|

काठमाडौं : सरकारले सार्वजनिक विद्यालय सुधारका लागि १० वर्षे अभियान चलाउने तयारी गरेको छ। भक्तपुरको बोडेमा बुधबारदेखि सुरु भएको दुईदिने सार्वजनिक विद्यालय रूपान्तरण अभियानसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरेका थिए। उनले ‘हामी सुर्धाछौं हाम्रो सार्वजनिक विद्यालय’ भन्ने नारा सार्थक बनाउने गरी सार्वजनिक विद्यालय सुधार अभियानमा जु्टन आह्वान गरेका छन्।

पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकका रूपमा मनाउने तयारी गरेको बताएका छन्। 
कार्यक्रममा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउने चुनौती सामना गर्नेगरी अघि बढ्न सरकारको ध्यानाकर्षण गराइन्। उनले शिक्षालाई जीवन उपयोगी, व्यावहारिक र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिएकी छन्। 

त्यस्तै, हास्य कलाकार दीपकराज गिरीले विद्यार्थीलाई जीवनमा उपयोग नै नहुने विषयको जबरस्ती पढाइँदा शिक्षा निरस बनेको भन्दै रुचि र जीवनउपयोगी सीपसहितको शिक्षा हुनुपर्ने बताए। शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सम्मेलन उपस्थिति र छलफलमा मात्रै सिमित नरही यहाँ प्रस्तुत हुने राम्रा अभ्यासको विस्तार हुनुपर्नेमा जोड दिए।
वैशाख ११ र १२ गते आयोजना गरिएको सम्मेलनमा सार्वजनिक विद्यालयको रुपान्तरणका लागि ठोस धारणा बनाउने अपेक्षा गरिएको छ। ११ गते सम्पन्न सम्मेलनमा बर्दियाको बारबर्दिया नगरपालिका, नवलपुरको होप्सेकोट गाउँपालिका, सर्लाहीको वागमती नगरपालिका, कालिकोटको नरहरिनाथ नगरपालिका, पाल्पाका पूर्वखोला गाउँपालिका र झापाको हल्दीबारी गाउँपालकिाको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.