तनहुँ : तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र (टेण्डर) आव्हान गरेको छ।
पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द भएपछि तनहुँ हाइड्रोपावरले बिहीबार पुनः अन्तर्राष्ट्रियस्तरकाे टेण्डर आव्हान गरेको हो। बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएको आयोजनाका सञ्चार संयाेजक सचेन गौतामले जानकारी दिए। उनले भने ‘निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रीट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नु पर्नेछ।’
पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (इआइबी) को सहुलियतपूर्ण ऋण परिचालन हुने छ। टेण्डर प्रक्रियामा सहभागी हुन चाहने कम्पनीहरूले दातृ निकाय एडीबीको खरिद निर्देशिका अनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नुपर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए।
प्रवन्ध–सञ्चालक थिकेले भने, ‘पहिले प्राविधिक प्रस्ताव मूल्यांकन गरी सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिने छ। कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजना स्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य छ।’ समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ।
हाइड्रोले खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजना स्थलमा आएर काम सुरु गर्न दिइएको आदेश नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले सीएमसीसँगको ठेक्का तोडेको थियो। आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्ने चिनिया कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजन स्थलमा काम सुरु गरिसकेको छ।
सिनो हाइड्रोले अहिले आयोजना स्थलमा कार्यालय भवन, श्रमिक आवास गृह लगायतका संरचना निर्माण,आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको छ। आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको हाइड्रोले जनाएको छ।
कम्पनी आयोजना स्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ। आयोजनाको प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत गरी कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ। जसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ। यसको लागि सम्बन्धित दातृ निकायहरू र नेपाल सरकारबीच ऋण सम्झौताहरू तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरू सम्पन्न भइसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।