर पर कोइलीचरीमा रहेको विद्यालयमा पढ्थे। पहिलोपटक कक्षा ८ मा पढ्दा उनी विद्यालयमा दौडिएका थिए। त्यो बेला प्रथम भए। ‘दौडिँदा पनि पुरस्कार पाइँदो रहेछ भन्ने थाहा पाए, त्यसपछि झन् स्पिडले दौडिन मन लाग्यो’ उनले सुनाए।

बर्दियाको गुलरियामा २०६३ मा क्षेत्रीय दौड प्रतियोगितामा उनी प्रथम भए। त्यसपछि उनको मनोबल थप उच्च भयो। उनी भन्छन्, ‘हालसम्म करिब १ हजार किलोमिटरसम्म दौडिएको हुँला।’ यो अन्तरालमा दर्जनौंपटक विभागीय टोलीलाई पनि उनले पराजित गरेका छन्।

पाँचौँमा कांस्य, आठौँमा स्वर्ण

काठमाडौँमा २०६५ सालमा पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार मिटर र १० हजार मिटर प्रतिस्पर्धामा उनले कांस्य पदकमै चित्त बुझाउनुपर्यो।

‘सबैले टिभीमा हेरिरहेका थिए। त्यो बेला म रोएँ।  आमा बुबाको पनि आँसु झर्‍यो। उहाँहरूको खुसीको आँसु थियो मेरो पीडाको’ भावुक हुँदै उनले सुनाए। उनले भने, ‘तेस्रो हुँदा सबैभन्दा बढी गुरुलाई पीडा भयो तर, उहाँले त्यो पीडा देखाउनुभएन, बरु मलाई सान्त्वना दिनुभयो।’

मिहिनेत र लगनशीलताले दुर्गालाई एक दशकपछि फेरि त्यही स्थानमा पुर्‍यायो। पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कांस्य जितेका दुर्गाले भर्खरै प्रदेश नम्बर ५ मा सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जिते।

१० वर्ष पहिले १० हजार मिटर पुरुष दौडमा कांस्यमा चित्त बुझाएका दुर्गाले १० वर्षपछि त्यसैमा स्वर्ण जिते। उनले ३१ मिनेट ०३ दशमलव १ सेकेण्डमा दूरी पूरा गरेका थिए। धनगढीको प्रतियोगिता पछि सम्पर्कमा नरहेका दुर्गाले स्वर्ण जितेपछि फोन गरे। भने, ‘सर एउटा रहर पूरा भयो। अर्को रहर बाँकी छ।’ ‘के हो र त्यस्तो रहर’ मैले सोधेँ। ‘अब मलाई ओलम्पिकमा पदक चुम्ने रहर छ।’

...त्यसपछि कहिल्यै दोस्रो भएनन्

पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कांस्य पदक चुम्दा उनीमा कुनै उत्साह थिएन। तर त्यो बेला उनलाई जितेकाहरूलाई विस्तारै उनले पछि पार्दै गए।

तेस्रो संस्करणको नेपालगन्ज म्याराथन २०७४ मा उनी प्रथम भए। पहिलोपटक त्यही बेला दुर्गा म्याराथन कुदेका थिए। ४२ दशमलव १९५ किलोमिटर उनले २ घण्टा २६ मिनेटमा पूरा गरे।

अन्तर्राष्ट्रिय म्याराथन दौडिन भारत पुगेका दुर्गा नेपालगन्जमा पनि प्रतियोगिता छ भन्ने थाहा पाएपछि हतार हतारमा नेपालगन्ज पुगेका थिए। उनले भारतमा २१ दशमलव १ किलोमिटर १ घण्टा ३ मिनेटमा दौडिएर प्रथम भएका थिए।

आइतबार भारतमा दौडिएका दुर्गा सोमबार नेपाल आएर मंगलबार नेपालगन्जमा दौडिएका थिए। म्याराथन मात्रै होइन अल्ट्रा म्याराथनमा पनि कैयौँपटक दुर्गाले उपाधि चुमेका छन्। कर्णाली युथ क्लबले आयोजना गरेको ५० किलोमिटरको जुम्दा टू रारा अल्ट्रा म्याराथनमा पनि दुर्गा विजेता बने। त्यो बेला पनि उनले विभागीय टोलीलाई उछिने। ‘अल्ट्राका सारा अन्तर्राष्ट्रिय प्लेयर आएका थिए’ खुसी हुँदै भने, ‘सबलाई मैले पछाडि पारेँ।’

बुधवार भैरहवा १२ किलोमिटर दौडिएका दुर्गा सोही साताको शनिबार ५० किलोमिटरको अन्नपूर्ण  अल्ट्रा म्याराथन दौडिन पुगे। २२ सय मिटरदेखि ४ हजार १ सय मिटरसम्म ३ सय भन्दा बढी स्वदेशी तथा विदेशी धावकलाई पछि पार्दै उनी प्रथम भए। बेस क्याक्प पुगेर ६ घण्टा ३ मिनेटमा उनले त्यो दूरी पार गरेका थिए।

