|

भक्तपुर : भक्तपुरको आलु जोनका ८० प्रतिशत आलु खेतीमा असिना र लगातार परेको पानीले क्षति पु¥याएको छ। केही दिनअघि परेको असिनाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चाँगुनारायण नगरपालिका–८ र ९ को सुडाल र ताथली क्षेत्रमा लगाइएको आलु खेतीमा क्षति पु¥याएको हो।

आलु जोनअन्तर्गत करिब दुई हजार रोपनी क्षेत्रफलमा लगाएको आलु खेतीमा परेका असिनाका कारण आलुको बोट नष्ट भएका छन्। असिनाले कुटेका आलुका बोट र आलु कुहिन थालेको कृषकहरुको भनाइ छ।

प्रतिहेक्टर २५ टन आलु उत्पादन हुने सो क्षेत्रको करिब ८० हेक्टर क्षेत्रफलमा लगाइएको आलुमा क्षति पु¥याएको छ। जसबाट करोडौंको क्षति भएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना आलु जोनका प्रमुख द्रोणराज काफ्लेले जानकारी दिए। ‘आलुको बोट असिनाले चुटेको छ,’ उनले भने, ‘खन्ने बेला भएको आलुमा लागेका दाना पनि नियमित परेको पानीले खेत मै कुहिने थालेको छ।’ सबैभन्दा बढी क्षति बैशाख १ मा परेको असिनाले पारको उनको भनाइ छ।

अविरल परेका पानीसँगै आएको असिनाले सुडाल र ताथलीको आलु खेतीसँगै काँक्रो, फर्सी, बोडी, सिमीलगायत ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको गहुँ बालीमा समेत क्षति पुगेको आलु जोनका संयोजक भानुभक्त पराजुलीले बताए।

सुडाल र ताथलीमा परियोजनाअन्तर्गत आलु जोनको रुपमा विकास गरिएसँगै आलु सो क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत बन्दै आएको छ। आलु जोन क्षेत्रमा वर्षको तीन पटक मौसमी र बेमौसमी आलु खेती हुँदैं आएको छ। मौसमी आलुका रुपमा पुस–माघमा लगाएको आलु बैशाख–जेठमा खनिन्छ। बेमौसमी आलुका रुपमा यहाँ मकै बालीभित्र साउन–भदौमा आलु खेती गरिन्छ। उक्त आलुको उत्पादन मिति भनेको रोपेको दिनदेखि ६०–७० दिन हो। 

यसका साथै धानको कटेपछि मौसमी आलु लगाउनु अगावै पनि यहाँ आलुको खेती हुने गरेको छ। आलु जोन क्षेत्रमा अहिले मौसमी आलु खन्ने बेला हो। मौसमी आलु खनेसँगै मकै बारीभित्र विशेष प्रविधिसहित बेमौसमी आलु खेती गरिन्छ। 

असिना पानीले आलु खेती नष्ट गर्दा आगामी वर्षका लागि बीउसमेत अभाव हुने भएको छ। मकै बालीभित्र लगाउने आलुको बीउ कहाँबाट ल्याउने भन्ने चिन्ता परेको सुडालका कृषक कृष्ण तिमिल्सेना बताउँछन्। आफुले खेतमा लगाएको आलु पूर्णतया नष्ट भएको र बाँकी भएको केही पनि कुहिन थालेकाले अर्को सिजनलाई बीउ कसरी जोहो गर्ने चिन्ता परेको कृषक कुलवहादुर न्हेमाफुकीले बताए। 

आलु सँगसँगै गहुँलगायत अन्य नगदेबाली नष्ट हुँदा लाखौंको नोक्सानी भएको कृषक कुवेर सापकोटा बताउँछन्। आलु खनेपछि लगाउन राखेको काउलीको बिरुवासम्म पनि असिनाले नष्ट गरेको उनको भनाइ छ।

बाली बिमाको व्यवस्था भए पनि कृषकहरु त्यसतर्फ आकर्षित हुन सकेका छैनन्। आलु जोन क्षेत्रका केही कृषकहरुले बेमौसमी आलु खेतीको बिमा गरे पनि मौसमी खेतीको बिमा गरेका छैनन्। सुडाल र ताथलीमा एक सिजनको आलु खेतीका लागि प्रतिरोपनी ३१३ रुपैयाँमा बिमा हुने व्यवस्था छ। सो बापत आलु खेतीमा कुनै कारणले क्षति भए बिमा कम्पनीले २५ हजार क्षतिपूर्ती दिनेछ।

बेमौसमी आलु खेतीमा केही किसानले बिमा गरे पनि मौसमी आलु खेतीमा कसैले बिमा नगरेको आलु जोनका संयोजक पराजुलीले जानकारी दिए। ‘बेमौसमी आलु खेतीमा केही किसानले बिमा गरेका थिए,’ उनले भने, ‘तर अहिले एक जना किसानले पनि आलु खेतीको बिमा नगर्दा उनीहरुले थप नोक्सान व्यहोनु परेको छ।’ 

आलु खेती छोटो अवधिको हुने र वर्षमा तीन पटक बिमा गर्नु पर्दा झन्झट मान्ने भएकाले किसानहरु बिमातर्फ आकर्षित हुन नसकेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.