|

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बलिउडका अभिनेता अक्षय कुमारले अन्तरवार्ता लिएको भिडियो सार्वजनिक भएसँगै त्यसले तरंग ल्याएको छ। समाचार एजेन्सी एएनआइमार्फत देशका धेरैजसो समाचार च्यानलहरूमा ६७ मिनेटको उक्त अन्तरवार्ता प्रशारण गरिएको हो।

प्रधानमन्त्री निवासमा भएको अन्तरवार्तामा अक्षयले नरेन्द्र मोदीसँग उनको दिनचर्या, खानपानको बानी, मनपर्ने कुरा र बालापनका रमाइला कुराहरू सोधेका छन्। अक्षयले यसलाई गैर-राजनीतिक साक्षात्कार भनेका छन्। प्रधानमन्त्री मोदीले पनि लोकसभा निर्वाचनको माहोल चर्किएका बेला गैर-राजनीतिक साक्षात्कार गरी अन्तर्वार्ता दिन पाएकोमा खुशी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा यो अन्तरवार्ता ट्रेन्डिङमा रहेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरू प्रधानमन्त्री मोदीको व्यक्तित्वको प्रशंसा गरिरहेका छन् भने कडा टिप्पणी र आलोचना पनि भइरहेको छ। सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले निर्वाचनको समयमा एउटा गैर-राजनीतिक अन्तरवार्ताले पनि राजनीतिक प्रभाव पार्न सक्ने टिप्पणी गरिरहेका छन्।

वैशाली नाम गरेकी एक ट्वीटर प्रयोगतकर्ता लेख्छिन्-'यसप्रकार मोदी स्वयंलाई प्रचार गर्छन्, आफ्नो प्रचार गर्ने यो लाजमर्दो तरिका हो।'

अर्का प्रयोगकर्ता शशांक लेख्छन् 'यस इन्टरभ्यूभन्दा मोदी जीमाथि बनेको चलचित्र रिलिज गरिएको भए अझ राम्रो हुन्थ्यो।'

अक्षय कुमारले प्रधानमन्त्रीसँग 'तपाईं आँप काटेर खानुहुन्छ की गुदी, बोक्रासँगै? ज्वरो आउँदा तपाई के लिनुहुन्छ ?' जस्ता प्रश्न सोधेका छन्।

'तपाईंले कहिल्यै प्रधानमन्त्री बन्ने बारेमा सोच्नुभएको थियो?' भन्ने अक्षयको प्रश्नमा प्रधानमन्त्री मोदीको उत्तर यस्तो छ - 'कहिल्यै सोचेको थिइन। जसको पारिवारिक पृष्ठभूमि यस्तैखालेको छ उसको मनमा इच्छा जाग्नु सामान्य कुरा हो। तर जुन पृष्ठभूमिबाट आएँ, यदि मैले कतै सामान्य जागिर पनि पाउथेँ भने मेरो आमा छिमेकीहरूलाई लड्डु बाँड्हुन्थ्यो, यसैले मेरो दृष्टिदेखि सबै अप्राकृतिक रह्यो।'

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले अक्षयकी पत्नी ट्वींकल खन्नामाथि गरेको टिप्पणीको पनि निक्कै चर्चा भइरहेको छ। उनले भने – 'म सामाजिक सञ्जाल अवश्य हेर्छु, यसबाट मलाई बाहिर के भइरहेको छ भन्ने बारेमा जानकारी प्राप्त हुन्छ। म तपाईंको र ट्वींकल खन्नाजीको पनि ट्वीटर हेर्छु। जसरी उहाँ ममाथि रिस देखाउनुहुन्छ, यसबाट तपाईंको परिवारमा धेरै शान्ति हुन्छ होला भन्ने म सोच्छु।'

 

मोदीको यो भनाईमाथि अक्षयकी पत्नी ट्वींकल खन्नाले पनि प्रतिक्रिया दिएकी छिन् – 'म यसलाई सकारात्मक रुपमा हेर्छु, प्रधानमन्त्रीले मेरो वजूदको बारेमा मात्र जान्नुहुन्न, मैले लेखेको पनि पढुहुन्छ।'

 अक्षयले मोदीसँग 'यति ठूलो घरमा तपाईंलाई आफ्नो परिवार ल्याउन मन लाग्दैन? भनेर पनि सोधेका छन्। अनि मोदीले आफूले निक्कै कम उमेरमै सबै छोडिसकेको र आफ्नो जीवन डिट्याच भइसकेको जवाफ दिएका छन्।

उनले भने - 'एक पटक मैले आमालाई बोलाएको थिएँ तर आमाले तँ किन मेरो विषयमा चिन्ता लिन्छस्, भन्नुभयो, मैले पनि समय दिन पाइरहेको थिइनँ, रातिको १२ बजे आउँथे अनि आमालाई मैल के गरिराखेको होला? भन्ने लाग्दथ्यो।'

