|
File Photo

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न स्थानमा स्मार्ट पार्किङ सेवा सुरु गर्ने भएको छ।

वैशाखको तेस्रो सातदेखि स्मार्ट पार्किङ सेवा सञ्चालन गर्ने महानगरले बताएको छ। महानगरले विशाल बजारको अगाडि धर्म पथ, न्युरोड, दरबार मार्ग, वीर अस्पतालको पछाडि प्यूखाः, खिचापोखरी र जय वागेश्वरीमा स्मार्ट पार्किङ सुरु गर्ने जनाइएको हो। जसको लागि महानगरले ह्विल्स ट्रलियोर्स नामक आइटी कम्पनीसँग सहकार्य गर्नेसमेत महानगरले बताएको छ।

महानगरभित्र हुँदै आएको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नको लागिको लागि स्मार्ट पार्किङ सेवा सञ्चालन गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। 'व्यवस्थित पार्किङ नहुँदा बजार अस्तव्यस्त र ट्राफिक जाम हुने समस्या छ' उनले भने 'यसैको नियन्त्रण गर्नको लागि हामीले स्मार्ट पार्किङ सेवा सञ्चालन गर्न लागेका हौँ।'

उनका अनुसार स्मार्ट पार्किङले सवारी साधनको सुरक्षा गर्नेछ। प्रविधियुक्त पार्किङ पहिलोपटक सञ्चालन गर्न लागिएको प्रवक्ता डंगोलले बताए। प्रविधि जडान गरेपछि सेवाग्राहीले अनलाइनबाट पार्किङ बुकिङ गर्न सक्नेसमेत उनले बताए।पार्किङ स्थलमा खाली ठाउँ छ कि छैन भनेर हेर्न र पार्क गर्नको लागि एप्सबाट बुक गर्न सुविधा समेत हुने व्हिल्स ट्रलियोर्सका सिइओ शैलेश पौडेलले बताए।

ग्राहकको मोटरसाइकल हराउँछ कि भनेर सिसीक्यामेरासमेत जडान गरिनेसमेत पौडेलले बताए। 'नयाँ ढंगबाट पार्किङ गर्ने होइन। पुरानो स्थानमा पार्किङ गर्ने हो। तर, यसमा प्रविधिको प्रयोग गरेको कारणले मात्र यो नयाँ जस्तै भएको हो' पौडेलले भने, 'पार्किङ नपाउने समस्या हुँदैन्, दिनभर कसैले अब पार्किङ गरेर बस्न पाउँदैनन्।'

पसलका पसल खोलेर दिनभर मोटरसाइकल र कार पार्किङ गर्ने चलन हटने उनको दाबी छ। उनका अनुसार कुन गाडी आए, कुन गए सबै मेसिनले रिडिङ गरेर रेकर्ड राख्नेछ। यस्तो प्रविधिको प्रयोगबाट काठमाडौंबाट सवारी साधन नहराउनेसमेत पौडेलले बताए। जसको लागि प्रतिघण्टा दुई पाङ्ग्रे सवारी साधनको २५ रुपैयाँ लाग्नेछ भने चार पाङ्ग्रेको ८० लाग्ने छ।

स्मार्ट पार्किङ व्यवस्थापनका लागि विभिन्न देश तथा संस्थाबाट ट्वीन, पजल, मिनी रोटरी र टावर पार्किङ सञ्चालनमा ल्याउन सकिने प्रस्ताव आएको महानगरपालिकाले जनाएको छ। यी प्रविधिमध्ये हाल प्रयोगमा ल्याउन लागिएको पार्किङ प्रणाली सेन्सरमा आधारित रहेको छ। यसअन्तर्गत सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ। जसमा रिजर्भ गरेको समय, पार्किङ स्थान र समय, पार्किङ शुल्कलगायतको विवरण रहने महानगरको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.