ओलम्पिकमा पदक चुम्ने धोको

स्वदेशका अधिकांश प्रतियोगितामा सफलता हात पारेका दुर्गालाई सबैभन्दा ठूलो धोको के छ त?’ मैले प्रश्न गरेँ। ‘सर यी त मेरा रहर हुन्। मेरो धोको त छुट्टै छ’ उनले भने, ममा उत्सुकता बढ्यो। ‘कस्तो धोको’ उनले फेरि भने, ‘ओलम्पिक खेलेर पदक चुम्ने। अनि विश्वसामु नेपालको राष्ट्रिय धुनमा छाती फुलाएर पदक थाप्ने ठूलो धोको छ। उनको छाती चौडा भयो। तर, उनी कोटामा ओलम्पिक खेल्न नजाने बताउँछन्। उनी भन्छन्, ‘हामी जस्तो अक्षम देशहरूले कोटा निर्धारण गरेको हुन्छ त्यही कोटामा खेल्न जाने प्रचलन छ तर, म क्वालिफाइड भएर मात्रै जान्छु।’

उनले फेरि भने, ‘यदि त्यस्तो भयो भने कि पदक जित्नेछु, यदि पदक जितिन भनेपनि पदक जित्नेलाई टक्कर दिनेछु, त्यो भएन भनेपनि उत्कृष्ट समयमा दूरी पूरा गर्नेछु।’ गत वर्षको ओलम्पिकका लागि २ घण्टा १७ मिनेटमा क्वालिफायर समय थियो। तर, आगामी वर्षको लागि क्वालिफायर २ घण्टा १२ मिनेट निर्धारण गरिएको छ। उक्त समयमा दूरी पार गर्ने धावक नै क्वालिफायर हुन्छन्। 

४२ किलोमिटरको दूरी २ घण्टा १२ मिनेटभित्र पार गर्ने योजना रहेको   छ। त्यो समयमा हालसम्म नेपालबाट कसैले पार गर्न सकेका छैनन्। वैकुण्ठ मानन्धरले उक्त दूरी २ घण्टा १५ मिनेट १४ सेकेण्डमा पार गरेका थिए। मानन्धरले साफमा बनाएको रेकर्ड अझै कायम छ।

‘२ घण्टा १२ मिनेट भन्दा छिटो दूरी पार गरेँ भने मेडल पाउन सक्छु। १२ देखी १५ मिनेटसम्म भयो भने २०/२५ मा पर्न सक्छु’ उनले भने, ‘विश्वका उत्कृष्ट ३ सयभन्दा बढी सहभागी प्रतियोगितामा ३० जना  भित्र परे पनि धेरै ठूलो कुरा हो।’ दुर्गा सन् २०२० को ओलम्पिकको तयारीमा छन्। यसपटक उनी क्वालिफायर हुन नसके २०२४ मा क्वालिफायर भएर खेल्ने र पदक चुम्ने उनको धोको छ।  

आफ्नै गुरुको रेकर्ड तोड्ने सपना 

दुर्गाका गुरु हरि रोकाया हुन्। हरि यस्ता धावक हुन् जसले दौडिएर विश्व कीर्तिमानी बनाए। संसारकै सबैभन्दा अग्लो ठाउँमा हुने एभरेस्ट म्याराथन विश्वको प्रसिद्ध म्याराथन मध्येको एक हो।

सगरमाथाको आधार शिविर (५१८४ मिटर उचाइ)बाट सुरु भई ३४४६ मिटरको नाम्चे बजार सम्मको एभरेस्ट म्याराथनमा सहभागिताको क्रममा सन् २००० मा रोकायाले राखेको ३ घण्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमान गिनिज बुक अफ द वर्ल्‍ड रेकर्डमा उल्लेख छ। सन् २००० मा विश्व कीर्तिमान राखे पनि उनले छ पटक एभरेस्ट म्याराथनमा सहभागिता जनाएका छन्। जसमा सन् १९९७, १९९९ र २००० गरी उनले तीनपटक उपाधि उचालेका थिए।

एभरेस्ट म्याराथनको तीनपटक उपाधि उचाल्दै ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी हुन्। लगातार तीनपटक उपाधि उचालिसकेको भए पनि सन् २००२ मा भने सोही म्याराथनमा इन्ट्री शुल्क तिर्न नसकेका कारण उनले सहभागिता जनाउन सकेनन्। आफ्नै गुरुको रेकर्ड तोड्ने धोको छ बुढालाई। एक दशक पहिले उनी दुई पटकसम्म त्यसमा सहभागी भएका छन्। विक्रम संवत् २०६५ मा उनी आठौँ भए भने २०६५ मा छैठौँ भएका थिए।

‘त्यो बेला कम उमेर थियो। त्यसैले पनि केही कठिनाइ भयो’ उनले भने, ‘तर मेरो गुरु नै भन्नुहुन्छ मेरो रेकर्ड दुर्गाले तोड्छ।’ उनीसँग मात्रै होइन यो कुरा रोकाया प्राय सबैलाई भन्छन्। सबै भन्दा छिटो दौडिएर हरि रोकायाले बनाएको रेकर्ड त्यो भन्दा पनि छिटो दौडिएर उनकै चेलाले तोड्ने सपना बोकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.