|

काठमाडौं :  वैशाख ११ अर्थात् जनताले आफ्नो हातमा शासन लिएको दिन। निरंकुश शासनविरूद्द जनताको जित भएको दिन हो आज। जनताले वर्षौंदेखिको  रैती जीवनबाट मुक्ति पाएर सम्मानजनक नागरिकको हैसियत पाएको अविस्मरणीय दिन पनि हो।  के हामीले सोचेको अथवा कल्पना गरेको स्वतन्त्रताको प्रत्याभूति यो १३ वर्षको अवधिमा जनताले पाएका छन त? जति अपेक्षा हामीले गरेका थियौं, त्योअनुसार कार्यान्वयन भएका छैनन्। यद्यपि, केही कतै परिवर्तनका झिल्का पनि नदेखिएका भने होइनन्।

नेपालमा लोकतन्त्रको आगमनमा करोडौं नेपाली सडकमा आए। राजाविरुद्ध आन्दोलनमा सरिक भए। तिनैमध्येका एक हुन् रुविन गन्धर्व। जो सानै उमेरमा आनन्दोलनमा सारंगी बोकेर विभिन्न सभासम्मेलनमा पुगेर निरंकुश शासनविरुद्द गीत गाए।

के उनी लोकतन्त्रको आगमन र यसका उपलब्धिबाट सन्तुष्ट छन्? जनप्रतिनिधिहरू हरेक जनताको घरघरमा गएर आम नागरिकका अपेक्षाहरूको जानकारी लिने काम पनि भएका छन्। यसलाई ठूलो उपलब्धि मान्छन् उनी। विकास निर्माणका कार्यहरूले निरन्तरता पाइरहेका छन्। सामाजिक न्याय, भेदभाव उन्मूलन हुने कामहरूमा कार्यान्वयन हुन बाँकी नै छन्। जनताको अपेक्षाअनुसार राजनीतिक दल चुकेका छन्। जसले गर्दा जनता निराश छन्। भन्छन्, 'जनतासँग प्रत्यक्ष जोडिएका विषयमा नेतृत्व चुकिरहेको छ। बेथितिहरू मौलाउँदै गएका छन्। जसले गर्दा जनतामा राजनीतिक दल र नेतृत्वप्रति घृणा जाग्दै गएको छ।'

जुन देश संक्रमणमा गुज्रेको हुन्छ, त्यहाँ देशी तथा विदेशी शक्तिले आफ्नो स्वार्थपूर्ति गर्नका निम्ति अनेक झालझेल गर्छन्। जसले गर्दा नेतृत्वकर्ताहरूले  आफ्ना देशका एजेण्डाहरू स्थापित गर्नका निम्ति निकै कठिन हुने उनी बताउँछन्। संविधान निर्माण, स्थानीय तहको निर्वाचन भए। समृद्ध नेपालका यी सफलता आशाका केन्द्रविन्दु ठान्छन् उनी। अहिले देशमा स्थिर सरकार बनिसकेको छ। यो जगले नेपालको सुन्दर भविष्यको आधार देखाएको बताउँछन् उनी। 

सिंहदरबार जनतालाई डिप्रेसन बनाउने हुने थलो

नेपालमा लोकतन्त्र आए पनि कर्मचारीतन्त्रभित्र भने निरंकुश रहेको बताउँछन् उनी। कर्मचारीहरूको काम गर्ने शैलीबाट सन्तुष्ट छैनन् उनी। राजनीतिबाट आएका व्यक्तिहरूलाई देशको नियम कानुनबारे ज्ञान हुँदैन। कर्मचारीहरूले सिकाउन जरुरी छ। मन्त्री हुने व्यक्ति कानुनको विज्ञ हुँदैन। ज्ञान दिने काम कर्मचारी को हो। जनतालाई सबैभन्दा झुलाउने काम कर्मचारीले गरेका छन्। कुनै सामान्य व्यक्ति सिंहदरबारमा आफ्नो काम गर्न गयो भने कर्मचारीहरूले यसरी झुलाउँछन् कि मानौँ जनतालाई आफ्नै पैतृक सम्पति बेचेर दिनुपर्छ।' यसै पनि राजनीतिक दलबाट अपेक्षाअनुसार काम नभएपछि जनताहरू आक्रोशित छँदै छन्। त्यसमाथि कर्मचारीहरूले आगोमाथि घिउ थप्ने काम गरेका छन्। उनले आफ्नो अनुभव बताए।

