कसैलाई दाहोरो जिम्मेवारी, कोही 'बेरोजगार'

|
जिल्ला कमिटी एकता घोषणा कार्यक्रममा नेकपाको केन्द्रीय सचिवालय सदस्यहरू

बुटवल : पार्टी एकता घोषणा भएको करिब एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला अध्यक्ष र सचिवहरूको टुंगो लगाए पनि केही नेता तथा कार्यकर्ताले तीव्र असन्तुष्टि जनाएका छन्।

पार्टी एकीकरणपछिको सचिवालय बैठकले पार्टी एकीकरणको आधार ‘एक व्यक्ति र एक पद’ को मापदण्ड तय गरेको भए पनि त्यसमै विवाद उत्पन्न भएपछि जिल्ला कमिटी गठन पछि धकेलिएको थियो।

आइतबार पूर्ववत जिल्ला अध्यक्षलाई निरन्तरता दिने निर्णय गरेपछि जिल्ला पदाधिकारी त तोकिए तर जिल्ला तथा स्थानियस्तरका केही नेता तथा कार्यकर्ताले पार्टीको यो निर्णय गलत भएको प्रतिक्रिया दिएका छन्।

प्रदेश ५ मा यो असन्तुष्टि देखिएको छ। यहाँ तत्कालीन एमालेका जिल्ला अध्यक्षहरू अधिकांश जनप्रतिनिधी छन्। पार्टीले एक व्यक्ति एक पदको मापदण्डलाई लत्याएपछि जनप्रतिनिधिका रूपमा रहेका जिल्ला नेताहरूले दोहोरो पदीय जिम्मेवारी पाएका छन् भने केही नेताहरूले सिफारिस भएर पनि पदीय जिम्मेवारी पाउन सकेनन्।

रुपन्देहीमा सचिव चयन भएका तत्कालिन माओवादी नेता दधिराम न्यौपानेले आफूले पाएको जिम्मेवारीप्रति तीव्र असन्तुष्टी व्यक्त गरे। तत्कालिन माओवादीको जिल्ला ईन्चार्ज, केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्यसमेत भइसकेका न्यौपानेले आफूलाई सचिव पद स्वीकार्य नभएको बताए। न्यौपानेले पदाधिकारी चयनको यो प्रक्रिया नै गलत भएको बताए।

जिल्लामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पुनः एक पटक जिल्ला अध्यक्षको जिम्मेवारी पाएका छन्। रुपन्देहीमा अध्यक्षको लागि गोपाल भट्टराई र नारायण जिसीको नाम सिफारिस भएको थियो। सचिवालयको आइतबारको बैठकले नाम परिवर्तन गरेर निर्णय गरेपछि असन्तुष्टि देखिन थालेको हो।

अर्घाखाँचीमा तत्कालिन एमालेबाट प्रदेश सांसद चेतनारायण आचार्य अध्यक्ष बनेका छन् भने तत्कालिन माओवादी केन्द्रबाट सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर विक सचिव बनेका छन्। गुल्मीमा छत्रकोट गाउँपालिकाका अध्यक्ष तत्कालिन एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्त अध्यक्ष बनेका छन्। पाल्पामा तत्कालिन एमालेबाट नारायण आचार्य र बाँकेमा तत्कालिन माओवादी केन्द्रबाट इन्द्रप्रसाद खरेल (आइपी) अध्यक्ष भएका छन्। उनीहरू दुवै जना प्रदेश सांसद हुन्।

रुपन्देहीबाट प्रस्तावित अध्यक्ष गोपाल भटराई र अर्घाखाचीबाट प्रस्तावित अध्यक्ष पिताम्बर भुसाल अध्यक्ष हुन नपाएपछि पार्टीले गरेका केही निर्णय असामान्य भएको बताए। 

यसै गरी पश्चिम नवलपरासीका केही नेता र कार्यकर्ताहरूले जिल्ला तहमा समानन्तर कमिटी गठन गर्ने चेतावनीसमेत दिएका छन्। पश्चिम नवलपरासीमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष घनश्याम यादवलाई अध्यक्ष र तत्कालीन एमालेका संगठन विभाग प्रमुख एंव सचिव थानप्रसाद गैरेको नाम जिल्ला सचिवमा सिफारिस गरिएको थियो। केन्द्रीय सचिवालयले नाम परिवर्तन गरेपछि जिल्लामा असन्तुष्टि बढेको एक नेताले बताए।

पश्चिम नवलपरासीमा अध्यक्षको जिम्मेवारी तत्कालीन माओवादी केन्द्रका भविश्वर तिवारीलाई दिइएको छ। तिवारी तत्कालीन माओवादीको जिल्ला इन्चार्ज थिए। सचिवको जिम्मेवारी तत्कालीन एमालेका जिल्ला सचिव तुलसी पासीलाई दिइएको छ। 

प्रदेश ५ बाट सचिवमा घटुवा हुनेमा बाँकेका अशोक कोइराला, बर्दियाका हरि ज्ञवाली, रोल्पाका हरिप्रसाद घर्ती, रुकुमका विमलकुमार पुन र नवलपरासी पश्चिमका तुलसी पासी रहेका छन्।

उक्त निर्णय अनुसार प्रदेश ५ का कुल १२ जिल्लामध्ये ५ जिल्लामा तत्कालिन माओवादी अध्यक्ष रहेका छन्। बाँकेमा आइपी खरेल, बर्दियामा भवनकुमार थारु, रोल्पामा सुरेन्द्र घर्ती, पूर्वी रुकुममा मेघबहादुर श्रेष्ठ र नवलपरासी पश्चिममा भविश्वर तिवारी रहेका छन्। 

त्यसै गरी माधव नेपाल पक्षकै असहमतीका कारण विवादमा रहेको दाङ जिल्ला कमिटीको अध्यक्षमा टिकाराम खड्का अध्यक्ष भएका छन। त्यहाबाट प्रस्तावित शिव आचार्य बाहिरीएका छन्।

नेकपाका स्थायी समिति सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तत्कालिन एमाले तर्फ बहालवाला अध्यक्षलाई अध्यक्ष वा सचिवको जिम्मा दिनेगरी पार्टी एकता टुंगीएको भन्दै सामाजिक सञ्जाल मार्फत नेतृत्वलाई धन्यवाद दिएका छन।

प्रदेश ५ का कुन जिल्लामा को बने अध्यक्ष :

बाँके : आइपी खरेल (तत्कालिन माओवादी)

बर्दिया : भवनकुमार थारु (तत्कालिन माओवादी)

रोल्पा : सुरेन्द्र घर्ती (तत्कालिन माओवादी)

पूर्वीरुकुम : मेघबहादुर श्रेष्ठ (तत्कालिन माओवादी)

नवलपरासी पश्चिम : भविश्वर तिवारी (तत्कालिन माओवादी)

रुपन्देहीः : शिवराज सुवेदी (तत्कालिन एमाले)

अर्घाखाँची : चेतनारायण आचार्य (तत्कालिन एमाले)

दांङ : टिकाराम खड्का (तत्कालिन एमाले)

पाल्पा : नारायण आचार्य (तत्कालिन एमाले)

कपिवस्तु : झविलाल पोखरेल (तत्कालिन एमाले)

गुल्मी : मधुकृष्ण पन्त (तत्कालिन एमाले)

प्युठान : तुलसीराम शर्मा (तत्कालिन एमाले)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.