१ वर्षदेखि प्रमुखविहीन

|

संखुवासभा : संखुवासभाको जिल्ला अस्पताल एक वर्षदेखि कार्यालय प्रमुख छैनन्। कार्यालय प्रमुखविहीन हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ। जिल्ला अस्पतालमा आउने अधिकांश प्रमुख कर्मचारीको आन्तरिक विवादले बस्न नसक्ने बताउँदै अस्पताल छाड्ने गरेका छन्। 

जिल्ला बाहिरबाट आएका कार्यालय प्रमुख कर्मचारीको विवादले कार्यकाल नसकिँदै छोटो समयमै सरुवा भएर जाने गरेका छन्। जिल्ला अस्पतालका कर्मचारीसँग विवाद भएपछि प्रमुख डा. विनितकुमार झा एकवर्ष अघि सरुवा भएर गएका हुन्। डा. झा मात्र होइन जिल्ला अस्पतालमा यस अघि डा. बिष्णुबहादुर बस्नेत, डा. दयाशंकरलाल कर्णलगायत कार्यकाल पूरा नहुँदै सरुवा भएर गएका थिए। 

प्रमुख नहुँदा अस्पताल ब्यवस्थापन सेवा प्रवाह समेत अस्तब्यस्त हुन पुगेको छ। जिल्ला अस्पताल विभिन्न कारणले बेला बेलामा चर्चामा आउने गरेको छ। कर्मचारीले भने अनुसारको लाभ नदिएको भन्दै कार्यालय प्रमुखमाथि हातपात समेत भएको थियो। कर्मचारीको खिचातानी र विवादले अस्पतालको सेवा प्रवाह समेत खस्कँदै गएको छ। दक्ष चिकित्सक भए पनि प्रभावकारी सेवा नभएको भन्दै सेवाग्राही निजी स्वास्थ्य संस्था जानु परेको सेवाग्राहीको गुनासो छ।

जिल्ला अस्पतालमा ५० शय्याको भएपछि ११ औ तहको चिकित्सक हुनु पर्ने भए पनि आठौं तहका मेडिकल अधिकृत मात्र रहेका छन्। एक वर्षदेखि प्रमुख नहुँदा आठौं तहका मेडिकल अधिकृतले निमिक्तको रुपमा काम गरिरहेका छन्। जिल्ला अस्पतालमा ५१ जनाको दरबन्दी रहे पनि हाल १९ जना रिक्त रहेका छन्। ८ जना विशेषज्ञ हुनु पर्नेमा सबै पद रिक्त रहेको छ। जिल्ला अस्पतालमा आन्तरिक मेडिसिन, बाल रोग, स्त्री तथा प्रसूति, शल्य चिकित्सक, हाडजोर्नी, नशा रोग, रेडियोलोजिष्ट र जनरल फिजिसियन विशेषज्ञको पद रित्त रहेको छ।

विशेषज्ञ नहुँदा जिल्ला अस्पताल उपचार गराउन आउने विरामी संख्यामा कमी आएको छ। गत माघमा एक हजार ४६६, फागुनमा एक हजार ३९१, चैत्र महिनामा एक हजार १६८ विरामी सेवा लिन आएका छन्। संखुवासभाको याे जिल्ला अस्पताल २०३३ सालमा स्थापना भएको हाे।

जिल्ला अस्पतालमा प्रभावकारी सेवा नपाएकै कारण अधिकांश सेवाग्राही निजी स्वास्थ्य संस्थामा जाने गरेको उदाहरण प्रशस्त भेटिन थालेको छ। प्रभावकारी सेवा नपाएकै कारण निजी स्वास्थ्य संस्थामा गएको सिलिचोङ गाउँपालिका खेवाहाङ मेवाहाङले बताए। 

जिल्ला अस्पतालमा अधिकांश स्थानीय कर्मचारी मात्र छन्। स्वास्थ्य मन्त्रालयले पटक-पटक सरुवा गरे पनि राजनीतिक शत्तिको आडमा पुरानै ठाउँमा सरुवा लिएर आउने गरेका छन्। जिल्ला अस्पतालमा जिल्लाबासी मात्र नभई छिमेकी जिल्ला भोजपुरको उत्तरी क्षेत्र, धनकुटाबाट समेत सेवाग्राही आउने गरेको थिए। अहिले सेवा प्रभावकारी नभएपछि लाखौ खर्च गरेर सुविधा सम्पन्न शहर धरान, विराटनगर र काठमाडाैं जाने गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.