|

काठमाडौं : नेपाल थाइल्याण्डमा जारी १६ वर्ष मुनिको एसिसी पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साबिक विजेता नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको हो।

नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ दशमलब २ ओभरमा १ सय २ रनमा समेटियो। उसका लागि सर्भिन सुरेन्द्रनले नटआउट ४६ रनको योगदान गरेपनि टिमलाई जित दिलाउन  सकेनन्। अहमद अस्यारफले १७ र किसनकुमारले ११ रन बनाउनुबाहेक उसका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालका प्रशान्त महत, रमेश कुर्मी र तिलकराज भण्डारीले समान २/२ विकेट लिए भने प्रशान्त सिंह र निखिल कुमार सिंहले एक एक विकेट खसाले। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३४.५ ओभरमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो।

नेपालका आशिस भट्टराईले सर्वाधिक ३४ रन बनाए। यस्तै विशाल विक्रम केसी २८, दीपक बोहरा र अर्जुन कुमालले समान १६/१६ रन जोडे। समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

समूह 'ए' मा रहेको म्यानमार सबै ३ खेल हारेर बाहिरिसकेको र थाइल्याण्डले २ खेलमध्ये एक खेल मात्रै जितेकाले नेपाल समूह विजेता बन्ने पक्का भएको छ। नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.