|

काठमाडौं :  भूकम्पका कारण क्षति भएका सम्पदामध्ये हालसम्म २२३  सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ भने अझै धेरै सम्पदा निर्माणका क्रममा रहेका छन् । गोरखा भूकम्पले भत्किएका सम्पदामध्ये पुरातत्व विभागमार्फत १६१, पशुपति क्षेत्र विकास कोषमार्फत २० र अन्य सङ्घसंस्थामार्फत ४२ गरी हालसम्ममा २२३ सम्पदाको पुनःनिर्माण सकिएको हो। त्यसैगरी पुरातत्व विभागमार्फत चालू आर्थिक वर्षमा २०५ सम्पदाको पुनःनिर्माण भइरहेको छ। भूकम्पले भत्किएका सम्पदामध्ये पशुपति विकास कोषमार्फत आठ, काठमाडौँ उपत्यका संरक्षण कोषमार्फत तीन, स्वीस सरकारको सहयोगमा दुई, श्रीलङ्काली सरकारको सहयोगमा दुई तथा चीन सरकारको सहयोगमा एक गरी २२१ सम्पदाको पुनःनिर्माण चालू अवस्थामा रहेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।

केही सम्पदाको विवादका कारण पनि पुनःनिर्माण ढिला भएको बताइएको छ। प्रवक्ता कुँवरका अनुसार आवासीय भवन निर्माण गर्ने कार्यजस्तो पुरातत्व सम्पदा निर्माण गर्ने कार्य सजिलो नभएकाले काममा केही ढिलाइ भएको हो। ‘पुराना सम्पदाका पुनःनिर्माण गर्दा पुनानै शैलीमा गर्नुपर्ने भएकाले पुरानै स्वरुपको कलाकृति अङ्कित गर्न कालीगढकै अभाव छ’, कुँवरले भने। भूकम्पका कारण क्षति पुगेका सम्पूर्ण सम्पदा पुनःनिर्माणका लागि रु १० अर्ब रकम लाग्ने बताउँदै कुँवरले हालसम्म करीब  एक अर्ब ८० करोड रकम खर्च भइसकेको पनि जानकारी गराए। उपत्यकाको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये हनुमानढोका दरबार परिसरका २९ सम्पदा क्षतिग्रस्त भएकामा १४ को पुनःनिर्माण सम्पन्न भइसकेको छ।

यस्तै स्वयम्भू क्षेत्रका १८ सम्पदामा भूकम्पले क्षति पुगेकामा १५ को पुनःनिर्माण भइसकेको छ।  यस्तै भूकम्पले क्षतिग्रस्त बौद्धनाथको एक क्षति भएकामा त्यसको पनि पुनःनिर्माणको कार्य भइरहेको विभागले जानकारी दिएको छ। त्यस्तै पाटन दरबार क्षेत्रका ३० सम्पदामा क्षति पुगेकामा १२ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको विभागले जनाएको छ। भक्तपुर दरबार क्षेत्रका २१ सम्पदामा क्षति पुगेकामा नौको पुनःनिर्माण भइसकेको विभागले जनाएको छ। चाँगुनारायण क्षेत्रमा आठ सम्पदामा क्षति पुगेकामा पाँचको पुनःनिर्माण सम्पन्न भएको विभागले जनाएको छ। यस्तै, पशुपति क्षेत्रको ६६ सम्पदा क्षतिग्रस्त भएकामा १९ सम्पदाको पुनःनिर्माण सकिएको विभागले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.