समाज

‘निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्छौं’
SHARES

फाइल फोटो
बैशाख १२, २०७६

    काठमाडौं : विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ। बिहीबार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनः निर्माणको कार्य प्रगति तथा धरहरा सम्बत २००५ को बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुव गजुरेलले धरहरा पुनः निर्माणको लागि भएका प्रयासको बारेमा प्रकाश पारेका छन्। 

    आफूले साहित्य लेखनको माध्ययमबाट धरहरा निर्माणको लागि  करोडौं रकम संकलन गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको माध्ययमबाट सरकारलाई बुझाई सकेको पनि उनले जानकारी गराए। संसरमा ९ रेक्टर स्केलभन्दा माथिका धेरै पराकम्पबाट नागरिकले ठूलो जनधनको क्षति व्याेहोरी सकेको जानकारी गराउँदै उनले नेपालले पनि ७ रेक्टर स्केलका पराकम्पले ठूलै क्षति गराए पनि इतिहासले आफूहरूलाई पाठ पनि सिकाएको उनको भनाइ छ। 

    निर्माणाधीन धरहरा भूकम्प प्रतिरोधात्मक र सुरक्षित बन्नु पर्ने भन्दै उनले प्रकाशनमा ल्याएका पुस्तक ‘इतिहासमा २०७२’ र ‘ऋतु’ बाट संकलन भएको सम्पूर्ण रकम पनि धरहरा निर्माणमा लगाइने विश्वास दिलाए। धरहरा निर्माणकै लागि आफूहरूले ‘हनुमानको नेपाल यात्रा’ र धरहरा बनाउने देउसी कार्यक्रमको भिडियोबाट पनि केही रकम संकलन गरेको उनको भनाई थियो।

    २०७२ सालमा देशले थुप्रै संघर्ष गरेका कारणपनि त्यस वर्षदेखि धरहरा सम्बतको सुरुवात भएको उनले जनाए । संविधान जारी हुँदा भोगेको संकट, भारतीय अघोषित नाकाबन्दी, तराई आन्दोलन र महाभूकम्पको पीडाले धरहरा सम्बतको शुरुवात भएको उनको भनाई थियो। त्यस्तै, कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले विनास नै विकासको जननी भएका कारण अब बन्ने धरहरा नमुनाकै रुपमा निर्माण गरिनुपर्ने धारणा राखेका छन।

    देशमा निर्माणाधीन आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती देखिँदै आएपनि धरहरा निर्माणको लक्ष्य सरकारले समयमै सक्नुपर्ने उनको धारणा छ। विनासले ल्याएको विकासमा आफूहरू सबैले सहयोग गर्नुपर्ने उनको धारणा थियो। उनले भने,‘इच्छाशक्ति भए ध्रबजीलेजस्तै करोडौ रकम उठाउन सफल हुन सकिने छ।’
    साहित्य र लगनशीलताबाट करोडाैं रकम सहयोग उठाउनु कुनै चान चुने कुरा नभएको उनले स्पष्ट पारे। चीनले १९ दिनमा ६४ तले भवन निर्माण सम्पन्न गरेर

    देखाएको सन्दर्भ निकाल्दै आफूहरूले पनि चीनको विकासबाट पाठ सिक्न आवश्यक रहेको सांसद मानन्धरको भनाई छ। सरकारले ठेकेदारलाई जिम्मेवारी दिइसकेकोे कारण पनि अब पुनः निर्माण कार्य समयमै सम्पन्न हुनुपर्ने उनले बताए। त्यस्तै कार्यक्रममा बोल्दै डा. नारायणहरि गजुरेलले २०७२ सालको विनासकारी भूकम्पको समयमा नेपाली पीडामा रहेको बेला ध्रुब गजुरेलले शोकलाई शक्तिमा बदल्ने प्रणस्वरुप धरहरा निर्माणको अभियानमा लाग्नुले आज धरहरा निर्माण कार्य अघि बढेको स्पष्ट पारे। 

    नयाँ सम्बतको घोषणा र साहित्यको माध्ययमबाट धरहरा सम्बतलाई निरन्तरता दिई राख्न आवश्यक रहेको पनि उनले जानकारी गराए। साहस बोकेर सम्पदाको निर्माणमा लागेको भन्दै उनले आज सार्वजनिक गरिएको ‘धरहरा सम्बत भित्ते पात्रो’ ले ०७२ सालमा घटेका घट्नाहरुको बारेमा जानकारी दिन खोजेको स्पष्ट पारे। 
    त्यस्तै कार्यक्रममा बोल्दै धरहरा निर्माण कार्यमा लागेका रमन कन्ट्रक्सनका प्रोप्राइटर रमन महतोले निर्माणाधीन धरहराको कार्य प्रगति र आगामी ओजनाको बारेमा जानकारी गराएका छन। 

    आफू सरकारको ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियानमा लागेको बताउँदै उनले सरकारसँगको आधिकारिक सम्झौतापश्चात् धरहरा निर्माण कार्यको प्रगति रहेको विश्वास दिलाए। प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँगको छलफल सम्पन्न भइसकेको र वरिपरिको सडकको बारेमा पनि छलफलकै माध्यमबाट समस्याको सामाधान निस्किसकेको उनले सुनाए। महतोले आगामी दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने आफूहरूको लक्ष्य रहेको र निर्धारित मितिमै लक्ष्य पूरा हुने विश्वास दिलाए।

    करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको योजनाअनुरुप अबको दुई तीन महिनाभित्र हाल रहँदै आएको गौशारा हुलाकको कार्यालय पनि स्थानान्तरण भइसक्ने भएका कारण आफूहरूलाई थप मार्गप्रशस्त हुने उनको भनाई छ। प्रस्तावित २२ तले भवनको फाउन्डेसनको कार्य सम्पन्न भइसकेको पनि उनले जानकारी गराए। अबको धरहरा जनसंख्याको बृद्धिलाई मध्येनजर गरेर निर्माण गरिने भएका कारण पनि यसमा अत्याधुनिक सुविधामा जोड दिइने उनको भनाई छ।

    कुल तीन अर्ब ४५ करोडको लागतमा निर्माण हुने आयोजनालाई अबको दुई वर्षमा सम्पन्न गरिसक्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी गराए। करिव दुई हजार वर्षसम्म टिक्न सक्ने उक्त टावरले ९ रेक्टर सम्मको भुकम्पको कम्पन सहन सक्ने उनको दाबी रहेको छ। त्यस्तै कार्यक्रममा बोल्दै कालिकाशरण माबिका प्राध्यानाध्यापक गोपालप्रसाद गजुरेलले कृतिको माध्ययमले नेपालका सम्पदाको पुनः सिर्जनामा सबैको सहयोग पाएकोमा आफुलाई खुशी लागेको धारणा राखे।

    देशले दुःख र पीडा बोकिरहेको समयमा यस्तो सोच र साहसको कदर सबै नेपालीमा रहे विकासको कार्यमा नयाँ आयाम थपिने उनको भनाई छ। नेपालको इतिहास बोकेको धरहरा सबैको साझा सम्पत्ति रहेको बताउँदै उनले पहिला ९ तले बन्ने भनेको धरहरा अहिले आएर २२ तले बनाउने अभियानमा पनि आफूहरूको ठुलो प्रयास रहेको उनको भनाई छ। 

    धरहरा सम्बतको अवसरमा निकालिएको क्यालेन्डरलाई सबै नेपालीसमक्ष पुर्‍याइ सम्बतको बारेमा जानकारी गराउन पनि आवश्यक रहेको उनको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]