|

पोखरा : अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा धेरै मुद्‍दा जनप्रतिनिधिकै छ। त्यो पनि आर्थिक हिनामिना गरेको। तर, गोरखाको शहीद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठले भने आफू जनप्रतिनीधि भएबापत राज्यबाट पाएको तलब भत्ता आफ्नै वडाका सरकारी विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक किनेर दिए।  

‘विद्यालयमा नि:शुल्क आउने बाहेकका किताबहरु मैले किनेर विद्यार्थीहरुलाई दिएँ,’ उनले भने, ‘मेरो वडाका पाँच वटा विद्यालयका विद्यार्थीलाई २ लाख ८८ हजार रुपैँयाले विद्यार्थी आफैँले किन्नुपर्ने अंग्रेजी किताब किनेर ल्याएर वितरण गरेँ।’ 

अध्यक्ष श्रेष्ठले शहीद लखन ७ को शहीद स्मृति माविमा ७० थान, लखनथापा आधारभूत विद्यालयमा ५३ थान, चण्डिका आधारभूत विद्यालयमा ६७ थान पुस्तक वितरण गरेका हुन्। त्यस्तै खाब्दी र मकैपुर प्राविका विद्यार्थीहरुलाई पनि  आवश्यक पाठ्यपुस्तक वितरण गरेको अध्यक्ष श्रेष्ठले थाहा खबरलाई जानकारी दिए। यसबाहेक उनले मिर्गौला रोगबाट पीडित नरबहादुर अधिकारीलाई पाँच हजार र दलबहादुर आलेलाई ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको जानकारी दिए। 

उक्त वडा भित्रका सरकारी विद्यालयमा अहिलेको शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु हुन लागेको छ। अध्यक्ष श्रेष्ठले आफ्नो सेवासुविधा वापतको रकमले किनेर ल्याएको पाठ्यपुस्तक राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले विद्यार्थीई हस्तान्तरण गरेका हुन्। नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठले आफ्नो वडामा आउने सेवाग्राहीलाई फोटोकपी गर्दा, विभिन्न निबेदनमा टाँस्ने टिकट पनि निशुल्क वितरण गर्ने गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.