|

जनकपुरधाम : धनुषामा श्रीमान्को हथौडा प्रहारबाट श्रीमतिलाई सख्त घाइते भएकी छिन्। धनुषाको धनौजी गाउँपालिका-२ धनौजी कटैया टोलमा बस्ने स्थानीय ढोरिया भनिने चन्दर साह सोनारकी २७ वर्षीय छोरी पूनम देवी साह सोनारलाई उनकै श्रीमान ३२ वर्षीय श्याम साह सोनारले हथौडा प्रहार गरी सख्त घाइते बनाएको हो।

बिवाह भएको समयदेखि नै घर ज्वाईं बस्दै आएका जनकपुरधाम उप–हानगरपालिकाको देवपुरा रुपैठा बस्ने साहले रिसले चूर भई श्रीमती पूनम उपर हथौडा प्रहार गरेको स्थानीय राजेश ठाकुरलाई उद्धृत् गर्दै धनुषा प्रहरीले जानकारी दिएको छ।

धनौजीको कटैया चोकमा फलफूल, चुडी लहठी र सिलाईको पसल थाप्दै आएकी पूनमलाई उनका श्रीमान श्याम पनि सघाउँदै आएको मंगलबार अपरान्ह दुई श्रीमान्-श्रीमतीबीच भनाभन हुँदा आक्रोशमा श्यामले पूनमको टाउकोमा हथौडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए।

'श्रीमान्-श्रीमतीबीचको घरायसी झगडाले उग्र रुप लिएपछि उनको श्रीमानले उनलाई पसलमै रहेको हथौडा प्रहार गरेका छन्। पूनमलाई अहिले जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि ल्याइएको छ। उनको अवस्था मध्यम रहेको छ। न गम्भीर घाइते न सामान्य अर्थात् मध्यम स्वास्थ्य अवस्था रहेको छ' डिएसपी कार्कीले भने।

उनीहरूबीच झगडा किन र के कारणले भएको बारे खुल्न सकेको छैन भने हथौडा प्रहार गरेपछि पूनम तत्कालै भूईंमा ढलेकी थिइन्। भूईमा ढलेलगत्तै उनका श्रीमान आरोपी श्याम साह सोनार फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यता, फरार श्यामको खोजबिन तीव्र पारिएको जनाइएको छ। पूनम र श्यामको एक ८ वर्षीया छोरी तथा ५ वर्षीय एक छोरा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.