|

काठमाडौं : अन्तर्राष्ट्रिय प्रांगारिक विज्ञ सम्मेलन काठमाडौंमा गरिने भएको छ। रासायनिक मल र विषादी निरुत्साहित गरी प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको हो।

प्रांगारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। सम्मेलन आगामी वैशाख ३१ र ज्येष्ठ १ गते काठमाडौंमा हुन लागेको कार्यदलका सदस्य सचिव डा. गंगा आचार्यले जानकारी दिए। आचार्यका अनुसार भारत, भुटान, क्युबा, र स्पेनका प्राङगारिक विज्ञ आउने भएका छन्। 

सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब १५० जना विज्ञको सहभागिता रहने कार्यदलले जनाएको छ। सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ। कार्यक्रम प्रधानमन्त्री के पी शर्मा ओलीले उद्घाटन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने आचार्यले बताए। 

सम्मेलनबाट आएका सुझावलाई समेटेर कार्यदलले प्रतिवेदन तयार गरी जेठको पहिलो हप्तासम्म प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ। प्रांगारिक खेतीलाई प्रवर्द्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलले अहिलेसम्म सातै प्रदेश र उपत्यकामा गरी १० वटा अन्तरक्रिया गरेर सुझाव संकलन गरेको कार्यदलका सदस्य  कृष्णप्रसाद पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.