'केही दल र पूर्वराजा महाराजाले परिवर्तन उल्ट्याउने गन्ध छरिरहेका छन'

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबन्धित नेकपाका प्रमुख नेत्रविक्रम चन्द विप्लव आदिवासी जनताजाती र संघीयताको पक्षमा नभएको बताएका छन।

राजधानीमा मंगलबार आयोजित आदिवासी आयोगका मुद्दा, चासो र अधिकारका बारेमा उच्चस्तरीय बहस कार्यक्रममा अध्यक्ष प्रचण्डले अधिकारका लागि अब हतियार उठाउन आवश्यक नभएको बताएका छन। उनले अब हिंसाबाट अधिकार प्राप्त हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने धारणा राखे।

विप्लव विगतदेखि नै संघीयता र जनजातीको पक्षमा नभएको प्रचण्डको भनाइ थियो। उनले भने, 'विप्लवहरूले जे भन्न खोजेका छन, जनजातीको पक्षमा छैनन् है बुझिराख्नु है। संघीयता ठीक होइन भन्नेमा उनीहरू छन, पहिले देखि नै।'

अध्यक्ष प्रचण्डले मुलुकमा भइरहेका पछिल्ला गतिविधिले परिवर्तनलाई संस्थागत गर्न नदिन प्रयास भइरहेका देखिएको धारणा राखे। उनले आफू अमेरिका जाँदा भएका गतिविधि र मुलुकमा पूर्वराजादेखि केही राजनीतिक दलहरूले गरिरहेका गतिविधिले नेपालको इतिहासदेखि भइरहेको अस्थिरतालाई सम्झाएको बताए। उनले भने, 'यहाँका पूर्वराजा महाराजाले गर्न भन्न खोजेका कुराहरू, हिँड्न खोजेका बाटा र गर्न खोजेका गतिविधिले पार्टीहरू भित्रै पनि बिस्तारै बिस्तारै आउन खोजेका ट्रेन्डहरू हेर्छु, कहीँ न कहीँ त्यस खालको गतिविधि बनाउने कसरत भइराखेको गन्ध आउछ। यसलाई रोक्न सक्ने तागत र हिम्मत हामीसँग छ।'

२००७ सालमा विपीले गरेको क्रान्तिलाई २०१७ सालमा उल्ट्याइएको र २०४७ सालमा गणेशमानसिंहहरूले गरेको परिवर्तन संस्थागत हुन नपाउँदै उल्टिएको प्रचण्डको भनाइ थियो। उनले नेपालमा ८-१० वर्षमा राजनीतिक परिवर्तन उल्ट्याइने गरेको बताए। उनले २०६२ मा भएको परिवर्तन गुणात्मक भएको भन्दै यसलाई उल्ट्याउन खोज्नेलाई रोक्ने क्षमता आफूहरूसँग भएको पनि बताए। '२०६२ मा फरक भयो। यो गुणात्मक परिवर्तनको संकेत हो। १२-१३ वर्षपछि बिस्तारै बिस्तारै ऐन, कानुन बनाउँदा डाइल्युसन हुने हो कि भन्ने जस्तो भयो', उनको भनाइ थियो, 'हामीले यसरी गयो भने समृद्ध नेपाल सुखी नेपालीको यात्रा पूरा नहुने हो कि भन्ने शंका लागेको छ।'

मुलुकमा रहेका आदिवासी जनजातीको पक्षमा विगतमा विद्रोह गर्नुपरेको र संविधानमा पनि ती समुदायका पक्षमा आफूले फरक मत राखेको भन्दै प्रचण्डले थारु, दलित, मुस्लिम, समावेशी, आदिवासी आयोगहरूलाई सबल बनाउनुपर्ने धारणा राखे। उनले अधिकार प्राप्तिका शान्तिपूर्ण प्रदर्शन गर्नुपर्ने र नेतृत्वलाई बेलाबेला झक्झक्याइरहनुपर्ने धारणा राखेका थिए।

भिडियोः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.