जनप्रतिनिधिको त्रुटि कि नियत नै खराब?

|
File Photo

भद्रपुर, (झापा) : नातामा छोरा भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ।

गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने खुल्ला गरेसँगै कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपाल गुरुङलाई नेपाली नागरिकता बनाई दिन लागेका थिए।

आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापा लगेका हुन्। नागरिकता बनाउने आएका भूपालमाथि शंका लागेर प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएका थिए।

भारतीय परिचयपत्र देखाएलगत्तै प्रशासन कार्यालयमा खटिएका प्रहरी टोलीले भारतीय नागरिक भूपाससहित बमबहादुरलाई नियन्त्रण लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। ३५ वर्षीय भुपालको स्थायी ठेगाना आसाम राज्यको मणिपुर कानकोपी जिल्ला हो।

उनको बुबाको नाम चन्द्रबहादुर गुरुङ भएको उनको मतदाता परिचयपत्रमा उल्लेख छ। नियन्त्रणमा लिएका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए। प्रहरी अनुसन्धानको क्रममा भूपालले आफू भारतीय नागरिक भएको स्वीकार गरेका छन्। दुवै जनालाई किर्ते कागजात र नागरिता ऐनसम्बन्धी मुद्दा लाग्ने डिएसपी श्रेष्ठको भनाई।

यस्तो छ जनप्रतिनिधि र स्थानीयले हस्ताक्षर गरेको सर्जिमिन पत्र

लिखितम् सरजमिन मुचुल्का हामी तपशीलका व्यक्तिहरू आगे जिल्ला झापा कचनकवल गापा वडा नम्बर २ बस्ने बमबहादुर गुरुङको माग निवेदन अनुसार मेरो छोरा भूपाल गुरुङको मिति २०४० साल १० महिना ७ गते यस कचनकवल गापा वडा नम्बर २ मा भएको हो र हालसम्म मेरो छोराको जन्म दर्ता नभएकोले जन्म दर्ता गरिदिन हुन भनेअनुसार र वडा कार्यालयको तोक आदेशअनुसार सरजमिनका लागि खटी आएका कर्मचारीले सम्बन्धित स्थानमा गई मानिसहरूको भेला गरी उक्त निवेदन पढीबाची सुनाई यसमा सही सत्य कुरा के हो भुपाल गुरुङ कसको छोरा हो र उसको जन्म कहिले र कहाँ भएको हो पछिसम्म फरक नपर्ने गरी बताई दिनुहोस् भन्दा सरजमिनका लागि भेला भएका स्थानीय बुद्धिजीवी, समाजसेवीहरूको भनाई यस प्रकार छ।

निवेदकको निवेदनको ब्यहोरा सुन्दा हाम्रो चित्त बुझ्दो यस सही सत्य कुरा के हो भने सनबहादुर गुरुङको नाति बमबहादुर र चन्द्रकला गुरुङको छोरा भुपाल गुरुङकाको जन्म यस साबिक पथरिया ९ हाल कचनकवल गापा वडा नम्बर २ मा भएको हो । घर आर्थिक अवस्था पनि अति कमजोर र शिक्षाको कमिले गर्दा छोराको जन्म दर्ता समेत नगरेको र छोरा करिब १०र१२ वर्षको हुँदा साथीहरूको लइलइमा लागी घर छाडी हिँडेको र हाल घरमा आएको हुँदा  अहिले मात्र जन्म दर्ता गर्नु पर्ने रहेछ भन्ने थाहा पाएर वडा कार्यालयमा निवेदन दिएको हुँदा वडा कार्यालयले निजको जन्म दर्ता गरी दिए फरक पर्ने छैन फरक परेमा कानुन अनुसार सहुन्ला बुझाउन्ला भनी सही छाप गरी दिने हामी तप शीलका व्यक्तिहरू। कचनकवल २ बस्ने कविदास गुरुङ, सोही ठाउँका गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ। सो पत्रमा वडा सचिव हरिप्रसाद गौतमको हस्ताक्षरसहित छाप लगाइएको छ ।

६ दिनअघि मात्रै बनाइयो भूपालको जन्म दर्ता

भारत आसामका भूपाल गुरुङ झापा कचनकवल २ निवासी भन्दै वडा नम्बर कार्यालयले जन्म दर्ता प्रमाणपत्र बनाइदिएको छ। बमबहादुर र चन्द्रकला बुबा आमा र बाजे सनबहादुर गुरुङ भएको उनले बनाएको जन्म दर्ता प्रमाणपत्रमा उल्लेख छ। जन्म दर्तामा उनको जन्म विसं २०४० साल माघ ७ गते राखिएको छ। कचनकवल वडा नम्बर २ का वडा कार्यालयले उनको जन्म दर्ताको प्रमाणतिर २०७६ साल वैशाख ६ गते बनाइदिएको र प्रमाणपत्रमा स्थानीय पञ्जिकाधिकारी हरिप्रसाद गौतमले हस्ताक्षर गरेको देखिन्छ।

यस्तो छ वंशज नाताको सर्जिमिन मुचुल्का

नागरिकताको स्थलगत मुचुल्का ढाँचाअनुसार बमबहादुर र चन्द्रकलाले छोरा भुपाल भन्दै वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र दिएमा फरक नपर्ने भनी वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र स्थानीय पाँच जनाले सही छाप गरेको देखिन्छ । मुचुल्कामा स्थानीयवासी कचनकवल २ बस्ने कविता गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालले नागरिकता नम्बर राखेर सही छाप गरेको छ। उनीहरूले सही छाप गरेको मुचुल्काको रोहवरमा वडा सदस्य धनबहादुर गुरुङ बसेका छन्। वडा अध्यक्ष मेखबहादुर भट्टराईले हस्ताक्षर गरेको मुचुल्का पत्रलाई कानुनी मान्यता दिन वडा सचिव हरिप्रसाद गौतमको सही छाप लागेको पत्रमा उल्लेख छ। 

थाहा हुँदाहुँदै गम्भीर त्रुटि भयो : वडा अध्यक्ष 

प्रशासन कार्यालय झापाले बमबहादुरसहित भारतीय नागरिक भूपाल गुरुङलाई पक्राउ गरेको विषयमा वडा अध्यक्ष मेखबहादुर भट्टराईलाई थाहा नै थिएन। पक्राउ परेको विषयमा थाहाकर्मीले राखेको प्रश्नको उत्तरमा वडा अध्यक्ष भट्टराईले भने, ‘बमबहादुरको एउटै छोरा भएको मलाई थाहा थियो, दुईटा छोराको विषयमा आफूलाई थाहा थिएन, जन्म दर्ता बनाउनुपर्छ भन्दै आएपछि मात्र दुईटा छोरा भएको थाहा पाएँ।’

‘वडा सदस्य धनबहादुर गुरुङको नाता बमबहादुर पर्ने भएकोले आफूले पनि वडा सदस्यकै लईलईमा कागजातमा सहिछाप गरिदिए', उनले भने। 'वडा सदस्य गुरुङले स्थलगत रूपमै मुचुल्का उठाएर ल्याएको कागजात देखाएपछि सही छाप त गर्ने परियो', वडा अध्यक्ष भट्टराईले थपे। वडा कार्यालयबाट गम्भीर त्रुटि भएको स्वीकार गर्दै उनले भने, ‘यसमा आफ्नो कुनै गल्ती छैन भन्दै पन्छिए।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.