|

पर्वत : सादा पोसाकको घुमुवा प्रहरी भएको परिचय दिँदै चोरीमा संलग्न जलजला गाउँपालिका ६ शालिजाका २१ वर्षीय रेसम सुवेदीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पक्राउ परेका सुवेदीले आफू सादा पोसाकको प्रहरी भएको र विभिन्न घटनामा संलग्न व्यक्तिहरूलाई खोजी गर्नका लागि गाउँमा आएको बताउँदै स्थानीयका घर र कोठाहरूमा पसेर चोरी गर्दै आएका थिए।

उनले बागलुङ नगरपालिका १४ बलेवा बस्ने छत्रमान सुवेदीको घर कोठाबाट एक थान मोबाइल र नगद ३३ हजार, पर्वतको कुस्मा नगरपालिका २ खुर्कोट बस्ने गायत्री उपाध्यायको घरबाट नगद ६ हजार, जलजला गाउँपालिका ३ माझफाँट बस्ने लक्ष्मी जीसीको घरबाट ६ हजार नगद सहित एक तोलाको सुनको सिक्री र आधा तोलाको सुनको बेरुवा औँठी लगायतका जिन्सी तथा नगद चोरी गरेका थिए।

सुवेदी यसअघि २०७२ मङ्सिरमा चोरीसम्बन्धी कसुरमा नै नियन्त्रणमा रहेर पर्वत जिल्ला अदालतबाट तीन वर्ष कैद सजाय भुक्तान गरेर २०७५ माघमा छुटेका थिए। पटक पटक एउटै घटनामा संलग्न रहेको पाइएपछि पर्वत प्रहरीले आरोपित सुवेदीलाई चोरीसम्बन्धी कसुर मुद्दामा अनुसन्धानको लागि पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.