|

काठमाडौं : २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट ध्वस्त भएका विद्यालय भवनमध्ये ४ हजार ४७६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ।

उक्त भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९२३ विद्यालय क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त भवनहरुमध्ये १ हजार ७७२ भवनहरु निर्माणाधीन अवस्थामा छन् भने ३९८ विद्यालय भवन पुनर्निर्माणका लागि छनोटमा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ।

इकाइका अनुसार उक्त भूकम्पबाट क्षति भएका विद्यालयका २१ हजार १६९ कक्षाकोठा पूर्णरूपमा ध्वस्त भएका थिए भने १२ हजार ५२२ कक्षाकोठा अधिकरूपमा क्षति पुगेको थियो। त्यस्तै १५ हजार ९९० कक्षाकोठामा आंशिकरूपमा मात्र क्षति पुगेको थियो। ती विद्यालयमध्ये करिब ३७० विद्यालयहरू मर्ज भइसकेका छन्।

भूकम्पले विद्यालय भवनहरू पूर्णरूपमा तहसनहस बनाएपछि केही समय अस्थायीरूपमा त्रिपालको प्रयोग गरी पठनपाठन गराइएको थियो। भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण को काम पनि त्यही समयबाटै गरिएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकको मातहतमा रहेको इकाइले ०७३ सालबाट मात्र विद्यालय पुनर्निर्माण सुरु गरेको थियो। इकाइ प्रमुख इमनारायण श्रेष्ठले भने, ‘इकाइ गठन भएपछि हालसम्म ४ हजार ४७६ विद्यालयको पुनर्निर्माण पूर्णरूपमा सम्पन्न भएको छ।’ उनले अहिलेसम्म निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माणका लागि छनोटमा परेका विद्यालय गरी ६ हजार ६४६ विद्यालय बन्ने सुनिश्चितता भइसकेको बताए।

विद्यालय भवन पुनर्निर्माणका लागि हालसम्म एडिबीले २९, जाइकाले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ। त्यस्तै, युएसआइडीले २, नेपाल सरकारले २५, गैरसरकारी संस्थाले १० अर्ब रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ। भारत सरकारले ५ अर्ब र चीन सरकारले ३ अर्ब २० करोड र जेएफपीआरबाट ८० करोड रुपैयाँ उपलब्ध भएको छ। बाँकी विद्यालय पुनर्निमाणका लागि २७ देखि ३० अर्बसम्मको बजेट आवश्यक हुने पुनर्निमाण प्राधिकरणको अनुमान छ।

व्यवस्थापन समितिमार्फत साढे तीन हजार विद्यालय पुनर्निर्माण   

प्राधिकरणका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत सबैभन्दा बढी विद्यालयको पुनर्निर्माण भएको छ। समितिले ३१ जिल्लाका ६ हजार विद्यालयको पुनर्निर्माण गर्ने लक्ष्य लिएको थियो। त्यसमध्ये अहिलेसम्म तीन हजार ५८३ विद्यालयको पुनर्निर्माण गरिसकेको छ भने एक हजार २२२ विद्यालय बनाइरहेको छ। त्यस्तै, २०३ विद्यालयलाई निर्माणका लागि छनोट गरिसकेको छ। विद्यालय पुननिर्माणमा समितिले १५ अर्ब खर्च गरिसकेको छ। ६ अर्ब बाँकी विद्यालय बनाउनका लागि छुट्टाइएको छ। समितिलाई शिक्षा मन्त्रालयले ९ अर्ब र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ अर्ब सहयोग गरेको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ।

भूकम्प आपतकालीन सहायता आयोजनाबाट विद्यालय पुनर्निर्माण

भूकम्प आपतकालीन सहायता आयोजनाले ७७ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न गरेको छ। यस आयोजनाले १५४ विद्यालयको पुनर्निर्माण गर्ने लक्ष्य लिएको छ। पुनर्निर्माणका लागि बजेट ९ अर्ब रहेको छ। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, काठमाडौं, भक्तपुर यो आयोजनाको कार्यक्षेत्र हुन्।

भारत सरकारको सहयोगमा विद्यालय पुनर्निर्माण

भारत सरकारकोे भूकम्पबाट क्षति भएका प्रतिजिल्ला १० विद्यालयको दरले ७० विद्यालयको पुनर्निर्माण गर्ने लक्ष्य रहेको छ। गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, काभ्रे भारत सरकारले पुनर्निर्माण गर्ने जिल्लाहरू हुन्। हाल नुवाकोटका ५ विद्यालय र गोरखाका ३ विद्यालय गरी ८ विद्यालयको निर्माण कार्य सुरु भएको छ। भारतले बनाउने विद्यालयको खर्च पाँच अर्ब लाग्ने अनुमान गरिएको छ।

चीन सरकारको सहयोगमा विद्यालय पुनर्निर्माण

चनि सरकारले भूकम्प प्रभावित ४ जिल्लाका ७ विद्यालयलाई पुनर्निर्माण गर्ने लक्ष्य लिएको छ। यसका लागि ३ अर्ब बजेट छुट्टाइएको छ। चिनियाँ टोलीबाट दरबार हाइस्कुल, सिन्धुपाल्चोकका दुई  विद्यालय, रसुवाका दुई विद्यालय र दोलखाका दुई विद्यालय गरी ७ विद्यालयको फिजिविलिटी सर्भे सम्पन्न भएको छ। दरबार हाइस्कुल आगामी डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्य छ। हिमाली विद्यालय कार्यक्रम अन्तर्गतका ६ विद्यालयमध्ये दुई विद्यालय (लमजुङ र सिन्धुपाल्चोक) निर्माण बाँकी रहेको छ भने अन्य ४ विद्यालयको निर्माण अझै सुरु नभएको प्राधिकरणले जनाएको छ।

भूकम्प प्रभावित समुदायका लागि विपद जोखिम न्यूनीकरणबाट विद्यालय पुनर्निर्माण

भूकम्प प्रभावित समुदायका लागि विपद जोखिम न्यूनीकरण तथा जीवनयापन पुनस्थापना परियोजनाले ८ विद्यालयको पुनर्निर्माण गर्ने लक्ष्य लिएको छ। यसले ८ वटा जिल्लाहरू देलखा, रामेछाप, गोरखा, धादिङ, ललितपुर, नुवाकोट, रसुवा र मकवानपुर जिल्लाका एक एक विद्यालय बनाउने लक्ष्य राखेको हो।  यसका लागि बजेट ८ करोड रहेको छ। अहिलेसम्म औसतमा ७८ प्रतिशत काम सम्पन्न गरिसकेको छ।

आपतकालीन विद्यालय पुनर्निर्माण आयोजनाबाट विद्यालय पुनर्निर्माण

यस आयोजनाले ललितपुर, गोरखा, धादिङ, नुवाकोट, मकवानपुर गरी जम्मा ६ जिल्लाका २३६ विद्यालयको पुनर्निर्माण गर्ने लक्ष्य लिएको हो। यसका लागि बजेट १४ अर्ब छुट्टाइएको छ। बजेटका लागि जाइका ऋण र नेपाल सरकारले १८ प्रतिशत सहयोग गरको प्राधिकरणले जानकारी दिएको छ। यस आयोजनाबाट ५८ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने १७८ विद्यालयहरु निर्माणधीन छन्। आर्थिक वर्ष ७६/७७ सम्ममा सबै विद्यालय भवनको निर्माण कार्य सम्पन्न गराउने आपतकालीन विद्यालय पुनर्निर्माण आयोजनाको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.