|

काठमाडौं :  चार वर्षअघिको वैशाख १२ को मध्याह्न गएको भूकम्पले देशमा संकट ल्यायो। हजारौं नागरिको ज्यान गयो। पुरात्वातिकक, ऐतिहासिक सम्पदाका साथै निजी, सामुदायिक र सरकारी भवनहरु ध्वस्त भए। ती भौतिक संरचना भत्किँदा दश हजारको ज्यान गएको थियो। हजारौं घाइते भए। 

भूकम्पले आफ्नै घर भत्किँदा पुरिएर पनि बाँच्न सफलमध्ये एक हुन् भक्तपुरका सोनिस अवाल। रस्मिला उनकी आमा। उनी एक महिने छोरो सुताएर पसल गइन्। छोरी टिभी हेर्दै थिइन्। अचानक कम्पन सुरू भयो। भूकम्पले घर भत्किँदा सोनिस पुरिए। भाग्यवश उद्धारमा खटिएको नेपाली सेनाले उनलाई २२ घण्टापछि सकुशल उद्दार गर्‍यो। आज उनी चार वर्षको भएका छन्।

उनलाई भेट्न थाहाखबरकर्मी उनी पढ्ने भक्तपुरस्थित एभेरेस्ट इंग्लिस बोर्डिङ स्कुल पुगेको थियो। क्यामरा देख्दा उनले 'पोज' दिए। चञ्चले स्वभावका उनी  साथीसँग खाजा खादैँ थिएँ। शिक्षिका सुजिता लिम्बुले अवालमा चञ्चले स्वभाव रहेको बताइन्। केही कुरा देख्ने बित्तिक्कै उनी जिज्ञासा राख्छन्। प्ले ग्रुपबाट उक्त स्कुलमा पढाइ सुरू गरेका अवाल नर्सरी सकेर जिकेजीमा पुगेका छन्। २२ घण्टा भवनले पुरिएका व्यक्तिलाई पढाउन पाउँदा खुशी लाग्ने लिम्बु बताउँछिन्। भन्छिन्, 'भूकम्पमा धेरै मान्छेहरू घरबारविहीन भए। जनधनको क्षति पनि भयो। तर अवाल देख्दा त्यो दिनको याद आइहाल्छ।'

भूकम्पपछि पुनर्जीवन पाएका सोनिसबारे मिडियाले खोजिनीति गर्नु र त्यही व्यक्ति आफ्नै विद्यालयमा पढ्नु गर्वको कुरा भएको शिक्षिका लिम्बुले बताइन्। थाहाकर्मीले पनि सोनिसलाई खोज्दै जाँदा उनका साथै विद्यालयमा रहेका अन्य बालबालिका, शिक्षकशिक्षिकाले पहिलोपटक थाहा पाएको भूकम्पबारे केही जिज्ञासा राखिएको थियो। उनीहररुको अनुभवको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।

 

 

दीपशिखा उप्रेती : विद्यार्थी

मेरो पहिले घर बानेश्वरमा थियो। अहिले  भक्तपुरस्थित दुवाकोटमा छ। भूकम्प आएको दिन म घरमा टिभी हेर्दै थिएँ। अचानक घर हल्लियो। के भएको हो भन्ने मलाई थाहा भएन। मलाई बुबाले  बोकेर घरबाट बाहिर लिएर जानुभयो। घरमा त्यसबखत म, बुबाममी र आफन्तहरू थियौँ। मेरो एक महिनाको भाइ पनि थियो।  

योभन्दा पहिले मलाई भूकम्पबारे कुनै ज्ञान थिएन। उक्त दिन थाहा पाएँ। भुकम्पपछि आएको मान्छेहरूको मृत्युको खबरले म झन् डर लाग्यो। भूकम्पले जमिन हल्लाउँछ र भवन भत्काउँदो रहेछ भन्ने मलाई पहिलोचोटी अनुभव भयो।

केरूसा खतिवडा : विद्यार्थी

मेरो घर गठ्ठाघरमा पर्छ। भूकम्प आएको दिन म कोश्वरमा थिएँ। म आमा, फूपु, दिदिीसँग किनमेलका लागि गएकी थिएँ। स्कुलको नयाँ सत्रका लागि स्कुल ब्याग किन्दै थिएँ। भूकम्प आयो। भागदौड हुदाँ  मेरो टाउकोमा चोट लाग्यो। यो घटनापछि भूकम्प आउँदा आत्तिएर भाग्नुहुदैँन भन्ने ज्ञान भयो।

मैले टोलका घरहरू भत्किएको देखें। अघिल्लो दिन राम्रा देखिएका घरहरू भोलिपल्ट भत्किएको देख्दा नरमाइलो लागेको थियो । भूकम्पपछि मेरो परिवार टेन्ट टाँगेर सडकमा दिनरात बितायौं। टोलभरीका सबै जना एकै ठाउँमा देख्दा छक्क परेँ। मनमनै मलाई लाग्यो, ' हाम्रो टोलमा यति धेरै मान्छे पनि रहेछन्।'

