|
फाइल फोटो

बाँके : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनमा असन्तुष्ट कर्मचारीको गुनासो सम्बोधन हुने बताएका छन। हुम्ला जाने क्रममा नेपालगञ्ज आएका मन्त्री पण्डितले प्रेस संगठन बाँकेद्वारा मंगलबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा समायोजनका असन्तुष्टिहरू विधिपूर्वक समाधान हुनेमा ढुक्क रहन उनले आग्रह गरेका थिए।

‘हामीले अत्यन्त महत्वपूर्ण काम सफलतापूर्वक सकेका छौँ’, मन्त्री पण्डितले भने, ‘असन्तुष्ट कर्मचारीका ९० प्रतिशत गुनासाका मनका वह पोखिएका छन्, ती मनका वह पनि समाधान हुनेछन्।’

संघीयता कार्यान्वयनको महत्वपूर्ण पक्ष कर्मचारीको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको बताउँदै मन्त्री पण्डितले बाँकी रहेका गुनासा पनि समाधान गरिने बताए। स्वास्थ्य क्षेत्रमा समायोजका क्रममा समस्या देखिएको बताउँदै उनले प्राप्त गुनासाका आधारमा समाधान खोजिने उल्लेख गरे। कर्मचारी समायोजनका कारण तीन वटै तहका सरकारका काममा केही अप्ठेरो परिरहेको जानकारी गराउँदै उनले एकअर्काको मर्म बुझेर अघि बढ्न जरुरी रहेको बताए।

मन्त्री पण्डितले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जानुपर्ने उल्लेख गर्दै खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गरिने चेतावनीसमेत दिए। ‘राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्छ, गैरजिम्मेवार बन्न मिल्दैन’, उनले भने, ‘कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था रहेको छ, गुनासो सुनुवाइ समिति छ, जायज गुनासोमा सम्बोधन हुन्छ।’

मन्त्री पण्डितलाई स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले कर्मचारी सरुवाले बजेट कार्यान्वयनमा बाधा पुगेको गुनासो गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.