|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई जडसूत्रवादी र अवसरवादी कम्युनिस्ट पार्टी नभएको स्थापित गर्न अभियान चालिने बताएका छन्। उनले पार्टी शुद्धीकरणको अभियानसँगै विकासलाई तीव्रताका साथ अगाडि बढाउने बेला आएको बताएका छन्।

बुधबार ललितपुरको श्री सिद्धिमंगल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं नयाँ भवन हस्तान्तरण कार्यक्रममा प्रचण्डले अब पार्टीले जनचाहनाबमोजिम नै पार्टी विकास र एकतामा अगाडि बढ्ने बताएका हुन्।

'नेपाली जनतानले कम्युनिस्ट पार्टीको नेतृत्वमा जे देखेका छन् कम्युनिस्ट पार्टी जडसूत्रवादी होइन र अवसरवादी होइन भनेर स्थापित गर्नुछ', प्रचण्डले भने, 'एकतालाई नयाँ स्थितिमा अगाडि बढाएर जनतामा के होला के होला भन्ने स्थितिको अन्त्य गरेका छौँ। अब अभियान लिएर जिल्ला जिल्लामा जाँदैछौँ।'

पार्टीको जिल्ला र केन्द्रीयस्तरमा अधिवेशन गर्ने र जनतासँगको सम्बन्ध सुदृढ बनाउने प्रचण्डको भनाइ थियो। उनले भने, 'हामीभित्र शुद्धीकरण र सुदृढीकरणको अभियानको नेतृत्व गर्ने तयारीमा हामी छौँ।' उनले पार्टीले जिल्ला कमिटीमा एकता गरेर जनतामा हौसला बढेको पनि बताए।

अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्मा रहेको सरकारले विविध कारणले सोचेअनुसार विकास निर्माणका काम गर्न नसकेको बताए। उनले भने, 'विकास निर्माणका कामले जति गति लिनुपर्ने हो त्यति लिन सकेको छैन। आउने चार वर्षमा हामीले नेपाली जनताका अगाडि जे संकल्प र प्रतिबद्धता गरेका छौँ र जतनताले जुन भरोसा गरेर मत दिएका छन् त्यसलाई गति दिने जिम्मेवारी हाम्रो काँधमा छ।' अब सरकार र पार्टी विकास निर्माणका कामलाई अगाडि बढाउने अभियानमा लाग्ने प्रचण्डले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.