|

नारायणपुर : दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा बस्दै आएको असहाय वृद्ध दम्पतीका लागि घर निर्माण गरिदिइएको छ। सन्तान र आफन्त कोही नभएका असहाय वृद्ध दम्पतीलाई विभिन्न व्यक्तिको सहयोगमा घर निर्माण गरिइएको हो।

घोराही बजारदेखि करीब १५ किलोमिटर उत्तर पश्चिममा पर्ने विकट क्षेत्र सिस्नेरीस्थित जीर्ण घरमा वस्दै आएको ६० वर्षीय तीर्थराम महरा र ५८ वर्षीया रमा महराको सुरक्षित आवास निर्माणका लागि ए–वान टेलिभिजन र गीतकार लोकराज अधिकारीले पहल गरेका थिए। टेलिभिजनले रिपोर्ट तयार पारेपछि देश विदेशबाट सहयोग संकलन भएको थियो।   

देश विदेशबाट प्राप्त करीब साढे तीन लाख रुपैयाँको सहयोग रकमबाट घर निर्माण गरिएको अधिकारीले बताए। एउटा शौचालयसहित दुई कोठाको सानो भवन निर्माण गरेर हस्तान्तरण गरिएको छ। टेलिभिजनका प्रबन्ध निर्देशक अमृतमान वली, सञ्चारकर्मी तथा गीतकार लोकराज अधिकारीले घर निर्माण गरेर हस्तान्तरण गरे।    

घर निर्माणका लागि रु तीन लाख दुई हजार १०७ नगद संकलन भएको थियो भने दाङ देउखुरी इँटा व्यवसायी संघका अध्यक्ष रोम वलीले तीन हजार ५०० इँटा सहयोग गरेका थिए। घर हस्तान्तरण कार्यक्रममा राष्ट्रियसभाका सदस्य कोमल वलीले ज्येष्ठ नागरिकको सम्मानका लागि सञ्चार क्षेत्रबाट भएको यो कार्य उदाहरणीय रहेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.