|

काठमाडौं : अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरले अबदेखि हरेक साल अप्रिल महिनाको तेश्रो साता नेप्लिज अमेरिकन हेरिटेज डे मनाउने भएको  छ। सन् २०१८ को चुनावमा नेपाली मूलका युवा प्रदीप ढकाल हर्नडन शहरको परिषद सदस्यमा निर्वाचित भएपछि उनको पहलमा हालै यस शहरले नेप्लिज अमेरिकन हेरिटेज डे मनाउने निर्णय भएको हो।

नेप्लिज अमेरिकन हेरिटेज डेको मान्यता पाएको खुशीयालीमा यहाँको आदर्श नेपाली समाज एवं एनआरएनए भर्जिनिया शाखाले हर्नडनमा असंख्य नेपाली र अमेरिकनहरूका बीच एक खुशीयाली कार्यक्रमको आयोजना गरेका छन्। बाक्लो जनसंख्या रहेको उत्तर भर्जिनियाको हर्नडन शहरमा मनाइएको हेरिटेज डे कार्यक्रम यस क्षेत्रमा नेपाल चिनाउन सफल भएको विश्वास लिइएको छ। भर्जिनिया राज्यमा यसरी सरकारी स्तरमा नेप्लिज अमेरिकन हेरिटेज डेको घोषणा भएको यो पहिलो पटक हो।

समारोहमा नेपालका लागि पूर्वराजदूत स्कट डेलेसी तथा वरिष्ठ लोक गायक प्रेम राजा महतलाई उनहरूले नेपाल चिनाउन आ-आफ्नो स्थानबाट पुर्‍याएको योगदानको कदर गर्दै आयोजकहरूबाट सम्मान गरिएको छ। गत अप्रिल २० तारिखका दिन सम्पन्न नेप्लिज अमेरिकन हेरिटेज डे हर्नडन शहरको हर्नडन निम्न माध्यमिक विद्यालयमा गरिएको थियो।

कार्यक्रममा नेपाल झल्काउने विविध झॉकी, लाखे नाच, भेषभूषाको प्रदर्शनी तथा सॉस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो। आदर्श नेपाली समाजद्वारा संचालित नेपाली स्कुलका बालबालिकाले दुवै देशका राष्ट्रिय गान गर्नुका साथै नेपाली पहिरनका साथ सभा स्थलमा मार्च पनि गरेका थिए।

नेपाल डे तथा नयाँ वर्षको कार्यक्रममा सहभागी हुन भर्जिनियाका डेलिगेट इब्राहिम शमिराह, फेयरफ्याक्स काउनटीका सुपरभाइजर, हर्नडनका नगर उपप्रमुख, काउन्सिल सदस्यहरू, हर्नडनका नगरका वर्तमान र पूर्व पदाधिकारीहरु, अमेरिकन मूलधारको राजनीतिमा प्रवेश गरी मेरिल्याण्ड राज्यको डेलिगेट निर्वाचित भएका  ह्यारी भण्डारी, भर्जिनियाकै हे मार्केट शहरमा गत वर्ष नगर परिषद सदस्य निर्वाचित मधु पन्थी, नेपाली समुदायका विभिन्न संघरसंस्थाका प्रतिनिधि तथा स्थानीय जन समुदायको बाक्लो उपस्थिति थियो।

हेरिटेज डेसँगै नेपाली नयॉ वर्ष २०७६ को कार्यक्रम पनि भव्यताको साथ स्थानीय समुदायको सहभागितामा मनाइएको थियो। आदर्श नेपाली समाजका बालबालिकाहरूले प्रस्तुत गरेका राष्ट्रियगाना, नाचगानलाई अतिथि र समुदायले अभिरूचिपूर्वक रुपमा हेरेका थिए।

सो अवसरमा  हर्नडन शहरबाट हालै भएको नेप्लिज अमेरिकन हेरिटेज डेको घोषणा पत्रलाई उक्त शहरको काउन्सील सदस्यमा जननिर्वाचित नेपाली मूलका  युवा प्रदीप ढकालले पढेर सुनाएका थिए। साथै नगरबाट प्राप्त घोषणापत्र आदर्श नेपाली समाजका अध्यक्ष अर्जुन सिग्देल एवं एनआरएनए भर्जिनिया शाखाका सभापति गोविन्द सुबेदीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.