अक्षयले प्रधानमन्त्रीसँग विपक्षमा उनका कोही साथी छन् की छैनन भनेर पनि जान्न खोजे अनि मोदीले जवाफ दिए - 'धेरै साथी छन् र हामी बेलाबेला सँगै खानपिन पनि गछौं।'

उनले थपे – 'एउटा पुरानो कुरा छ, जब म मुख्य मन्त्री पनि थिइनँ, म र गुलाम नबी गफ गरिरहेका थियौँ, कसैले भन्यो की तपाईं कस्तो साथी हो ? तब गुलाम नबीले राम्रो भनेर जवाफ दिए।'

 मोदीले यो पनि भने - 'शायद तपाईलाई अचम्म लाग्ला र सायद यो कुराबाट मलाई निर्वाचनमा हानी पनि हुनसक्छ तर ममता दिदी अहिले पनि मलाई वर्षमा एक-दुई वटा कुर्ता दिनुहुन्छ।'

उनले अगाडि भने-'बंगलादेशको भ्रमणका क्रममा प्रधानमन्त्री शेख हसिनाजीसँग बंगाली मिठाईहरूको चर्चा भयो र उहाँ आज पनि मलाई ढाकाबाट मिठाई पठाउनुहुन्छ। यो कुरा ममदा दिदीले थाहा पाउनुभयो र उहाँ पनि कहिलेकाँही मेरो लागि मिठाई पठाउनुहुन्छ।'

आफ्नो काम गर्ने तरिकाका बारेमा प्रधानमन्त्री मोदीले भने - 'कडा अनुशासन थोपरेर अनुशासन आउँदैन, तपाईं झुट बोलेर लामो समयसम्म मानिसहरुलाई प्रभावित गर्न सक्नुहुन्न।'

मोदीले भनेका छन् - 'ह्यूमरको कुरा गर्दा बालापनमा उनी जस्तोसुकै अवस्थालाई सामान्य गर्न सक्थे। तर अहिले हरेक कुराको छुट्टै अर्थ लगाइन्छ, सामाजिक सञ्जालबाहेक यस्तो टिआरपीवालाहरू धेरै गर्छन्। त्यसैले डर लाग्छ। '

उनले भने – 'मेरो क्याबिनेट मिटिङमा मैले मैत्रीपूर्ण माहोल बनाएको छु, उनीहरूलाई म चुटकिला सुनाइरहन्छु।'

प्रधानमन्त्री मोदीले अक्षय कुमारलाई पनि एउटा चुटकिला सुनाउन भ्याए। चुटकिला यस्तो थियो 'एकपटक हाम्रोमा ट्रेन आयो, माथि एक यात्रु सुतिरहेका थिए। कुन स्टेशन हो? भनेर उसले सोध्यो। कसैले भन्यो, चार आना दिने भए भन्छु। अनि उसले भन्यो, मलाई जवाफको आवश्यकता छैन, अहमदाबाट स्टेशन नै होला।'

प्रधानमन्त्री मोदीले आफू साढे तीन चार घण्टा सुत्ने कुरा सही भएको बताए। उनले भने – 'मेरा जति पनि साथी छन् उनीहरू सबै यसैलाई लिएर प्रश्न गर्छन्। बाराक ओबामा पनि यसैमा उल्झिएका थिए की, किन म यस्तो गर्छु। हामी राम्रो साथी हौँ। ओबामा मसँग तँतँ मम मा कुरा गर्छन्। उनी भन्छन् की तँ किन यस्तो गर्छस्। म आँखा मिच्दिन, शरीर तन्काउदिन, उठ्नेबित्तिकै मेरो पाउ जमिनमा पर्छ।'

सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले यसमा पनि टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा 'ओबामाले अंग्रेजीमा तँ कसरी भन्छन् होला?' भनेर प्रश्न गरिएको छ।

अक्षय कुमारले हिजो आफ्नो ट्वीटर ह्यान्डलमा यस अन्तरवार्ताको दुई अंश राखेर यसको सूचना दिएका थिए। उक्त भिडियोसँगै अक्षयले लेखेका छन् – 'के तपाईंले कहिल्यै सोच्नुभएको छ? कि प्रधानमन्त्री मोदी चुनाव प्रचारको सरगर्मीमा हाँस्ने समय कसरी निकाल्छन् होला, तपाईंले यसको जवाफ एएनआईमा पाउनुहुन्छ।'

दोस्रो भिडीयो क्लिपसँगै अक्षयले 'जब पुरा देश चुनाव र राजनीतिको बारेमा कुरा गरिरहेको बेलामा प्रधानमन्त्रीको बारेमा त्यस्ता कुरा सुन्नुस् जुन कमै मानिसहरू जान्दछन्' भनेर लेखेका छन्। बिबिसी हिन्दी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.