|

कञ्चनपुर : भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको ‘झिलमिला ताल’ पर्यटकको आकर्षण बन्दै गएको छ। गर्मी समयमा बिदा मनाउन आन्तरिक पर्यटकहरु यस क्षेत्रमा पुगेर प्रकृतिको आनन्द लिने गरेका छन्।
 

जिल्ला सदरमुकाम भीमदत्तनगरबाट २५ किलोमिटर उत्तरी क्षेत्रमा पर्ने झिलमिला ताल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ। समुद्र सतहदेखि करिब ६८० मिटर उचाइमा रहेको तालको चारैतिरका डाँडा हरियो वनले ढाकिएका छन्। यस तालले दिनमा तीन पटक रंग फेर्ने बताइन्छ। यहाँ एकै जात र एकै आकारका कालो रंगका माछा विचरण गरिहेको दृश्य हेर्नुको मज्जानै बेग्लै छ। तालको चारैतिर जंगल, रुख बिरुवाले ढकमक्क ढाकेको भए पनि तालको पानी कञ्चन रहने गरेको छ। तालमा पातपतिङ्गर कतै पनि देख्न पाइँदैन।

ताल क्षेत्रमा पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ। पर्यटकलाई सहज रुपमा तालसम्म पुग्न सडक निर्माण भइरहेको छ। यस वर्ष मटेनाबाट चार किलोमिटर सडक कालोपत्रे बनाउने काम अघि बढेको छ। अर्को वर्ष ताराकोटसम्म त्यसलाई बिस्तार गरिने नगर प्रमुख सुरेन्द्र विष्टले बताए। 

ताराकोटबाट तालसम्मको झण्डै एक किलोमिटर बाटोमा पदमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ। सुदूरपश्चिम प्रदेश उद्योग, वन, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले तालको परिक्रमा पथ र सोलार बत्ती जडानसहितका कार्यका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए। ‘यो ताल प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसाबले निकै महत्वपूर्ण छ,’ उनले भने, ‘तालमा छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउने गरेका छन्।’

नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको छ। यो घोषणा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित झिलमिला ताल, भम्केनी धाम, विष्णु मन्दिर साकेतधाम, रौटेला, बाराकुण्डा, झोलुङ्गे पुल लगायतका धार्मिक पर्यटकीय स्थललाई मध्यनजर गरी गरिएको हो। तालको संरक्षणका लागि यस वर्ष राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसित सहकार्य गरी तालको पश्चिमी किनारमा चेकडयाम (तटबन्ध) बनाउन लागिएको छ। 

यसका लागि १५ लाख रुपैयाँ बजेट खर्च हुने भएको छ। एक हजार १२५ मिटर लम्बाइको परिक्रमा पथमध्ये यस वर्ष २०० मिटर थप निर्माण गरिएको छ। घना जङ्गलको विचमा रहेको यो १७ मिटर गहिराको यो तालको लम्बाइ ५०० मिटर र चौडाइ ३५० मिटर छ। २०७२ सालमा तालको लम्बाइ, चौडाइ र गहिराइ मापन गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.