|

सिन्धुली : भूकम्प गएको चार वर्ष पूरा हुँदा समेत सिन्धुलीमा ३७.६० प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ। 

भूकम्पले जिल्लामा ४७ हजारभन्दा बढी निजी आवास, ४४८ वटा विद्यालय भवन र ५४२ वटा सरकारी तथा सामुदायिक भवनहरुमा क्षति पुगेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको सर्भेक्षणबाट ३४ हजार १९१ जना लाभग्राहीको नाम तीन लाख रुपैयाँ अनुदान पाउने गरी प्रकाशन गरेको थियो। १४ हजार निजी आवासको मर्मतका लागि एक लाख रुपैयाँ अनुदान दिने घोषणा भएको थियो।

जिल्लामा रहेका ५७७ विद्यालय भवनमध्ये ४४८ मा भूकम्पले क्षति पुर्‍याएको थियो। जसमा १२९ वटा विद्यालय पुनः प्रयोग गर्ने अवस्था थिएन। भूकम्पले शिक्षा क्षेत्रमा कम्तीमा एक अर्ब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो। भूकम्प गएको चार वर्ष बितिसक्दा तीन दर्जन विद्यालयको भवन मात्र निर्माण भएको छ।

सरकारी तथा सामुदायिक भवनको पनि अवस्था उस्तै छ। क्षति पुगेका ५४२ वटा भवनमध्ये पाँच वटा सरकारी भवनबाहेक अरु पुनर्निर्माण हुन सकेको छैन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय इकाई सिन्धुलीका प्रमुख कर्णका अनुसार सिंचाइ डिभिजन, प्रमुख जिल्ला अधिकारीको आवास, भू–संरक्षण कार्यालय, हुलाक कार्यालय र एकीकृत विकास भवनबाहेक अन्य भवनको निर्माण भएका छैन। 

एक दर्जन सरकारी कार्यालयको पुनर्निर्माणका लागि टेण्डरमार्फत काम थालिएको भए पनि ठेकेदारको लापरबाहीका कारण अधुरै छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.