|

कैलाली: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले यसै वर्षमा सबै हालिया/कमैयाको पुनर्स्थापनाको काम सकिने दाबी गरेकी छन्। 
मन्त्रालयले सोमबार धनगढीमा आयोजना गरेको मुक्त हालिया तथा मुक्त कमैयाको पुनः स्थापनाको सम्बन्धमा रणनीति तय गर्ने छलफल कार्यक्रम’मा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्। 

मन्त्री अर्यालले अब कमैया हालियाको समस्या यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी मन्त्रालय लागेको दाबी गरेकी छन्।  सुदूरपश्चिम प्रदेशका ९ जिल्ला र कर्णाली प्रदेशका ३ जिल्लामा रहेका हालिया तथा कमैयाको समस्या समाधान गर्न सरकार लागेको उनको भनाइ छ। कसैलाई कमैया, हालियाको पहिचान दिएर उनीहरूलाई लामो समयसम्म पहिचान दिइरहनु उनीहरूको अपमान भएको भन्दै मन्त्री अर्यालले उनीहरूको पुनर्स्थापना सम्पन्न गरेर सीपमूलक रोजगार मूलक कार्यक्रममा सहभागी गराउनुपर्ने बताइन। 

संघीय सरकारले थालेको हालिया/कमैयाको पुनर्स्थापनाको कार्य स्थानीय सरकारको सहयोग बिना सम्पन्न हुन नसक्ने भन्दै मन्त्री अर्यालले हालिया/कमैया नभएका गलत व्यक्ति सूचिकृत भएको र सूचिकृत हुनुपर्ने व्यक्तिहरू छुटेको भन्ने कुरालाई हेर्नुपर्ने बताए।  ‘अब पनि सूचिकृत गर्ने र ढिलो गर्ने कुरा राम्रो कुरा होइन । यो कुराबाट छिटो छुटकारा गर्ने हो’, मन्त्री अर्यालले भनिन्, ‘हिजो कमैया, हालिया नबसेकाहरूले कमैया हुँ भनेर नाम लेखाए भन्ने कुरा छ । यसबारेमा छानबिन गरेर पठाउनुस् सूचिबाट नाम हटाइन्छ । सँगै अहिलेसम्म पनि सम्पर्कमा नआउनेहरूको अब नाम काटिन्छ ।’ 

सम्पर्कमा नआएका र गलत व्यक्तिले हालिया/कमैया भनेर नाम लेखाएकाहरूको नाम तत्काल काटेर पुनर्स्थापना गरिने मन्त्री अर्यालले बताइन्।  तर, यसै आर्थिक वर्षमा हालिया/कमैयाको पुनर्स्थापना कार्य सम्पन्न गरिने भन्दै उनले अर्को वर्षदेखि मुलुकमा हालिया/कमैयाको विषयमा पुनः चर्चा नहुने समेत बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.