लुजा शिल्पकार : विद्यार्थी

भक्तपुरको दूधपाटीस्थित घरमा म अंकल, दिदी, हजुरआमासँग बसेर घरमा टेलिभिजन हेर्दै थिएँ।मलाई भूकम्प भनेको थाहा थिएन। भूकम्पबारे पढेकी थिएँ तर अनुभव थिएन्।

टिभी हेर्दाहेर्दै बिजुली अफ भयो। हजुरआमाले भूकम्प आएको बताएपछि  म  खेतमा पुगें। भक्तपुर क्षेत्रमा धेरै जनधन क्षति ए पनि मेरो टोलमा क्षति भएन। यहाँका घरहरू पक्की थिए। प्राविधिक रुपमा राम्रा भएकाले यहाँका घरहरू भूकम्पले कुनै असर गरेन भन्ने लाग्छ। तर मैले त्योबेला परपरका घरहरू भत्किएर धुलो उडिरहेको देखेँ। त्यस्तो देख्दा आफैंले सास फेरेको पनि बिर्सिइँदो रहेछ।

मेरो छिमेकी बहिनीको भूकम्पमा परेर मृत्यु भयो। उनको याद आउँछ। हामी दुई दिन अन्य छिमेकीसँगै घर बाहिर सडकमा बस्यौं। भूकम्पबाट बच्न सबैभन्दा ठूलो कुरा आफ्ना नजिकका भवनहरू बलिया हुनुपर्ने रहेछ। प्रकोप र दुर्घटना जहाँ जतिखेर पनि हुन सक्छ। जसले गर्दा हरेक स्थानमा हिँड्दा कहीँ न कहीँ आफूलाई सुरक्षित राख्नु पर्दो रहेछ।

कुशुम पुलामी मगर : शिक्षिका

भूकम्पको अनुभव २०७२मा पहिलो चोटी गरेकी हुँ। त्यसभन्दा अघि छिटपुट रूपमा भूकम्पको धक्का महसुस गरे पनि शक्तिशाली भूकम्पको अनुभव यो नै पहिलो थियो।

भौतिक रूपमा संरचनाहरू भत्किनु एक ठाउँमा छँदैछ। त्योभन्दा मनोवैज्ञानिक रूपमा असर परिरह्यो मलाई। हरेक रातसुत्दा फेरि भूकम्पको आउने हो कि भन्ने लागिरह्यो। २९ गते पुन: भूकम्प गयो। यसपछि महिनौँसम्म  भूकम्पको पराकम्पन गइह्यो। त्यसबेला म एभेरेस्ट इग्लिस बोर्डिङ स्कुलकै छात्रावासमा थिएँ। भूकम्पमा परी मृत्यु हुनेको संख्या लगभग दश हजारको हाराहारीमा  पुगेको थियो। यस्तो बेला जीवनप्रतसको माया झन् बढी लाग्दो रहेछ। साधारण जीवनभन्दा कोही कसैको भूकम्पमा परी मृत्यु भएको भन्दा  शरीरमा डरको मात्रा बढ्दै जाने रहेछ । मलाई सडकमा सुत्ने आवश्यकता परेन। छात्रावासको ठूलो हलमा  टोलमा रहेका सबै जम्मा भएर रात बिताएको पनि चार वर्ष पुगेछ।

भक्तराज भण्डारी : प्रिन्सिपल

मैले २०४५ सालको भूकम्प भोगेको हुँ। त्यसबेला पनि जनधनको क्षति भएको थियो। २०७२ को भूकम्पले भने नराम्रो झट्का नै दियो। भूकम्पबाट बचेँ। यो खुशीको कुरा नै हो।

म क्षति भएका धेरै ठाउँमा उद्धारकर्ताको रूपमा खटिएँ। जीवनको कुनै टुंगो हुँदैन। काल बाजा बजाएर आउँदैन रहेछ भन्ने बोध भयो। जीवन शान्त, स्पष्ट हुनुपर्ने बोधलाई पुन: एकपटक टडठ्कारो भएर आएको महसुस भयो। भूकम्पको पराकम्पन लगातार आइरहँदा त्यसको धङघङी चाहि एक वर्षसम्म चलिरह्यो।

त्यस्ता कहाली लाग्दा दिन बारम्बार नकारात्मक रूपमा सोच्न हुदैँन भन्ने लाग्छ मलाई। भूकम्पको क्षतीबाट पाठ सिकेर अगाडी बढ्नुपर्छ। हरेक वर्षको वैशाख १२ गते स्कुलले  भूकम्प वा प्राकृतिक प्रकोपबाट कसरी बच्न सकिन्छ भन्ने अभियान विद्यालयले दिने गरेको छ। हामीले जुन कुरा भोग्यौ,त्यसको अनुभवलाई सिकाइको रूपमा लिनुपर्छ। अब हाम्रा कमिकमजोरीहरूलाई सुधार्दै जानुपर्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.