|

पछिल्लो वसन्त ऋतुमा कान्बेक र उनकी पत्नी नर्सुलु कामको खोजीमा किर्गिस्तानमा रहेको आफ्नो गाउँ छाडेर रुस गए। उनीहरू आफ्नो बालबच्चाको पढाई र गाउँको घरको मर्मतका लागि पैसा जुटाउन भन्दै रुसतर्फ लागेका थिए। कान्बेक र नर्सुलु त रुस गए तर तिनका छोराछोरी घरमै छाडिए। चार, पाँच, आठ र एघार वर्षका ४ सन्तानलाई ५४ वर्षीया हजुरआमाको साथमा घरमै छाडेर उनीहरू रुस गएका थिए। 

यो कुनै असामान्य कुरा होइन। किर्गिस्तानमा हरेक आठमा एक व्यक्ति रोजीरोटीको खोजीमा देश छाडेर अन्यत्र जाने गर्दछन्। विश्व मुद्रा कोषका अनुसार किर्गिस्तानको जिडिपीको एक तिहाई हिस्सा त्यसरी प्रवास जाने कामदारहरूको आम्दानीबाट बनेको छ। निम्न र मध्य आय भएको देशमा पूँजीको यस प्रवाह बढ्ने अनुमान गरिएको छ।

सन् २०१८ मा यो धनराशी ५ सय २८ बिलियन डलरसम्म पुगेको थियो। तर पैसा त्यत्तिकै आउँदैन, निक्कै मूल्य चुकाएर भित्रन्छ। स-साना केटाकेटीहरूको एउटा पूरै पुस्ता आफ्ना बाबुआमाबिना नै हुर्किरहेका छन्, सामान्य रूपमा आफ्ना आफन्तको रेखदेखमा। यस्तो अवस्थामा प्रायः जसो उनीहरूलाई वेवास्ता गरिन्छ या उनीहरू शोषणको शिकार बन्न पुग्छन्।

कान्बेक र नर्सुलु मस्कोमा सफाइकर्मीको काम गर्दथे। उनीहरू भाडाको एउटा अपार्टमेन्टमा बस्थे र जति पैसा बचाउथे त्यसलाई गाउँ पठाउँथे। तर केही पछि नै उनीहरूको जीवनमा एउटा त्रासदी अवस्था भित्रियो।

उनीहरूको आठ वर्षीया छोरी मेडिनाको लडेर मृत्यु भएपछि त्यो दम्पति छोरीको दाहसंस्कारका लागि गाउँ फर्कन बाध्य भयो। कान्बेक र नर्सुल छोरीको मृत्युका लागि उनकी हजुरआमालाई जिम्मेवार भने ठहराउँदैनन्। तर, उनीहरू पनि यो मान्न तयार छन् की यदी उनीहरू त्यहीं हुन्थे भने छोरीको उपचारको व्यवस्था छिटो गर्न सक्थे।

दुखित् स्वरमा उनीहरू भन्छन्-'दुर्घटना त जतिबेला पनि हुनसक्छ।' आफ्नो छोरीको अन्तिम संस्कारको केही दिनपछि नै दुवैजना रुस फर्किन बाध्य भए किनकि उनीहरूसँग अरू कुनै विकल्प पनि थिएन। 

मेडिनाको मृत्यु किर्गिस्तानको एउटा कथा मात्र हो जसले देशलाई शोकमा पारिदियो। गतवर्ष दुई वर्षको एक बालकलाई आफ्नै काकीले कुटेर मारिन्। उनको कुनै ठूलो गल्ती थिएन। काकीलाई पानीले भिजाइदिएकै कारण उनले काकीको कुटाइबाट मारिनुपर्‍यो। अर्को घटना ४ वर्षीया एक बालिकाको बलात्कारपछि हत्या गरियो। उसका ७ वर्षीय दाइ र हजुरआमालाई पनि मारिए।

प्रवासी र पलायन भएकाहरूको परिवारले मात्र उत्पीडन र दुर्घटनाको सामना गरिरहेका छन् भन्ने पक्कै होइन तर विशेषज्ञहरू प्रवासी कामदारहरूको सन्तानलाई बाबुआमाको गैर-उपस्थितिमा शोषणको खतरा धेरै गुणा बढी रहेको बताउँछन्।

समाजशास्त्री गुलनारा इब्रिइवाका अनुसार विकसित देशहरू प्रवासी मजदूरहरूको आवश्यकता स्वीकार्छन तर उनीहरूका सन्तानलाई राख्न चाहदैनन्। गुलनारा भन्छिन्-'परदेश जाने मानिस आफ्ना बच्चाहरू छाडेर अन्य कामदारहरूसँग बस्न बाध्य छन् , उनीहरूले कति वर्ष त बालबालिकाको मुखसमेत हेर्न पाएका हुँदैनन्।'

जाजगल मैडगजामोवा अहिले २९ वर्षकी भइन्। उनकी आमा उनलाई १३ वर्षको उमेरमा घरमै छाडेर रुस जानुपर्‍यो। आफ्नो आमा गएपछि जाजगललाई अर्काको घरमा गएर काम गर्नुपर्ने अवस्था आयो।

तीन वर्षपछि उनका बाबु पनि बाहिर गए र एक दशकपछि फर्किए। जति पैसा उनले कमाएका थिए त्यसबाट ऋण चुक्ता गरे। घरको मर्मत गरियो र बालबच्चाको पढाइको खर्च निकालियो। ती सबै खरिद गर्न उनका बुबा सफल भए तर किन्न सकेनन् त आफ्नो सन्तानसँग बिताएको समय। जाजगल आफ्ना आमाबुबालाई दोष दिन्नन्। उनी आफ्नो सामू यो एउटामात्र बाटो थियो भन्ने सोच्छिन्।

उनी भन्छिन्-'सबै प्रावसी कामदार अमेरिकी सपना देख्छन्। उनीहरू घर गाडी किन्न चाहन्छन्। आफ्नो बालबालिकालाई राम्रो स्कुलमा पढाउन चाहन्छन्, अनि उनीहरूको धूमधामले विवाह गर्न चाहन्छन्। तर यो सपना पूरा हुन कयौं वर्ष लाग्छ र यस बीचमा तिनका बालबालिका उनीहरूबिना नै ठूला हुन्छन्।'

किर्गितानका प्रवासी कामदारहरूमा लगभग ४५ प्रतिशत महिला छन्। इन्टरनेश्नल अर्गनाइजेशन फर माइगेशन आइओएले महिला प्रवासी कामदारमाथि उत्पीडन, शोषण र समाजबाट तिरस्कृत, बहिस्कृत हुने खतरा धेरै हुन्छ। उनीहरूका सन्तान र परिवारमाथि पनि यस्तो खतरा धेरै हुने गरेको छ। बिबिसी हिन्दी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.