|

रामेछाप : सदरमुकाममा रहेको मन्थली एयरपोर्टमा तारा एयरको विमान दुर्घटना भएको छ। तारा एयरको नाइन एमकेके कलसाइन विमान मन्थली विमानस्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा मानवीय क्षति हुनबाट भने जोगिएको छ।

काठमाडौंबाट १४ जना विदेशी पर्यटक बोकेर सोलुखुम्बुको लुक्ला उडेको विमान मौसम खराबीको कारण लुक्लामा अवतरण हुन नसकेपछि मन्थली विमानस्थलमा अवतरणको लागि फर्किएको थियो।

विमानमा सवार यात्रुहरु र चालक दलका सदस्यहरु सबै सकुसल रहेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए।

विमान धावन मार्गमा आइपुग्नुभन्दा करिब एक किलोमिटर परदेखि नै असन्तुलित रुपमा आएको प्रत्यक्षदर्शी स्थानीय युवराज श्रेष्ठको बताए। धावन मार्गबाट करिब ६० मिटरको दूरीमा रहेको कृषकको तरकारी बारीमा थांग्रोको रुपमा गाडिएको सिमेन्टको पिलरमा ठोकिएपछि विमान बढी असन्तुलित भएको प्रत्यक्षदर्शीको भनाई छ।

विमानको आगाडिको टायरले ठोक्किएर कृषकको तरकारी बारीमा गाडिएको ९ वटा पिलर भाँच्दै विमान धावन मार्गमा प्रवेश गरेको थियो। विमानको हाइड्रोलिक फेल भएर ब्रेक नलागेपछि दुर्घटना भएको स्रोतले बताएको छ। दुर्घटनाबाट विमानको अगाडिको भागमा क्षति पुगेको छ।

विमान दुर्घटनापछि मन्थलीबाट सोलुखुम्वुको लागि हुने सबै उडान बन्द गरिएको छ। समाचार संकलनको लागि विमानस्थलमा प्रवेश गर्न पत्रकारलाई समेत रोक लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.