|

ओखलढुंगा : ओखलढुंगामा पुनर्निर्माणपछिका निजी आवासहरू प्रयोगबिहीन भएको भन्दै सरोकारवलाहरूले चिन्ता ब्यक्त गरेका छन्। गोरखा भूकम्प २०७२ को स्मृतिमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन्।

भूकम्पपछिका ४ वर्षमा ओखलढुंगा निजी आवासको निर्माण कार्य सम्पन्न हुने चरणमा भए पनि दुरदराजमा निर्माण सम्पन्न भएका घर प्रयोग नै नगरिँदा समस्या भएको राष्ट्रिय पुनर्निर्माण प्रधिकरण जिल्ला आयोजना ईकाई ओखलढुंगाका प्रमुख युवराज खरेलले बताए। उनले भने 'निर्माण सम्पन्न घरहरू भूकम्पका घर भनि बाख्रा वस्तु बाँध्ने र घाँस राख्ने गरिएको छ।'

लाभग्राहीहरू भूकम्पले क्षतक्षित बनेका पुराना घरहरूमा बसेर अनुदानबाट निर्माण भएका घरहरूमा नबस्ने गरिएको हुँदा भूकम्पीय जोखिममा रहेको हाम्रो जस्तो देशमा भोलि आई पर्ने प्रकृतिक प्रकोपमा फेरि ठूलो मानवीय क्षति व्यहोर्नु नपर्ला भन्न नसकिने उनको भनाई छ।

भूकम्पपछिको ३ वर्ष बित्दा ओलढुंगाले गरेको प्रगति स्वागतयोग्य भए पनि भूकम्पपछि निर्माण गरिएका भवनहरू प्रयोगमा नआउँदा र भूकम्पपछिको पुनर्निर्माणले साँस्कृतिक विविधतालाई मारेको नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमनार सुनुवारले बताए। सुनुवारले ओखलढुंगा क्षेत्री, ब्राम्ह्ण, नेवार, राईकिराँती, शेर्पा, तामाङ र दलित समुदाय बसोवास गर्ने थलो भए पनि भूकम्पअघि कुन घर कुन समुदायको मान्छेको प्रष्ट हुन्थ्यो तर अहिले यो छुट्याउन समस्या भएको बताउँदै सांस्कृतिक विविधतालाई कसरी जोगाउने भन्ने विषयमा चिन्ता व्यक्त गरे।

भूकम्प ०७२ को स्मृतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई ओलढुंगाले सार्वजानिक गरेको तथ्यांकअनुसार जिल्लामा २१ हजार ३ सय ३८ लाभग्राही रहेकोमा हालसम्म २० हजार ३ सय ७६ ले पहिलो किस्ता, १८ हजार ४ सय ७२ ले दोश्रो किस्ता, १६ हजार ५ सय १२ ले तेश्रो किस्ता अनुदान लिई सकेका छन्।

ओखलढुंगामा १२ हजार ९ सय ९० गुनासो आएको भए पनि ७ हजार ४ सय ५८ गुनासोको पुनःसर्वेक्षण गरी सुनुवाई भएको र ५ हजार ४ सय ६२ गुनासोको सर्वेक्षण गर्न बाँकी रहेको बताईएको छ ।

 जिल्लामा ७३ समुदायिक भवन, ८० सरकारी भवन, ३७ मठ मन्दिर ६४ खानेपानी आयोजना ध्वस्त भएका थिए। ध्वस्त भएका सामुदायिक, सरकारी भवन र मठमन्दिरमा ५ सरकारी भवन र केही मठमन्दिर निर्माणाधीन रहेका छन् भने ६ वटा खानेपानी योजना को काम धमाधम भइरहेको छ। त्यस्तै २ सय ६० विद्यालय क्षति भएका र हालसम्म ७२ विद्यालय निर्माण सम्पन्न भएको र १ सय विद्यालय निर्माणधिन भएको बताइएको छ।

सामूहिक आवास प्रयोगविहीन

ओखलढुंगाको चम्पादेवी गाउँपालिका-९, खानीगाउँका भुकम्पपीडितलाई स्थानान्तरण गर्नका लागि निर्माण गरिएको सामूहिक आवास प्रयोगविहीन भएको छ। कृषिमा आधारित भूकम्पपीडित समुदाय सामूहिक आवासमा नबसेपछि सामूहिक आवास प्रयोगविहीन भएको हो।

भूकम्पका कारण स्थानीय डिकुरे डाँडा चर्किएर पहिरो झर्ने खतरा बढेपछि तत्कालीन समयमा खानीगाउँका ३२ घर परिवारका लागि नेपाली सेनाले सोही वडाको दलीडाँडामा २०७२ सालको असारमा सामूहिक आवास तयार गरेको थियो। भूकम्पपीडितहरूले जोखिम गाउँमै भत्किएका घरहरू पुनर्निर्माण र मर्मत गरेर बसोबास गर्न थालेपछि सामूहिक आवास प्रयोगविहीन भएको हो।

कृषि पेशामा निर्भर यहाँका स्थानीय बासिन्दा खेतीपाती, वस्तुभाउ र दैनिक गुजारा गर्नका लागि गाउँ धाउनु पर्ने बाध्यताले सामूहिक आवास छोड्नु परेको स्थानीय नैनबहादुर मगरको भनाई छ।

अस्थायी बसोबासका लागि निर्माण गरिएको सामुहिक आवास तीन वर्ष अगाडिदेखि नै खाली रहेको छ। खानीगाउँको वस्तीमाथिको डिकुरे डाँडा भूकम्पले चर्किएका कारण हरेक वर्षायाममा जोखिम छ। सरकारले यहाँका २३ घर परिवारलाई स्थानान्तरणका लागि हालै प्रतिपरिवार २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराए पनि घर निर्माणका लागि पनि पीडितहरू सहयोगको प्रतीक्षामा रहेको चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीले बताए।

यता पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाइ कार्यालयले भने सो क्षेत्रका बासिन्दालाई एकीकृत वस्ती विकास गर्ने योजनाका साथ प्राधिकरणमा प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.