नेपालको स्थिति बिग्रनुमा नेताको भन्दा कर्मचारीतन्त्रको हात छ। जनतालाई सहज र सुलभ तरिकाले न्याय दिनका निम्ति कर्मचारीतन्त्रले ठूलो भूमिका खेल्न सक्नुपर्थ्यो। तर, विडम्बना हुन सकेन। तर, खबरदारी गर्न आफूले कहिल्यै नछोड्ने बताउँछन् उनी। भन्छन्, 'यो देशको समृद्द बनाउनुछ भने  कर्मचारीतन्त्रलाई सुधार्नुपर्छ।'

लोकतन्त्रको आगमन, नेपाली जनताको अपेक्षा

हरेक तह र तप्काका नागरिकले सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु,अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो। निरंकुशताको अन्त्यसँगै उत्पीडनमा परेका महिला, दलित, जनजाति, भूमिहीनहरूको अधिकार सुनिश्चित हुनुपर्थ्यो भन्ने लाग्छ उनलाई। परिवर्तन विस्तारै देखिने विषय हो। अहिले तत्कालै भने यसको छनक देख्न सकिँदैन। संक्रीण समाजबाट उठेर समाज खुला बन्यो। यतिले मात्र लोकतन्त्रको रक्षा हुन सक्दैन भन्ने लाग्छ उनलाई। उनी नेतृत्वकर्तासँग अनुरोध गर्छन्, 'जनतासँग प्रत्यक्षरूपमा जोडिएका विषयमा कुनै पनि हालतमा कसैसँग स्वार्थपूर्ण रूपमा सम्झौता नगर्नुहोस्। सरकारको नेतृत्व सम्हाल्नेले घर होइन जनताका लागि देश बनाउन आएको हुँ भनेर बुझ्नुपर्छ। '

ढलेका संरचनाहरू पुनर्निर्माण हुन समय लाग्छ। धैर्यता आजको आवश्यकता हो। अर्को कुरा जनताले चुनेका व्यक्ति सत्तामा छन्। यदि यिनीहरूले काम गरेनन् भने नेतृत्व फेर्नसक्ने हैसियत लोकतन्त्रले दिएको छ। लोकतन्त्रको आगमनबाट प्राप्त भएका उपलब्धिबाट शतप्रतिशत सन्तुष्ट छैनन् उनी। यद्यपि, आस भने अझै बाँकी छ उनीसँग।

गन्धर्व जाति र यसको संरक्षण

नेपालमा हाल १६ हजार गन्धर्वहरू रहेका छन्। गन्धर्व जातिको हकहितका लागि उनले काम गरिरहेका छन्। गन्धर्व जातिको संस्कृतिलाई बचाउन उनी संस्कृति मन्त्रालय पुगे। रुविन हाल गन्धर्व संस्कृति कला संगठन’को उपाध्यक्ष पनि छन्। उनका अनुसार नेपालबाट व्यक्तिगतरूपमा वार्षिक ४५ हजार सारंगी विदेशमा निर्यात हुन्छ। उनी चाहन्छन्, 'राज्यले सारंगी बनाउने उद्योग स्थापना गरी वितरण गर्ने व्यवस्था गरे १६ हजार गन्धर्व जातिको जीवनमा सुनौलो बिहान आउन सक्छ।' यही सुनौलो बिहानको खोजीमा उनी पटकपटक संस्कृति मन्त्रालयलगायत सम्बन्धित निकाय पुगेका छन्।

मन्त्रालयले गन्धर्व जातिलाई छुट्याएको रकम प्राप्त गर्न पनि कर्मचारिहरू अड्को थाप्ने काम गरिरहे। दुई वर्षसम्म कुनै प्रकारको उपलब्धिहरू हात नपारेपछि सिंहदरबारका कर्मचारीको काम गर्ने शैली सम्झँदै उनी रूँदै बाहिर निस्के। उनी भन्छन्, 'कर्मचारीहरू जनतालाई झुलाउन यति धेरै स्वतन्त्र छन्। जनतालाई झुलाउनको लागि लोकतन्त्र आएको होइन। लोकतन्त्र कर्मचारीलाई मात्र आएको हो।' उनी आफैँलाई प्रश्न गर्छन्,'लोकतन्त्र कसका लागि हो? जनताको लागि या कर्मचारीका लागि?

नेपालबाट गन्धर्वहरूको सारंगी संस्कृति लोप हुँदै गइरहेको छ। जीविकोपार्जनका लागि व्यवसाय बनाउन नसकेपछि मान्छे वैकल्पिक बाटोको खोजीमा जान्छ। यसको संरक्षण सरकारको दायित्व हो। सरकारले नै यो विषयमा धेरै त्यति धेरै चासो नदिएपछि यसको लोप हुने स्वाभाविकै पनि हो। गन्धर्व जातिको मौलिकता र संस्कृति बचाउने काम सरकारले गर्नुपर्थ्यो। यसका लागि सरकारले ठूलो पुजीँ लगानी गर्नुपर्दैन। तर, सानै उद्योग खोलेर बजार व्यवस्थापन गर्न सके सारंगीले कायापलट गर्न सक्छ भन्ने उनको बुझाइ छ।  कुनै पनि गन्धर्व जातिले आफ्नो पुर्ख्यौली पेसा र संस्कृतिसँग जोडिएको विषय लोप हुन भन्ने नचाहँदा नचाहँदै यसलाई व्यावसायिक बनाउन नसक्दा सारंगी संस्कृति विस्थापित हुने अवस्था आइसकेको छ।

सारंगी बजाउनेहरूलाई समाजका हरेक तप्काका  मान्छेले प्रेम नै गर्छन्। यो गन्धर्व जातिको सांरगी संस्कृति संरक्षण गर्न राज्यसत्ताले कन्जुस्याइँ गर्दा उनी दुखी छन्।

भागेर काठमाडौं

गोर्खाको पालुङटार नगरपालिकामा जन्मेका हुन् उनी। त्यसताका उनी चार कक्षामा पढ्दै थिए। उमेर भर्खर ८ लाग्दै थियो। गाउँमा छुवाछुतको उत्पीडन थियो। उनले छुवाछुत भोगे। उत्पीडन भोगे। त्यसैताका उनका बुबा काठमाडौ- गोर्खा गरिरहन्थे। बुबाले कठमाडौं सहरको व्याख्या गरिरहँदा उनको मन उडेर काठमाडौं आइपुग्थ्यो। एकदिन उनलाई काठमाडौंले तान्यो। विद्यालय जान्छु भनेर हिडेका उनी साझा बस चढेर काठमाडौं आए।

देशमा संकटकाल थियो। गजुरीमा सेनाले उनलाई समात्यो। उनले आफ्नो आफन्तको मा जान लागेको भनेर ढाँटे। रातभर सेनालाई उनले गीत सुनाए। बिहान साझा बस चढाएर सेनाले उनलाई काठमाडौं जाने साझामा चढाइदिए। त्यसपछि उनको वेवारिसे जिन्दगी सुरु भयो। चार महिना सडकको बास भयो उनको। बसपार्कमा उनले ड्राइभरहरूलाई गीत गाएर आकर्षित पारे। पछि बसमा सहचालकको काम गरे। उनी भन्छन्, 'सारंगी बजाउँदै  भाडा उठाउने काम  गरियो।'

विस्तारै संकटकालले चरमरूप लिँदै गयो।  काठमाडौंमा उनलाई आफ्नै विवशताले किताबको भन्दा धेरै  ज्ञान दियो। सहचालक हुदाँ जम्मा गरेको रकमले उनले सारंगी किनेका थिए। मान्छेहरू भिड भएको ठाउँमा गएर गीत गाइहाल्थे। विस्तारै देशमा निरंकुश शासनविरुद्द आन्दोलन सुरु भयो। उनी पनि त्यही सामेल भएँ। उनी सारंगी बजाउँदै गाउन थाले,

वनको काफल वनकै चरीलाई, 
तिम्रो शासन दुई दिनको भए नि 
हाम्रो शासन जुनीभरीलाई

यो क्रम रोकिएन। आन्दोलनले चर्को रूप लिँदै गयो। उनले गीत गाउँदै आन्दोलनमा सरिक हुँदै गए। अन्तत देश निरंकुश शासनबाट मुक्ति पायो। 

अहिले के गर्दै छन्?

त्यसपछिका दिनमा जीवन कसरी जिउने भन्ने सिकायो काठमाडौंले, उनलाई सडकको चिसो छिडी र पाँचतारे होटलको न्यायोको अनुभव छ। कुनैबेला युरोपदेखि अमेरिकासम्मका, मर्सिडिजदेखि रेन्जरोवरसम्म देखाउने मान्छे जिन्दगीमा आए। ती सपना देख्न छोडेका छन् अहिले। भन्छन्, 'त्यसबेला मलाई सपना देखाउने मान्छेहरू धेरै थिए। विस्तारै सपना देखाउने मान्छेहरूको संगत छोडिदिएँ।' 

कुनै बेला सपना देखाउनेहरूको जमातमा भए पनि आफू अब कर्मतिर लागेको बताउँछन् उनी। विदेश जाने रहर पनि नलागेको होइन उनलाई। तर, अहिले नेपाल सरकारले पर्यटन वर्ष २०२०को लागि तयारी गरिरहेको छ। उनी यसैको तयारीमा जुटेका छन् भने गन्धर्व जातिको पहिचान र संरक्षणमा पनि लागिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.